डा. बाबुराम ज्ञवाली, जगदीश प्रसाद उपाध्याय
कठ उपनिषद दस प्रमुख उपनिषदमध्ये एक मानिन्छ । आफ्नो आकार र विषय वस्तु दुवै कारणले गर्दा यो बढी प्रचलित छ । सर्व प्रथम युरोपेली भाषामा अनूदित भएको उपनिषद् कठोपनिषद हो । यस कारणले गर्दा पनि यो उपनिषद बढी प्रचलित भएको हो । अर्को कुरा यसको विषय वस्तु पनि हो जुन आत्म विषयक कुरामा केन्द्रित छ । यो उपनिषद दुई अध्यायमा विभक्त छ । प्रत्येक अध्याय तीन तीन खण्डमा विभाजन गरिएको छ । जसलाई वल्लि भनिएको छ ।
कठ उपनिषदको पृष्ठभूमि अत्यन्त रोचक छ । नचिकेताका पिता वाज्रश्रवाले यज्ञको दक्षिणामा वृद्ध गाईहरु (निरर्थक वस्तु) दान गरेको देखेर नचिकेताले पितालाई यथार्थ बोध गराउनका लागि प्रश्न गरे– हजुरले मेरो दान कसलाई गर्नु हुन्छ ?
पिताले क्रोधित भएर भने– यमराजलाई ।
त्यस पछि बालक आफैं यमकहाँ पुग्छन् ।
यमराजले प्रसन्न भएर तीन वर माग्न भन्छन् ।
बालक नचिकेताले दुई वरमा आफ्ना पिताको क्रोध शान्त भएर प्रसन्नता, तथा स्वर्गको अग्निविद्या माग्छन् । तेस्रो वरमा उनले अध्यात्मविद्या (अमरता) को चाहना गर्छन् ।
यमराजले दुई वर सजिलै दिन्छन् तर तेस्रो वरका सट्टा धन सम्पत्ति, राज्य अनेक कुरा दिन चाहन्छन् तर नचिकेता विचलित हुँदैनन् । यसरी यमराज र बालक नचिकेताको अध्यात्म विषयक संवाद सुरु हुन्छ । यो नै कठ उपनिषदको विषय वस्तु हो । कठ को अर्थ हो कठिन । एक सानो बालकलाई यो विषय बताउनु वास्तवमै एक कठिन काम हो । यसका केही श्लोक भगवद्गीताका श्लोकहरुसंग जस्ताको तस्तै मिल्छन् ।
कठ उपनिषदका यम मृत्युका देवता मात्र होइनन् ज्ञानका देवता पनि हुन् । वास्तवमा मृत्यु नै परम सत्य हो । जसलाई यस कुराको बोध हुन्छ, त्यो अमर हुनजान्छ भन्ने यस उपनिषदको सन्देश हो ।
प्रार्थना
उपनिषद अध्ययन गर्नु अघि र अध्ययन गरेपछि गुरु शिष्यले मिलेर शान्ति पाठ गर्नु अनिवार्य मानिन्छ । एकाग्रचित्तले गरिएको यस पाठपछि मन निर्मल हुन्छ र उपनिषदको रहस्य विद्याको गूढ कुरा बुझ्न सजिलो हुन्छ भन्ने मान्यता रहेको छ ।
ॐ सहनाववतुः सहनौ भुनक्तु सहवीर्यं करवावहै ।
तेजस्वि नावधीतमस्तु माविद्विषावहै।।
ॐ शान्तिः, शान्तिः, शान्तिः ।।
ॐ -ॐ रुप ब्रह्मले,
सह नौ अवतु- हामी दुवै (वक्ता- श्रोता अथवा गुरु (शिष्य) को रक्षा गरुन् ।
सहनौ भुनक्तु -हामी दुवैको पालन पोषण गरुन् ।
सहवीर्यं करवावहै- हामी दुवैले संपूर्ण शक्ति एकै दिशामा लगाउन सकौं ।
तेजस्वि नौ अधीतम् अस्तु हामीले अध्ययन गरेको, श्रवण गरेको विषय सारा अनुभवमा आओस्।
मा विद्विषा वहै -हामी दुइमा कुनै किससिमको वैमनस्य, असमझदारी नहोस् ।
ॐ शान्तिः शान्तिः शान्तिः दैहिक, दैविक, भौतिक त्रिविध ताप शान्त होउन् ।
