-राजेन्द्रमान डङ्गोल
आज पुग्नु छ- श्री मुक्तिनाथ अर्थात् बादलमाथिको मन्दिर । हाम्रो यात्राको अन्तिम गन्तव्य । उल्लासित मनले भेट्न खोज्दै छ बादलको तह ।
“भोलि आठ बज्दा हिँडिसक्नु’ पर्छ है ! बरु छिट्टै मुक्तिनाथबाट फर्केपछि क्याम्पमै आराम गरौँला !” बतासको झापड किन खाइरहनु भन्ने आशय थियो देण्डीको ।
सही थियो उनको कुरा । हुन पनि बतासको झापड खाँदाखाँदा दिक्क भइसकेका थियौँ हामी । यहाँका मान्छेहरूले कसरी निर्वाह गरेका होलान् भन्छु म ।
जोन र डेभिड नउठ्दै कागवेणी किनारमा पुगिसकेथेँ म ।
“देवताको तपोथल भएकोले पितृहरू सदैव मुक्तिनाथ धाम, गण्डकी तीर्थ, शालिग्राम क्षेत्रमा बस्न रुचाउँछन् .” गण्डकी नदीतटमा श्राद्ध कर्म गर्नेहरूले मुक्ति प्राप्त गर्दछन् । गण्डकी स्ननानले पापहरू पखालिन्छन् । ” हिजो बाबाजीले भनेको सम्झेँ मैले ।
त्यसैले पो श्राद्व गर्न मान्छेहरू यहाँसम्म आइपुग्दारहेछन् ।
धार्मिक आस्था न हो ! पितृलाई पिण्डदान गर्न आएकाहरू थुप्रै थिए त्यहाँ । पवित्र ठाउँ भएकोले होला श्राद्ध गराउने पण्डितका लागि सधैँ सिजन हुँदोरहेछ यहाँ । सोचेँ- यतिबेला मेरा पितृहरू पनि मलाई देखिरहेका होलान् । पण्डितसँग बसेर पिण्ड दान गर्ने समय त कहाँ थियो र मसँग ! गण्डकीको पानीले मुख धोएँ शरीर शुद्ध पारेँ र चढाएँ एक अँजुली जल समर्पण गरे पितृका सम्झनामा ।
तिब्बती संस्कृतिले जीवन्तता पाएको प्राचीन स्थल हो- कागबेनी । ल्हो-मान्थाङ र मु’क्तिनाथ जाने पर्यटकहरू रात बिताउने भएकोले पर्यटकीय नगरी भएको छ- कागबेनी । कालीगण्डकीको किनारबाट अग्लिएको भूभागमा फैलिएको छ- बस्ति । बस्तिकै बीचमा देखिन्छ- भग्न दरबार । कालीको किनारमाअवस्थित कागबेनीको एउटा विशेषता हो । बस्तिभित्र कलात्मक छ्योत्र्तेन र नदीकै डिलमा छ- काग कागचोदे थुप्तेन साम्फेलिङ गुम्बा । नदीपारि राता पहाड, नदीवारि खैरो बलौटे पहाड । खुब सुन्दर छ कागबेनी । दुई पहाडबीचमा एकछत्र साम्राज्य छ कालीको ।
‘गाक’ पनि भनिन्छ कागबेनीलाई । स्थानिय भाषामा अप्ठयारो ठाउँलाई ‘गाक’ भनिन्छ । उहिलेउहिले राजारजौटा भएका बेलामा भन्सार उठाउँने ठाउँ हो कागबेनी । डोल्पा जानेबाटो यहीँबाट छुट्टिन्छ ।
००००

तस्विर: राजेन्द्र मान डङ्गोल
आठ बज्दा उकालो लाग्यौँ हामी ।
