बिहिबार, चैत्र ५, २०७७
इटहरीमा इजरायली कालाकारले ढुङ्गालाई कुँदेर बनाइएको ‘मुटु’ !

इटहरीमा इजरायली कालाकारले ढुङ्गालाई कुँदेर बनाइएको ‘मुटु’ !

'ताल तलैया' प्रदेशकै नमुना पर्यटकीय गन्तव्य !


  • स्वदेश नेपाल
  • बिहिबार, चैत्र ५, २०७७

ताल तलैया क्षेत्र इटहरी उपमहानगरको २ र ३ वडामा फैलिएको छ । करीब २० हेक्टरमा फैलिएको ताल तलैयामा ७ वटा तालहरु छन् । प्राकृतिक ताल र प्रकृतिसँग रमाउन मानिसहरु ताल तलैयासम्म पुग्छन् । यहाँको ७ वटा तालमध्ये एउटामा बोटिङको मज्जा लिन सकिन्छ ।

१ नं. प्रदेशकै नमुना पर्यटकीय क्षेत्र बन्ने १ नं. प्रदेशको व्यापारिक केन्द्र इटहरीमा रहेको तालतलैया क्षेत्रलाई प्रदेशकै नमुना पर्यटकीय गन्तव्यको रुपमा विस्तार गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय मूर्तिकारहरुको उपस्थितिमा २८ वटा प्रतिमा निर्माण गरिएको छ । यहाँको प्रतिमालाई वरिपरिबाट हेर्दा छुट्टाछुट्टै आकृति देखिन्छ ।

जर्मन, जापान, मलेसिया, इजरायल, भारत र नेपालका मूर्तिकारहरुले ढुंगालाई कुँदेर मानिसको मुटुदेखि, आमाको प्रतिमा, माछाको प्रतिमा, त्यसैगरी विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुले तालतलैयाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।

२८ दिन लगाएर बनाइएको प्रतिमामा धरानको सर्दु जलधार क्षेत्रको ढुंगाको प्रयोग गरिएको छ ।

तस्बिर : रासस/बिराट अनुपम

२०५५र०५६ सालतिर इटहरीमा तत्कालीन प्रमुख सर्वध्वोज साँवाको अगुवाइमा तालतलैया क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने प्रयास भएको थियो । त्यसवेला सामान्य वृक्षारोपण तथा कटेजहरु निर्माण गर्ने कामबाहेक अरु केही हुन सकेन । त्यो प्रयास द्वन्द्वको समयमा त्यतिकै थाती रहन गयो ।

२०६६ बाट शान्ति नगरी सामुदायिक वन उपभोक्ता समूह इटहरी २ र सरस्वति सामुदायिक वन उपभोक्ता समूह इटहरी ३ मा रहेको ७६.७५ हेक्टर जमिनलाई एकीकृत गरी तालतलैया विकास संरक्षण समितिको मातहतमा ल्याई पर्यटकीय क्षेत्रको थप विस्तार गर्ने काम सुरु भयो । यसरी २०६६ सालबाट आधिकारिक रुपमा समिति गठन गरेर पर्यटकीय क्षेत्र विस्तार गर्ने अभियानमा लागेको समितिले अहिले ताल निर्माणदेखि विभिन्न प्रकारका मूर्तिहरुको निर्माण गरेको छ । जसले तालतलैयाको मुहार नै फेर्न थालेको स्थानीय बताउँछन् ।

२०६६ सालबाट व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन् । विशेष गरी कात्तिकदेखि फागुनको दोस्रो सातासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत गन्तव्यस्थल बन्दै गएको तालतलैमा विषेश गरी पिकनिक खान खाने पर्यटकहरु बढी आउने गरेका छन् । यसैगरी जीवजन्तुको अवलोकन, जैविक विविधताको अवलोलनक तथा अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् ।

पर्यटकलाई मनोरञ्जन दिनका लागि तथा विभिन्न प्रकारका अनुसन्धानमा सहयोग र्पुयाउने लक्ष्यका साथ ताल तलैया पर्यटकीय क्षेत्रमा विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुको निर्माण गरिएको छ । तराईको गर्मीले हैरान भएका व्यक्तिलाई थोरै मात्र माथि जाँदा सिमसार क्षेत्र तथा जंगलभित्र रहेका आकर्षक स्थलले पर्यटकलाई मनमोहक बनाउनेछ ।

बिराट अनुपमको फेसबुकबाट

पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्यावरणीय र जैविक विविधताले ताल तलैया उपयुक्त देखिन्छ । ‘मिनि जु’ मा अजिंगर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपोन्मुख थुप्रै जनावरहरु छन् । वन उपभोक्ता सदस्यहरुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संरक्षण गरी राखिएको हो ।

हालसम्म बालमैत्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस तालतलैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिन्छ । यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जातका खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोकन तथा अनुसन्धान गर्न सक्नेछन्। घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ ।

इटहरी चोकबाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राजमार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलैया पर्दछ ।

यहि प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु नै तालतलैयाको मुख्य आकर्षण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट