श्रद्धात्रयविभाग योगको सार– अब अर्जुनले एउटा महत्त्वपूर्ण कुरा सोध्छन्– जसले विभिन्न देवताहरुको पूजा गर्छ तर शास्त्रका नियमहरु पालन गर्दैन, उसको श्रद्धा कस्तो हुन्छ– सात्विक, राजस वा तामसिक ? श्रीकृष्णले भन्नु हुन्छ– तीन प्रकारको नै हुन्छ । र यो कुरा मानिसहरुको स्वभावमा भर पर्छ । सात्विक मानिसले देवताको पूजा गर्छन्, राजसिकले यक्ष, राक्षस आदि उपदेवलाई पूजा गर्छन् । तामसिकहरुले भूत वा निम्न आत्माहरुलाई खुशी पार्ने प्रयास गर्छन् ।
श्रद्धा, विश्वास, आहार, यज्ञ, तप र दानका यी सबैका तीन विभाजन हुन्छन् । जुन भोजन स्वास्थ्य, शक्ति र मनको पवित्रताका लागि पोषक हुन्छ र सुखदायी छ, त्यो सात्विक हो । जुन भोजन तितो, अमिलो, पर्पराउंदो, पिरो छ, रोग उत्पन्न गर्छ, त्यो राजसिक हो । बासी, समय बितेको, स्वाद र बासना सिद्धिएको, कुहिएको, बिग्रेको, र अशुद्ध भोजन तामसिक हुन्छ ।
कर्तव्य ठानेर शास्त्र निर्देश अनुसार गरिएको यज्ञ सात्विक हुन्छ । वैभव प्रदर्शनका लागि फलका लागि प्रेरित भइ गरिएको यज्ञ राजस हुन्छ । तामसिक यज्ञ निर्धारित नियमविरुद्ध हुन्छ । त्यसैले यो श्रद्धा विश्वासरहित, मन्त्र र दक्षिणाहीन हुन्छ ।
तप तीन प्रकारको हुन्छ शारीरिक, वाचिक र मानसिक । देव ब्राह्मण, र आचार्यको पूजा पवित्रता र ब्रह्मचर्य शरीरको तप हो । मनको शान्ति, विचार र वाणीको संयम र आनन्ददायी हावभाव मनको तप हो । जब यो त्रिविध तप विश्वासपूर्वक गरिन्छ फलकामनारहित भए त्यो सात्त्विक हुन्छ । जुन तप नाम र ख्याति हेतु प्रदर्शनीय ढंगले गरिन्छ त्यो राजसिक हुन्छ । जुन तप आफ्नो सामथ्र्यलाई ख्याल नगरिकन अरुलाई हानि पुर्याउनका लागि गरिन्छ त्यो तामसिक हुन्छ ।
कर्तव्य ठानेर उचित प्रकारका व्यक्तिलाई उचित विधिले दिइएको दान वा उपहार सात्त्विक हुन्छ । भावी पुण्यको आशाले र अनिच्छापूर्वक दिइएको दान राजसिक हुन्छ । नियमहरुको उल्लंघन गर्दै अयोग्य व्यक्तिलाई उपेक्षापूर्वक दिइएको दान तामसिक हुन्छ ।
अनि श्रीकृष्णले भन्नु हुन्छ– ॐ, तत्, र सत् यी तीन उच्चारण ब्रह्मका त्रिविध उपाधि हुन्, यज्ञ, तप, र दानको समयमा उच्चारित हुन्छन् भने सबै अपूर्णताहरुलाई सुधार गरिदिन्छन् ।
सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबुराम ज्ञवालीद्वारा लिखित ”श्रीमद् भागवत गीता – एक विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने छौ, सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्दै जाने छौ । पहिले प्रकाशित भागहरु हेर्न स्वदेश नेपालको धर्म संस्कार क्याटागोरीमा हेर्नुहुनु अनुरोध छ, सबै लिंकहरु यहाँ समाबेश गर्न सम्भब देखिएन ।
पढ्नुहोस डा. बाबुराम ज्ञवालीद्वारा लिखित श्रीमद्भागवत गीता अध्याय १७ को विवेचना पूर्ण पाठ (२८ श्लोक)
उपसंहार– अध्याय १७ को नाम हो श्रद्धात्रयविभाग योग । श्रद्धाको अर्थ हुन्छ आदर्श गुण वा आन्तरिक शक्तिबाट प्रभावित भइ मनबाट निस्कने भावना, निष्ठा, आस्था, विश्वास वा भक्ति । यस भक्तिलाई तीन गुणले कसरी प्रभावित गर्छन् भन्ने कुराको व्याख्या यस अध्यायको विषय वस्तु हो । अध्याय १४ मा बताइएका तीन गुणको यस अध्यायमा अझ विस्तार गरिएको छ । तीन प्रकारका गुण अर्थात् सात्त्विक, राजस्, र तामस्, यी तीन स्वाभाविक गुणले गर्दा यज्ञ, तप, दान, आहार आदि सबै तीन प्रकारका हुन्छन् । तिनीहरुको सम्पन्न गर्ने क्रिया र प्रभाव पनि तीन वटा गुणको आधारमा फरक फरक हुन्छन् ।
गीताका तीन विषय वस्तु कर्म, उपासना, र ज्ञानमध्ये अध्याय १३–१८ सम्म ज्ञानकाण्ड हो । आत्मा अजर अमर छ, त्यसका निम्ति शोक गर्नु पर्दैन । मर्ने मार्ने क्रिया झुट्ठा हुन् । यी कुराहरु अध्याय १–६ ज्ञानकाण्डमा सिद्ध भइसकेका कुरा हुन् । अध्याय ७–१२ मा आफ्नो कर्तव्यलाई पनि परमेश्वरको आराधना रुप ठानेर कर्म गर्नु पर्दछ भन्ने कुरा पुष्टि गरिएको छ । त्यसैले स्वधर्म युद्धमा प्रवृत्त हुनै पर्दछ भन्ने कुरा अन्तिम काण्डमा सिद्ध गरिएको छ । यस अध्यायको सार हो– राम्रो भन्दा असल छान्नु नै विशिष्टता हो ।