जोमसोम आउँदा हामी हिमाल हेर्दै आएका थियौं । जोमसोम पारगरेपछि हिमालहरूले नै हामीलाई हेरिरहेका छन् । हिमालको प्रतिविम्ब कालीमा खोज्छ’ म ।
हाम्रो टोलीभन्दा अगाडि थिए केही स्थानीय महिलाहरू । एकजना विदेशी पदयात्री हामीलाई भेट्न आईपुगे . पिठ्युमा गहुङ्गो झोला बोकेका थिए । दाहिने हातले लठ्ठी टेकेका र देब्रे हातले ‘ट्रेकिङको म्याप’ समातेका । निख्खरा सेतो बर्ण, अग्लो कद र बाक्लो ज्यान परेका उनी सहयोगीबिना नै पदयात्रा गर्दै थिए । उनी आफैँ पदयात्री, आफैँ गाइड र, भरिया पनि आफैँ ।
“यो खैरे त फाल्ट’ पो रहेछ । हेर ! यति गहुङ्गो भारी आफैँले बोकेको छ । कम्तीमा सहयोगी त लिएको भए एउटाले त काम पाउँथ्यो नि ! बेकारमा सरकारले ट्रेकिङ परमिटको व्यवस्था खारेज गरेर !” एक्लो पदयात्रीलाई हेर्दै भुत्भुताय देण्डी ।
“ह्वेयर आर यू ’ कम फ्रम ?” उनले सोधनी गरेँ ।
“आइ एम फ्रम अष्ट्रेलिया .” गोराको जवाफ ।
यति भनेर गोरा लम्किए । मानौँ उनी हतारमा थिए ।
“तपाईंहरू विस्तारै आउँदै गर्नुस’ । म झारकोट पुगेर चिया अर्डर गर्दै गर्छु’ ।” किचन टोली लिएर अघि लागे देण्डी ।
कागवेणी छाडेर धमाधम उकालिँदै छौँ हामी । कागवेणीबाट मुक्तिनाथ पुग्न’ धर्ती छाडेर आकाश छुनुजस्तै भएको छ आज । किनकि हामीले बादलमाथिको मन्दिर पुग्ने सङ्कल्प गरेका छौँ । नीलगिरि होचिँदै गएको प्रतीत भइरहेको छ, बादल छुने हाम्रा पाइलासँगै ।
उकालिँदा उकालिँदै क्लान्त जोन र डेभिडमा आत्मविश्वास भरेर दह्रो बनाइरहेको छ’, उनीहरूका पयरलाई । मेरो कर्तव्य- उनीहरूलाई गन्तव्यमा पुर्यारउन’ र यात्रालाई सार्थक बनाइदिन’ हो । उनीहरूसँग बिताएको समयका प्रत्येक क्षणलाई अविस्मरणीय बनाउन’ पनि हो । यात्राका सम्झनालाई मित्रताको मालले बेरेर पठाउन’ छ मैले, ताकि उनीहरूले नेपालको यात्रामा मेरो प्रतिच्छायाँ देखिरहुन ।
पहाडको ढाड टेकेर झारकोटतिरै लम्कँदै छौँ हामी । मुक्तिनाथबाट झरेका खच्चरका हुल कण्ठेघण्टी बजाउँदै ओर्लिरहेका थिए बुङ्बुङती धुलो उडाउँदै । एक मुठी छारो त मैलेमात्रै निलेथेँ होला । धुलोले दिइरहेको छ मुस्ताङको पहिचान ।

तस्विर: राजेन्द्र मान डङ्गोल
माथिल्लो डाँडामा प’गेपछि हामीसँगै हिँडिरहेका महिलाहरूले धुङ्गा ठड्याएर घरजस्तो आकृति बनाए ।
मैले सोधेँ- “किन यस्तो बनाएको ?”
