अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अरब सागरमा विकसित ताउ-ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको हो।
जसका कारण भारतका कर्नाटक, गोवा, केरल र महाराष्ट्र राज्यमा गरी १८ जनाको मृत्यु भएको छ भने गुजरातबाट डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चक्रवात प्रभावित भारतका मुम्बईलगायत विभिन्न स्थानमा सयौं रूख ढलेका छन्। विभिन्न सहर जलमग्न भएका छन्। अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ।
नेपालमा पनि प्रभाव
भारतमा विध्वंस मच्चाइरहेको ताउ-ते चक्रवातको प्रभाव नेपालमा पनि परेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणालीसहित ताउते चक्रवातको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ।
साथै आज दिउँसो तथा राति पहाडी भेग तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना उच्च हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यमसम्म हिमपात र वर्षा हुने सम्भावना छ।
यस्तै बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात जारी रहने महाशाखाले जनाएको छ। यस दिनसम्म मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि बिहीबार भने कतिपय स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबारसम्म यस्तो छ वर्षा/हिमपातको सम्भावना :
जेठ ४ गने मंगलबार (आज)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।
जेठ ५ गने बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।
जेठ ६ गने बिहीबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशका १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना छ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशका १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना छ।