पहिलो अध्याय

अबोध नचिकेता अत्यन्त विवेकशील, वैराग्यवान् र स्मरणशीलता– अनित्यतालाई बुझेका साधक देखिन्छन् । यमले सांसारिक किसिमका सुखभोग र स्वर्गका ऐश्वर्य भोगको बारेमा वर माग भनेर फेरि आग्रह गर्दछन् । तर सांसारिक विषयका दुई वर यमराजबाट पाए तापनि नचिकेता आत्मा परमात्मा विषयमा उत्तर पाउन दृढ रहन्छन् । ब्रह्मवेत्ता यमले जिज्ञासु साधकको पहिचान गर्न विभिन्न दृष्टिकोणले परीक्षा गरेको पाइन्छ । नचिकेताले मृत्यु पछिको अवस्था आत्मा परमात्मा ईश्वर ब्रह्मको बारेमा सबै किसिमको प्रलोभनबाट मुक्त भएर प्रश्न गरि नै रहन्छन् । प्रथम अध्यायको दोस्रो वल्लीमा २५ मन्त्रहरु छन् । चौधौं मन्त्रसम्म दुवैको संवाद चल्छ । आत्मा परमात्मा विषयक उत्तर १५ औं मन्त्रदेखि सुरु हुन्छ ।
यमराजलाई मृत्युको देवताको रुपमा जनमानसमा धारणा रहे पनि वैदिक र औपनषिदिक चिन्तनमा विश्व नियन्ता, ब्रह्माण्ड नियन्ता शक्ति संझनु पर्दछ र विश्व चैतन्यले आफ्नो स्वरुपको बारेमा बताइरहेको बुझ्नु पर्ने हुन्छ ।
सर्वे वेदा यत् मदमामनन्ति
तपाँसि सर्वाणि च यत् वदन्ति
यदिच्छन्तो ब्रहमचर्यो चरन्ति
तत्ते पद्ँ संग्रश्ण्म ब्रवीम्योमित्येतत् ।। अध्याय १। वल्ली २। श्लोक १५।।
यो यमद्वारा व्यक्त आत्मा परमात्मा विषयक पहिलो मन्त्र हो । यस मन्त्रमा सबै वेदहरुले जसको प्रतिपादन या मनन गर्दछन् तपस्याको फल को रुपमा जो अनुभव आउंछ, चाहेसम्म ब्रह्म चरण– ब्रह् विहार ब्रह्मचर्या हुन सक्छन् । यसलाई ॐ भन्दछन् ।
यस पछिका १० वटा मन्त्रहरुमा भिन्न भिन्न कोणबाट त्यही ॐ कै व्याख्या गरिएको छ । ॐ ध्वनि निराकार र सर्वलौकिक (universal) भएकोले यो चैतन्यस्वरुप छ । यो अक्षर ब्रहम हो । यसैको अवलम्बन गर्नु पर्दछ । ब्रह्माण्डको आधार नै यही हो । यसलाई अनुभवमा ल्याए पछि जन्म मृत्यु दुवै रहंदैनन् ।
त्यो ॐ रुप चैतन्य ध्वनि, ब्रह्म ध्वनि अणु भन्दा पनि अणु, महान भन्दा पनि महान छ तापनि प्रत्येक प्राणीको हृदयमा त्यो सदा विराजमान छ । ईश्वर कृपाले वैराग्यद्वारा प्राप्त गर्न सकिन्छ ।
यमले स्पष्ट रुपमा भनेका छन् कि हे नचिकेता, यसलाई सबैले अनुभव गर्न सक्दैनन् । जिज्ञासु साधक, तत्ववेत्ता गुरु, र ईश्वर कृपा यी तीनको संयोग भएमा आत्म ज्ञान, ब्रहम ज्ञान, ओं ज्ञान, तत्व ज्ञान प्राप्त हुन सक्दछ । धेरै पढेर, उपदेश गर्नाले, बुद्धिले आत्मा परमात्मा अनुभव आउने होइन । ईश्वर कृपा अहं शून्यको स्थितिले मात्र आत्मा महिमा ऐश्वर्य अनुभव गर्न सकिन्छ ।