“आर्को जन्मका लागि हो । हामी मरेपछि पनि चाहिन्छ नि ।”
ठाउँठाउँमै देखिन्छन्- कतै ढुङ्गा मात्र थुपारिएको देउराली त कतै ढुङ्गा ठड्याएर बनाएको ढु ङ्गेकटेरी ।
“मरेपछि आफैले बनाएको यही कटेरीमा बस्न पाइन्छ र ?” न मैले यो प्रश्न नै सोधेँ, न त उनीहरूबाट नै जवाफ पाएथेँ मैले ।
लाग्यो- ‘कागवेणीमा श्राद्धगर्दा पितृहरूले पाउँछन् भन्ने विश्वासजस्तै होला उनीहरूको यो विश्वास पनि ।’
अचम्मकै विश्वास छ हामी हिन्दु र बौद्धमार्गीहरूमा ।
त्यहीबाट फर्केर कालीपारिको बतासे डाँडाहरूमा आँखा पुर्या एँ । कालीलाई हेरेँ । डाँडाजस्तै शान्तभावमा देखेथेँ मैले कालीलाई ।
नाङ्गा पहाडका डबलीहरूमा रोकिँदै-रोकिँदै खिङ्गा गाउँ पुग्यौं ।
मुक्तिक्षेत्र भित्रको एउटा सानो गाउँ यो । यही बाटो भएर कैयौँ पर्यटकहरू आवतजावत गर्छन् तर कोही रोकिँदैनन् । पर्यटनले अझै छोएको छैन खिङ्गालाई ।
खिङ्गाबाटै देखिन्छ एउटा थुम्का । यसैका नाम हो झारकोट ।
“उः त्यही हो झारकोट ।” सङ्केत गरेँ जोनलाई ।
“अब कति समय लाग्छ ?” उनको सोधाइ थियो ।
“आधा घण्टा .” मेरो जवाफ ।
रातो रङको ठुलो संरचना गुम्बा हो भनेर अनुमान लगाउन कठिन छैन बिहानीको किनकि छानामा प्रार्थनारत सजधजहरूले हामीलार्ई सद्भाव र उत्साही स्वागत गरिरहेका थिए । जोनले घाम छेक्न शिरमा लगाएको ‘ह्याट’जःतै लाग्छ थुम्कामा टुपूक्क बसेको गुम्बा । गुम्बासँगै जोडिएको छ झूप्प बस्ति – डबलीमा उभिएको मान्छेको समुहजस्तै गरी ।
ढुङ्गै ढुङ्गा थुप्रिएका छन् पहाडको छातीभरि । हरियालीको नाममा ढाउँठाउँमा धुपीका बुच्काहरू मात्र छन् । वनस्पति नै नभएपछि यो उचाइमा कसरी पुगोस् अक्सिजनको मात्रा ! त्यसैले होला, कागबेनीदेखि नै सुस्त हिँडिरहेका थिए डेभिड ।
पाइलाले उचाल्दैउचाल्दै अन्ततः पुर्याँयो हामीलाई झारकोट ।

तस्विर: राजेन्द्र मान डङ्गोल
धेरै अगाडि जुम्ला र मुस्ताङबीचमा लडाईं हुँदाको बेलाको रणभूमि हो झारकोट । लडाईंका बेलामा भएका बेलामा लागेका गोलीका दागहरू अझै भेटिन्छ भनिन्छ पारिकोट पारिको जोङ गाउँमा । माथि मुक्तिनाथ; तल जोङगाउँ र जोङगाउँकै सामुन्नेमा छ- झारकोट ।
चिया अर्डर गरिसकेका रहेछन् देण्डीले पारिलो घाम ताप्दै ३,५०० मिटरको उचाइमा बसेर चिसो हिमाल हेर्दै तातो चिया पिउनुको मज्जा लियौँ । हिमालपारिको एउटा थुममा थियौँ हामी ।
