लमजुङ — लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति पुगेको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।
स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आए पनि सबै विवरण आइनसकेको बताए । ‘भागाभाग मच्चिँदा केही सामान्य घाइते भएका छन्,’ उनले भने, ‘केहीका गोठ, धन्सार तथा कुखुराका खोरहरू भत्किएका छन् ।’
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भूकम्पमा घर क्षति भएका केही स्थानीय र घाइतेहरूलाई आफूले भेटेको बताए । केही घरमा क्षति पुगेको र केही घाइते भएको जानकारी रहे पनि सबै विवरण आइनसकेको उनको भनाइ छ ।
३ घण्टाभित्र ३ भूकम्प, ‘जाने क्रम जारी छ, सजग रहनू’
राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छ। केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका २ पल्ट र ४ म्याग्निच्युडको भूकम्प एकपल्ट गइसकेका छन्।
तीन पटककै भूकम्प लमजुङको भुलभुले भन्ने स्थानकै आपसाप भएर गएको उनले जानकारी दिए। उनका अनुसार सुरुमा ५ बजेर ४२ मिनेटमा ५.८, त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्।
‘४ म्याग्निच्युडभन्दा मुनिका परकम्प अहिले पनि गइरहेका छन्, केही समय जाने क्रम जारी रहन सक्छ,’ उनले भने, ‘त्यसैले त्यस आसपासका बासिन्दाले सजगता अपनाउन जरुरी छ।’
४ म्याग्निच्युडभन्दा माथिको भूकम्प जाने सम्भावना छ कि छैन भन्ने प्रश्नमा भूकम्पविद् अधिकारीले भने, ‘हेर्नुस्, भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बेनको छैन, गइसकेपछि मापन गर्ने मात्र हो, त्यसैले ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने कुरा होइन।’
त्यसैले भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी हुने उनले बताए। उनका अनुसार अहिलेका धक्का २०७२ सालकै महाभूकम्पका परकम्प हुन्। आज लमजुङमा गएको मात्राको परकम्प यसअघि पनि गइसकको उनले बताए।