प्रत्येक कार्यका लागि पूर्व तयारी गरे जस्तै आत्मा परमात्मा अनुभवमा ल्याउनकोलागि आवश्यक पूर्व शर्तहरु छन् । ती शर्तहरु हुन्- साधक, असत्य, असत् आचणबाट मुक्त हुनु पर्दछ १, मन अशान्त हुनु हुदैन २, संसार सुख प्राप्त गर्ने थलो हो जसरी पनि संग्रह हुनु पर्दछ, गर्नु पर्दछ, भन्ने भावनाग्रस्त मन हुनु हुन्न ३, पांच ज्ञानेन्द्रियहरु नियन्त्रित हुनु पर्दछ ४।
स्थिर बुद्धि, प्रज्ञाले मात्रै यसलाई प्राप्त गर्न र अनुभवमा ल्याउन या त्यस चैतन्यमा प्रतिष्ठित हुन सकिन्छ । परमेश्वर यस्तै छ । यो नै छ, यति नै छ भनेर भन्ने वा मान्ने कुरा होइन । प्रथम अध्यायको द्वितीय वल्ली यमको यति उपदेशले पूर्ण हुन्छ ।
तृतीय वल्लीमा पनि यही उपदेश क्रम अगाडि बढ्दछ । पहिलो मन्त्रमा मनुष्य शरीरको नश्वरता यसको दुर्लभता आत्मा परमात्माको अनुभव क्षमताको संगमको रुपमा शरीरलाई बताउंदै यस प्रकार चित्रित गरिएको छ-
आत्मान ्ँरथिनं विद्धि शरीर ्ँरथमेव तु ।
बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।। अध्याय १ । वल्ली ३ ।। श्लोक ३ ।।
शरीर रथ हो । बुद्धि साक्षी हो । मन लगाम हो । इन्द्रियहरु घोडा हुन् । दृश्य जगत विषयहरु हुन् । रथको मध्य भागमा बसेको आत्मा चैतन्य जीवात्मा हो । बुद्धिले मनलाई, मनले इन्द्रियलाई नियन्त्रण राखेको छ भने दुर्घटना हुन सक्दैन । अन्यथा भएमा जन्म मृत्युको बारम्बार घटना नै रहन्छ । सारथी बुद्धिमान् छ, मन शुद्ध छ, गन्तव्य ठीक छ भन्ने पुनः भवचक्रमा पर्नु पर्दैन । आत्मा–परमात्मा अत्यन्त गूढ रहस्यमय भएकोले सबैले अनुभव गर्न चाहन्नन् । अत्यन्त सूक्ष्म बुद्धिले मात्र आत्मा–परमात्मको विषयमा निर्णय गर्न सकिन्छ ।
आत्मा–परमात्मा शब्द, स्पर्श, गन्ध, रुप, रस सहित छ । अनगन्ती र अनन्त अचल छ । त्यसको अनुभव गरे पछि मात्र जन्म र मृत्युको अनुभवबाट मुक्त हुन सकिन्छ । जिज्ञासा हुनु पर्यो । त्यसलाई कदम चाल्नु पर्यो । तत्व दर्शी महापुरुषहरुको संपर्क र निर्देशनमा चल्नु पर्यो । छुराको धारमा हिंड्नु जस्तो कठिन यो बाटो छ भनेर जानकारहरु भन्दछन् । संसार प्रतिको आकर्षण छ भने उत्तिष्ठत, जाग्रत, प्राप्य वरान्निबोधत ।
नचिकेता र यम संवाद सुन्नाले मनन गरी अनभुवमा ल्याउनाले व्यक्ति ब्रह्मलोकको अधिकारी हुन्छ । ब्रह्म सभा वा श्राद्धकालमा यसको पठन पाठन श्रवण गर्नाले व्यक्तिको व्यष्टित्व समाप्त भएर समष्टिमा विलीन हुन्छ ।
प्रथम अध्यायको तृतीय वल्ली यसै सत्रौं मन्त्रसंग पूर्ण हुन्छ ।
द्वितीय अध्याय