झारकोटको पाँच सय वर्ष पुरानो शाक्य गुम्बा देखाएर केहीबेर अन्मल्याएँ मैले जोन र डेभिडलाई । भिक्षुहरूको अध्ययन केन्द्र पनि हो यो गुम्बा । गुम्बाको प्रार्थना कक्षका भित्ताहरूले अमुल्य चित्रकला र धार्मिक कलाकृति एवम् जीवनरेखा चित्र प्रदर्शन गरिरहेका छन् । गुम्बाभित्र जलिरहेका थिए दिवंगतका नामका मैनबत्तीहरू । यही दीप हो जसले दिवंगतहरूलाई प्रकाश दिन्छ अर्को जीवनसम्म पुग्ने यात्रा गराउँदछ ।
केस मुण्डन गरेर रातो चिवर लगाएका कलिला भिक्षु (भन्ते)का हातहरूले समाइरहेका थिए कापी र कलम । कलिलै उमेरमा यसरी भव र विभव त्यागेर धार्मिक तपस्वीको अभ्यास गरिरहेका थिए उनीहरू । उनीहरूको मुहारचित्रमा बुद्धको प्रतिबिम्ब देखेथेँ मैले ।
गुम्बासँगैको अर्को भवनमा बिरामीको नाडी समाइरहेका थिए आम्ची डाक्टरले । तिब्बतमा शताब्दीदेखि चलिआएको जडिबुटीबाट उपचार गरिने पद्धति हो- आम्ची । सर्वाङ्पूर्ण उपचार पद्धति हो आम्ची । आम्चीलाई नै विश्वास गर्दन् यहाका मान्छेहरू ।
एक घण्टाको आरामले उचाइअनुकुलनमा मद्दत प’र्या्एको थियो डेभिडलाई ।
झारकोटबाट आधा घण्टा उक्लेपछि आइपुग्यो रानीपौवा ।
लन्चको तयारीमा जुटिसकेका थिए किचन टोली स्यान्डविच बनाउँदै थिए देण्डी । तरकारी काटदै थिए कर्मा । भात पकाउन चामल धुँदै थिए राम । स्टोटोभमा दम दिँदै थिए तारा ।
“मन्दिर त अझै बीस मिनेट पर छ । एकछिन थकाइ मारेर मन्दिर जानू । तपाईंहरू फर्कंदासम्म हामी क्याम्प खडा गरिसकेका हुन्छौँ । खाना पनि तयार भइसकेको हुन्छ । बरु बेलैमा फर्कनु ! आज बेलुकी त मुस्ताङ कफी बनाउँचू म ।” गन्तव्य चुमेको दिनमा खुसीयाली मनाउने परम्परा निर्वाह गर्न चाहन्थे देण्डी ।
०००

तस्विर: राजेन्द्र मान डङ्गोल
थोराङ लाको पुछारमा पुग्नुपर्छ । तैपनि माथि नै देखिन्थ्यो मुक्तिनाथ । कडा सिरेटो चल्नु अघि नै लाग्यौँ हामी । हल्काफुल्का बादलले मन्दिर कहिले छोपिन्थ्यो, कहिले देखिन्थ्यो । मन्दिर त साँच्चै बादलमाथि नै छ भन्ने भान हुन्थ्यो ।
हातले बनाएका टोपी, गलबन्दी, पञ्जा र झोला लिएर स्थाथानीय पर्यटकका बाटो कुरिबसेका छन्- पुरुष र महिलाहरू । विदशीसँग चकलेट मागिरहेका छन्- ढुलो खेलीरहेका नानीहरू ।
“एक्सक्यूज मी सर ! यू वान्ट टु बाई समथिङ ? प्लिज सी !” फकाउँदै छन् जोन र डेभिडलाई .
