काठमाडौं, पार्टीको औपचारिक बैठकमा कुनै पनि धारणा नराख्ने नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला विपक्षी गठवन्धनको सत्ता समीकरण नमिलेपछि एकाएक महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुनु पर्थ्यो भन्न थालेका छन् ।
विपक्षी गठवन्धनको सत्ता समीकरण बन्न नसकेपछि आएको शेखर कोइरालाको यस्तो धारणालाई कतिपयले भारतीय पक्षको दवावमा बोलि फेरिएको भनेर पनि टिप्पणी गर्न थालेका छन् ।
जनता सामाजवादी पार्टी नेपाल (जसपा)भित्र महन्थ र राजेन्द्र महतोले कुरा फेरेजस्तै कांग्रेसका शेखर कोइरालाको बोलि फेरिन थालेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्दा त्यो गलत भएको प्रतिक्रिया दिएका शेखर कोइराला अहिले फेरि भारतीय पक्षलाई खुशी पार्न महन्थको पक्षमा खुलेर बोल्न थालेका छन् ।
कांग्रेस विधि र विधानले चल्ने पार्टी हो । सत्ता गठवन्धनका विषयमा पनि पार्टीभित्र लोकतान्त्रिक तवरबाट छलफल गरेर गठवन्धनको कसरत अघि बढेको हो । तर पार्टीको निर्णय हुँदा कुनै धारणा नराख्ने शेखर एकाएक किन महन्थको शरणमा पुगे ? प्रश्न उठेको छ ।
महन्थको साठगाँठले दक्षिणको दवाव भन्ने टिप्पणी भैरहेका बेला शेखरले पनि आफ्नो राष्ट्रिय स्वार्थ विपरीत दक्षिणको पक्षमा धारणा राख्न थालेका छन् ।
पञ्चायती शासनका बेला लामो समय भारत निर्वासनमा बसेका वीपी कोइरालाले पनि भारतीय स्वार्थले हाम्रो राष्ट्रिय स्वार्थ कमजोर हुन्छ भन्ने ठहर गर्दै लामो निर्वासन जीवन त्यागेर राष्टिर्य एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फिर्ता भएका थिए । उनको बुझाई विदेशको साहारा लिदा उनीहरूको स्वार्थ हुन्छ भन्ने थियो ।
तर शेखरले पछिल्लो समय भारतीय पक्षको स्वार्थमा एकपछि अर्को धारणा सार्वजनिक गर्दै आएका छन् ।
केपी ओली र महत्थको मिलन भारतको स्वार्थमा भएको भन्ने छताछुल्ल भैरहेका बेला शेखर पनि त्यही खेमाको पक्षमा देखिनु निकै लज्जास्पद भएको कांग्रेसभित्र टिप्पणी हुन थालेको छ ।
पछिल्लो समय नेपाली राजनीतिमा भारतीय स्वार्थ समुहको पक्षमा महन्थको खुला प्रवेश र शेखर र बाबुराम भट्टराईको पनि त्यही लाईनमा धारणाहरू आउन थालेका छन् ।
भारतीय पक्षलाई वल पुग्नेगरी जसपाका नेता बाबुराम भट्टराईले राजनीतिक तिकडमहरू गरेको खुल्न थालेका छन् । ओलीविरुद्धको सत्ता समीकरणमा देखिएको भट्टराईले त्यहीबेला गोप्यरुपमा बालुवाटार पुगेर ओलीलाई पटक पटक भेट गरेको खुलासा भएको छ ।
उक्त भेटमा उनले सके आफू प्रधानमन्त्री हुने नभए राष्ट्रवादी नेतालाई प्रधानमन्त्री हुन नदिने गरि धारणा राखेको सार्वजनिक हुन थालेको छ ।
शेखर र भट्टराई दुवैको संकेत महन्थतिर देखिएको छ । यो प्रवृत्तिले पार्टीभित्र भारतीयको स्वार्थमा सुविधा लिएर काम गर्ने व्यत्तिहरू पार्टीमा हावी हुन थालेको देखिएको छ ।
शेखरले महन्थलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर राखेको धारणा, भट्टराईको सके आफू नभए महन्थनै भन्ने संकेत र महन्थको राजनीतिक र वैचारिक रुपमा कुनै समरुपता नभएको ओलीलाई सहयोग गर्ने कदमले पार्टीभित्र सच्चा नेता तथा कार्यकर्ता किनारामा लाग्ने र भारतको स्वार्थमा काम गर्नेहरू सलवलाउन थालेको देखिएको छ ।
पछिल्लो समय महन्थको पक्षमा आएको शेखरको धारणा पनि त्यही भारतीय पक्षलाई खुशी पार्ने योजना अन्र्तगतनै सार्वजनिक भएको कुटनीतिक मामलाका जानकारहरू बताउँछन् । दैनिक नेपालबाट