द्वितीय अध्यायमा तीन वल्ली छन् । प्रथम वल्लीमा १५ मन्त्र, द्वितीय वल्लीमा पनि १५ मन्त्र र तृतीय वल्लीमा १८ मन्त्रहरु छन् । यी तीनै वल्लीहरुमा विभिन्न कोणबाट आत्मा परमात्मा रुप चैतन्य र त्यसको कार्यलाई स्पष्ट पारी रहेको छ । इन्द्रियहरु स्वाभाविकैले बहिर्मुख छन् र व्यक्ति बाह्य जगत तर्फ नै आकर्षित हुन्छ । थोरै व्यत्तिहरु मात्र अन्तर्मुख भएर आफु भित्र हेर्न समर्थ हुन्छन् र स्वरुपलाई जान्दछन् । अन्य व्यक्ति बहिर्मुख रहेको कारण भवचक्र जन्म मरणमा परि रहन्छन् । रुप रस गन्ध आदिको ज्ञाता चैतन्यलाई आत्मा भन्दछन् । हे बाबु नचिकेता, तिमीले सोधेको प्रश्नको उत्तर यही हो ।
स्वप्न र जागरण कालको मध्यमा रहने निष्क्रिय चैतन्य नै तिमीले सोधेको उत्तर हो । र चैतन्य व्यापक अनन्त छ । र त्यसको अनुभव गरे पछि व्यक्ति हर्ष शेष मा पर्दैन ।
तपस्या द्वरा आफ्नो हृदयमा नै फेला पार्ने तत्व आत्मा हो । यहां अनेक तत्व देखिए पछि परमात्मा रुप चैतन्य अविभाज्य रुपमा क्रियाशील छ । सत् मात्र चैतन्य आत्मा हृदयमा रहन्छ । ईश्वर सर्व भूतानां भएको र हुनेहरुको नियामक हो ।
पर्वतहरुमा परेको पानी जसरी तल एकैतिर– समुद्रतिर जान्छ त्यसरी नै सबै धर्महरुको गन्तव्य परमात्मा हो । अनन्त चैतन्रुपी ब्रह्मका पांच कर्मेन्द्रिय, पांच ज्ञानेन्द्रिय र मन गरी ११ द्वार छन् । त्यो चैतन्य ब्रह्मलाई उपासना गरेमा जन्म र मृत्युबाट पार जान सकिन्छ । तिमीले जान्न खोजेको प्रश्नको उत्तर यही हो ।
शरीरमा रहने आत्म चैतन्य तत्व शरीर छुटे पछि पनि यहीं रहन्छ । तिमीले सोधेको प्रश्नको उत्तर यही हो । प्राण र अपान अर्थात् प्राण शक्तिले मात्र जीवन चल्दैन । तेस्रो तत्व चैतन्य आवश्यक छ । यमराज भन्नु हुन्छ – नचिकेता अब तिमी अगाडि सनातन ब्रह्म विद्या सुन ।
भाव र कर्मद्वारा नै यो जन्म निधर्धारुण हुन्छ । शुद्ध निर्विकल्प परमात्मा नै यस सृष्टिको आधार हो । त्यसलाई कसैले उल्लंघन गर्न सक्दैन । तिमीले सोधेको प्रश्नको उत्तर यही हो । एउटै चैतन्यरुप परमात्मा सबै प्राणीहरुको हृदयमा रहेर भित्र बाहिर सबैतिर ब्रह्माण्डमा अविभाज्य रुपमा रहे जस्तै आत्मा रहेको छ । वायु जस्तै व्यापक भएर सबैको अन्तरात्मामा भएर विभन्न रुपमा चैतन्य देव आत्मामा नै ईश्वरमा व्याप्त भएको छ । नेत्र दोषले सूर्यलाई असर नपरे जस्तै अविभाज्य सबैको अन्तरात्मा को रुपमा रहेको साक्षी चैतन्य आत्मालाई बाहिर सुखले प्रभावित पार्दैनन् । संपूर्ण प्राणीहरुको नियन्ता चैतन्य भने अने रुपमा व्याप्त हुन्छ । त्यसलाई साक्षात्कार गरे पछि शाश्वत् सुख प्राप्त हुन्छ । नामात्वमा हु्रंदैन । अनित्यमा नित्य, चेतनमा चैतन्य, धेरैमा एक र शरीरलाई नै म हुं भनेर भोग प्रति आसक्त हुने परमेश्वरलाई हृदयस्थ रुपमा साक्षत्कार हुन सकेमा शाश्वत शान्ति हुन्छ अन्यथा हुंदैन ।
यस्तो चैतन्य रुप परमात्मा लाई अनुभव मा ल्याएर कसरी शाश्वत शान्ति प्राप्त गर्ने त ?