बिचरा ! ती पसलेहरूलाई के थाहा उनीहरू बधिर हुन् भन्ने । बेकार बोलीमात्र खेर जाँदै थियो उनीहरूको ।
“दाइ पन्जालाने होइन ?” पन्जाका सरजाम लिएर बसेकी महिलाले मलाई सोधिन् ।
पचासमा किनेँ मैले ।
पहाडको ढाडमा भकुन्डिँदै ओरालो लागिरहेको छ, मुक्तिनाथको १०८ जलधारा झरेर आएको पानी कालीगण्डकी भेट्न ।
बाँकी रह्यो अन्तिम उकालो । समुन्द्री सतहबाट आएकाहरूलाई लेकले छोइहाल्छ यो उचाइमा आइपुग्दा । कोहीले घोडा चढेका छन् । कोहीले मान्छेको काँध । येनकेन पुग्नु छ छ भगवानको चरणमा ।
उकालोको श्रेणीका दायाँबायाँ बसेका छन् असहायहरू जीवनको भीख माग्दै । कोही टीका लगाइदिँदै । कोही शालिग्राम बेच्दै । आगन्तुकहरूको स्वागतमा ‘शम्भो !’ ‘शम्भो !!’ अभिवादन गर्दै बसेका बाबाजीहरूको लामै लाइन छ । आगन्तुकबाट केही पैसा झरोस् भन्ने उनीहरूको अपेक्षा छ ।

तस्विर: राजेन्द्र मान डङ्गोल
कोही बाबाजी जटा फिँजाएर तस्विर खिचाउँदै छन् विदेशी पर्यटकसँग । बदलामा डलरले झटारो हानिरहेका छन् विदेशीहरूले । खुसीले गद्गद् भएका छन् बाबाजीहरू । हेर्नलायक छ तमासा ।
दोहरीलत्त भक्तजनहरूको भीडमा हराइरहेका छौँ जोन, डेभिड र म . म’क्तिक्षेत्रको शिवजी मन्दिर, स्वामी नारायण मन्दिर, नरसिँह गुम्बा र ज्वालामाईमा पनि त्यत्तिकै सल्बलाइरहेका छन् भक्तजन । कोही सकीनसकी बडेमानको शालिग्राम उचाल्दै छन् ढाड मर्काइ-मर्काइ ।
हामी पुग्यौँ नेपाली प्यागोडा शैलीमा निर्मित मुक्तिनाथ मन्दिरको आँगनमा ।
पद्मासनमा अभयमुद्रासहितका भगवान बिष्णुको मुर्ति रहेको छ । यसैलाई बौद्धमागीहरू अवलोकितेश्वरको रूप मान्दछन् । समान आस्था छ डुवै धर्मावलम्बीहरूमा । दायाँ र बायाँ दुवैतिर सरस्वती र लक्ष्मीका मुर्ति छन् । ब्रह्माजीले यज्ञ गरेको स्थलमा ज्वालामाईको मन्दिर छ ।
मन्दिर बाहिर हिन्दु ब्राह्मण भक्तजनलाई टीका लगाएर दक्षिणा थापिरहेका छन् । भित्र बौद्ध झूमाले प्रसाद वितरण गरिरहेकी छिन् ।
भक्तजनहरू कोही मन्दिर अगाडिको कुण्डमा डुबेर पाप पखाल्दै थिए, कोही १०८ धारामा स्नान गर्दै । सबका सब व्यस्त थिए आ-आफ्नै सुरमा ।
०००
कोही मन्दिरभित्र भगवान सित माग्दै, कोही मन्दिर बाहिर मान्छेहरूसँग माग्दै । आखिर हामी सबै माग्दै त रहेछौँ ! यही थियो सबैभन्दा रोचक दृश्य ।
एउटै बिन्दुमा उभिएर धार्मिक एवम सांस्कृतिक सम्पदाको अवलोकन र प्राकृतिक दृश्यको रस्वादन गर्यौं हामीले । साँच्चै अलौकिक छ- बादलमाथिको मन्दिर परिसर ।
“कस्तो लाग्यो मुक्तिनाथ यात्रा ?” मैले जोन र डेभिडलाई सोधेँ ।
उनीहरूको जवाफ थियो- “सोचेभन्दा राम्रो ”
उनीहरूले दाहिने हातलाई चुप्प गरे । त्यसको अर्थ थियो ‘धन्यवाद !’
हामी फर्कंदै गर्दा मुक्तिनाथ क्षेत्रभरि टाँगिएका लुङ्दरहरू र हरिहल्ल वृक्षहरूले उच्चारण गर्न थालिसकेका थिए बौद्ध मन्त्र- ‘ॐ मणि पद्मे हुँ’ ।

