स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिक ६० बर्ष काटेकाहरुलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।
आर्थिक वर्ष २०७७/७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा सुरु भएका छन्। सेवा सुरु भएका अस्पतालहरु :
प्रदेश १:- १. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान २. कोशी अस्पताल, विराटनगर ३. मेची अस्पताल, भद्रपुर ४. उदयपुर अस्पताल, उदयपुर
प्रदेश २ :- ५. नारायणी अस्पताल, वीरगञ्ज ६. जनकपुर अस्पताल, जनकपुर ७. गौर अस्पताल, रौतहट ८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
बागमती प्रदेश :- ९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर १०. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर ११. भरतपुर अस्पताल, भरतपुर १२. वीर अस्पताल, काठमाडौं १३. हेटौँडा अस्पताल, मकवानपुर १४. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं १५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं
गण्डकी प्रदेश :- १६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा १७. धौलागिरी अस्पताल, बागलुङ
लुम्बिनी प्रदेश:- १८. भेरी अस्पताल, नेपालगञ्ज, बाँके १९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ २०. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही
कर्णाली प्रदेश :- २१. प्रदेश अस्पताल, सुर्खेत २२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
सुदूरपश्चिम प्रदेश:- २३. सेती अस्पताल, धनगढी २४. डडेल्धुरा अस्पताल, डडेल्धुरा
अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ। तर एउटै सेवाको लागि खर्च दोहोर्याउन भने पाइने छैन।
अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा हुने छैन।
-स्वास्थ्यखबरपत्रिकाबाट