उत्तरमा– चैतन्यकै प्रकाशमा सारा ब्रहमाण्ड प्रकाशित हुन्छ । चैतन्यको प्रकाश नहुने हो भने सूर्य चन्द्र तारा अग्नि पनि स्वयं प्रकाशित हुंदैनन् । चैतन्यकै प्रकाशाले सबै पदागर्थहरु दृश्य हुन्छन् ।
तृतीय वल्ली
सर्वाश्रय, सर्वाधिष्ठान चैतन्य रुप ब्रह्म भएकोले यसलाई सनातन पीपलको वृक्षरुपमा लिन सकिन्छ । यसको मूल, भित्र निहित छ । र शाखाहरु बाहिर फैलिएका छन् त्यसै आश्रयमा संपूर्ण लोकहरु आश्रित छन् । त्यो चैतन्य ब्रह्म भन्दा पर केही छैन । तिमीले सोधेका प्रश्नको उत्तर यही हो ।
चैतन्यबाट प्राण उत्पन्न हुन्छ । ईश्वरको नियम अनुसार चल्दछ । जन्म मृत्यु आदिको व्यवस्था पनि ईश्वर ब्रह्म चैतन्यबाटै हुन्छ । शरीर छुट्नु अगावै आत्म तत्वलाई जानिएन भने एक शरीरबाट अर्को शरीरमा जन्म लिइरहनु पर्ने हुन्छ ।
चैतन्य आत्म परमात्मको रुप हुंदैन । अव्यक्त हुन्छ । आंखाले देख्न सकिंदैन । हृदय भित्र बुद्धिमा निश्चय गर्नु पर्दछ । यसरी स्वरुपलाई जाने पछि जन्म मृत्युको भ्रम रहंदैन । शरीर व्यक्त हुनु न हुनु भिन्न कुरा हो ।
कर्मेन्द्रिय र ज्ञानेन्द्रिय तथा मन बुद्धि स्थिर हुनलाई योग–परम गति भनिन्छ । तिमीले जान्न खोजेको प्रश्नको उत्तर यही हो । एतत वै तत् ।
संक्षेपमा,
प्रश्न- ब्रह्म छ भन्दै सुन्दैमा ज्ञान कसरी प्राप्त हुन्छ ?
उत्तर- ब्रह्म भन्ने प्रथम श्रवणमा आवश्यक छ । त्यस पछि मन र तत्ववेत्ता गुरुको शरणमा जाने र र निधिध्यासन– त्यसलाई अनुभवमा ल्याउने ।
हृदयमा कामनाका ग्रन्थिहरु हुन्छन् । तिनीहरुबाट –कर्म–उपासना र ज्ञानद्वारा मुक्त हुनु पर्दछ । तब मात्रै शरीर तादात्म्य टुट्तछ । शरीरधारी व्यक्ति तत्व ज्ञान प्राप्त गर्न समर्थ हुन्छ । यही नै आदेश हो । यही नै उपदेश हो ।
यमले यसरी विभिन्न कोण बाट जिज्ञासु नचिकेतालाई संझाए पछि नचिकेताको शरीर मात्र हटेर गयो । म ब्रह्म साक्षी चैतन्य रहेछु र मेरो जन्म मृत्यु रहेनछ । यो बोध तत्कालै भयो । अन्य कसैले पनि यो ब्रह्म विद्या विधिवत् अध्ययन, श्रवण, मनन, निधिध्यासन द्वारा हर्ष, शोकलाई जितेर परब्रह्म परमात्मालाई प्राप्त गर्न सक्छ ।
मृत्युप्रोक्तां नचिकेता अथ लब्ध्वा
विद्यामेतां योग विधिं च कृत्स्नम् ।
ब्रह्म प्राप्तो विरजो अभूद्विमृत्यु
रन्यो अपयेवं यो विदध्यात्ममेव । अध्याय २ । वल्ली ३ । श्लोक १८ ।।
प्रार्थना
ॐ सहनाववतुः सहनौ भुनक्तु सहवीर्यं करवावहै ।
तेजस्वि नावधीतमस्तु माविद्विषावहै।।
ॐ शान्तिः, शान्तिः, शान्तिः ।।

