बुधबार, चैत्र ४, २०७७
कोरोना खोप कार्यक्रम असफल हुने जोखिम साथै दुवै डोज नलगाएमा खोपको कुनै अर्थ हुँदैन

कोरोना खोप कार्यक्रम असफल हुने जोखिम साथै दुवै डोज नलगाएमा खोपको कुनै अर्थ हुँदैन


  • स्वदेश नेपाल
  • बुधबार, चैत्र ४, २०७७

डा. रवीन्द्र पाण्डे-हामीले सुरुदेखि भन्दै आएका थियौं, महामारीको समयमा खोपको सिद्धान्त पालना गर्नुपर्छ भनेर । १ जनालाई खोप लगाउँदा उक्त व्यक्तिको दोस्रो मात्रा स्टकमा राख्नुपर्छ । नेपालमा हालसम्म २३ लाख ४८ हजार खोप आयो ।

यो खोप टुटफुटलाई घटाएर १० लाख जनाको लागि मात्र पर्याप्त हुन्थ्यो । झन्डै १७ लाख व्यक्तिलाई पहिलो मात्रा लगाइएको छ । हाम्रो ७ लाख मात्रा ऋणात्मक भएको छ । हामीले यति लाखलाई खोप लगायौं भन्नुको कुनै अर्थ छैन, दुवै डोज नलगाएसम्म ।

खोप आउँछ भनेको भरमा खोप आउंदैन । हाम्रो एयरपोर्टमा नआएसम्म खोप आउने ग्यारेन्टी गर्नुहुँदैन । एउटा देशले किनेको सामान एयरपोर्टबाट अर्को देशले हाइज्याक गरेको हामीलाई थाहा नभएको हैन । स्वास्थ्य मन्त्रालयको टिम यो कुरामा सचेत हुनुपर्थ्यो ।

अब सरकारले भारतबाट किनेको १० लाख मात्रा ल्याउन उच्चस्तरबाट पहल गर्नुपर्छ अनि त्यो खोपलाई ७ लाख ऋणात्मकलाई सन्तुलनमा ल्याउनुपर्छ । किनकि २ डोज नलगाएमा खोपको कुनै अर्थ हुँदैन ।

त्यस्तै चीनले दिने भनेको ८ लाख खोप तुरुन्तै ल्याएर दीर्घबिरामीलाई दिनुपर्छ । भारतले यो चरणमा ४५ बर्षमाथिका दीर्घरोगीलाई खोप दिइरहेको छ ।

स्वस्थ तथा एकपटक संक्रमण भएका व्यक्तिलाई खोप लगाउन हतार गर्नुपर्दैन । अर्को चरणमा उहाँहरुलाई खोप दिन सकिन्छ । एक एक मात्रा खोपको सदुपयोग र स्टोर संगसंगै लैजानुपर्छ ।

कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम

कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी छ । महामारीको समयमा खोपको सिद्धान्त पालना गरेनौं भने खोपको कुनै अर्थ हुँदैन ।

नेपालमा हालसम्म कोभिशिल्डको खोपको आयात
भारतबाट उपहार – १० लाख डोज
भारतबाट किनेर ल्याएको – १० लाख डोज

कोभ्याक्सबाट आएको – ३ लाख ४८ हजार डोज
जम्मा आएको = २३ लाख ४८ हजार डोज
हिंजोसम्म खोप लिएका व्यक्ति = १५ लाख

१५ लाख व्यक्तिले खोप लिंदा १५ लाख डोज स्टकमा राख्नुपर्छ । दोस्रो डोज लगाउन नपाउने स्थिति भयो भने पहिलो डोज मात्र लगाएका व्यक्ति ३ महिनामात्र सुरक्षित हुनसक्छन् । दोस्रो मात्रा नपाएमा पहिलो मात्रा लगाएको अर्थ हुँदैन । सरकारले जति जनालाई खोप दिन्छ, त्यति नै मात्रा स्टकमा राख्नुपर्थ्यो । हिंजोसम्मको तथ्यांक हेर्ने हो भने पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाउनको लागि ६ लाख ५२ हजार डोज अपुग हुन्छ ।

अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको छ । महाराष्ट्र, केरला, कर्नाटक, तामिलनाडु, पंजाब लगायतका राज्यमा कोरोना संक्रमण बढिरहेको छ । महाराष्ट्रमा मात्र दिनको १५ / १६ हजारको दरले संक्रमितको संख्या बढिरहेको छ । दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसंग सिमाना जोडिएका राज्यमा पनि संक्रमितको संख्या पहिलेभन्दा बढ्ने गतिमा देखिन्छ ।

भारत सरकारले ती राज्यमा सबैलाई खोप दिने तथा अब आफ्नो देशको अवस्था सुधार नभएसम्म खोप बाहिर नपठाउने भनेको छ । नेपालले किनेको बाँकी १० लाख डोज ल्याउन ठूलो पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै ४ डलरको खोपलाई एजेन्ट नियुक्ति गरेर ६.५० डलरको दरले खोप किन्ने प्रयत्नले झन् ढिलाइ हुनसक्छ ।

सरकारले चीनले दिने भनेको ८ लाख भेरो सेल भ्याक्सिन तुरुन्तै ल्याउन पहल गर्नुपर्छ । त्यतिमात्र हैन रुस र चीनसँग खोप किन्ने पहल गर्नुपर्ने देखिन्छ । कोभ्याक्स सुबिधाको खोप छिटो ल्याउने पहल गर्नु जरुरी छ ।

अष्ट्रेलियाले किनेको एस्ट्रेजेनेकाको २ लाख ५० हजार मात्रा आफ्नो देशमा लैजाने क्रममा इटलीले जहाज रोकेको धेरै भएको छैन । युरोपमा महामारी ब्यापक भएकोले खोप बाहिर दिनुहुँदैन भन्ने मत बढेको छ । क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा पनि खोपको तिर्खा उस्तै छ ।

सरकारले बिभिन्न कम्पनी र संस्थाबाट छिटो खोप ल्याउने तथा पहिलो डोज लगाएका हरेक व्यक्तिको दोस्रो डोज स्टोरमा सुरक्षित गर्ने सिद्धान्तमा चुक्यो भने खोप कार्यक्रम बालुवामा पानी हुनेछ । यस्तो संबेदनशील बिषयमा सरकार जिम्मेवार र परिपक्व हुनु अत्याबश्यक छ ।

– डा. रवीन्द्र पाण्डेको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट