डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएर ह्वाइट हाउसमा प्रवेश गर्ने तर्खरमा छन्। औपचारिक रुपमा परिणाम आइनसके पनि जित सुनिश्चित भएकाले बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि आफुले गर्ने कामको तयारी थालेका छन्। अमेरिकी राजनीतिमा गएको चार वर्षमा डोनाल्ड ट्रम्पले पारेको चिरा बाइडेनले कम गर्ने अपेक्षा गरिएको छ।
कडा प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने क्रममा बाइडेनले केही कीर्तिमान समेत भंग गरेका छन्। ७८ वर्षीय बाइडेन राष्ट्रपति निर्वाचित हुने हालसम्मकै वयोवृद्ध नेता बनेका छन्। यसअघि यो कीर्तिमान सन् २०१६ मा ७० वर्षको उमेरमा राष्ट्रपति बनेका ट्रम्पको नाममा थियो। त्यस्तै, तेस्रो प्रयासमा राष्ट्रपति पद सुनिश्चित गरेका बाइडेनले हालसम्मकै सर्वाधिक मत प्राप्त गरेका छन्। यसअघि १९८८ र २००८ मा पनि उनले राष्ट्रपतिमा दाबेदारी प्रस्तुत गरेका थिए। तर, दुवै पटक उनी असफल भएका थिए।
झण्डै ५० वर्ष लामो समय राजनीतिमा बिताएका बाइडेनले आफ्नो जीवनमा ठुल्ठूला पारिवारिक दुखान्त र राजनीतिक आरोहअवरोह झेलेका छन्। उनी २० नोभेम्बर १९४२ मा पेन्सलभेनिया राज्यको स्क्र्या,न्टनमा जन्मेका थिए। उनका बुबा कार सेल्सम्यान थिए। तर, १९५० को दशकमा रोजगारी गुमाएपछि उनका बुबा आफ्नो परिवार लिएर छिमेकी राज्य डेलावेयर बसाइँ सरे। बाइडेन त्यसबेला १० वर्षका थिए। बालककालमा भक्भकाउने समस्याका कारण आफूलाई ‘ड्यास’ उपनामले बोलाउने गरिएको तीतो स्मृति बाइडेनसँग छ।
बाइडेनले सन् १९६५ मा युनिभर्सिटी अफ डेलावेयरबाट स्नातक उत्तीर्ण गरेका थिए। त्यसपछि न्युयोर्कको सिराक्युज युनिभर्सिटीबाट कानुनको डिग्री लिए। आफू मध्यमवर्गबाट आएको र आइभी लिगको उत्पादन नभएकोमा बाइडेन गर्व गर्ने गर्छन्। १९६६ मा निलिया हन्टरसँग उनको विवाह भयो। यो दम्पतीबाट तीन सन्तान जन्मिए।
अध्ययनपछि वकिलका रुपमा काम गर्न डेलावेयर फर्केका बाइडेन राजनीतिमा लागे। न्यु क्यासल काउन्टी परिषदमा १९७० देखि १९७२ सम्म उनले काम गरे। १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटर चुनिए। त्यसको एक महिना नबित्दै उनकी पत्नी र एक वर्षीया छोरी कार दुर्घटनामा मा,रिए। उनका दुवै छोरा ग,म्भीर घाइते भए।
त्यसबेला बाइडेन वासिङ्टनमा सिनेटरको नयाँ अफिस सजाउँदै थिए। अचानक फोनमा उनले निलियाको दुर्घटनाको खबर सुने। दुर्घटनापछि उनले सिनेट पद त्याग्ने सोच बनाए। जबकि उनले शपथ समेत लिएका थिएनन्।‘कसरी कुनै व्यक्ति जानाजान आ,त्म,त्या गर्ने निर्णय लिन्छ, जीवनमा पहिलो पटक मैले थाहा पाएँ,’ बाइडेनले पछि भनेका छन्।‘मैले व्यक्तिगत रुपमा चिनेकामध्ये बाइडेन सबैभन्दा दुर्भाग्यशाली र सबैभन्दा भाग्यमानी व्यक्ति हुन्,’ बाइडेनका मित्र टेड कौफम्यानले भनेका छन्।
यो वियोगका कारण बाइडेनले राजनीतिक जीवन नै त्याग्ने सोच बनाएका थिए। तर, ६ महिनाका लागि मात्र प्रयास गर्ने भनेर निकटस्थहरुले सम्झाएपछि उनले पत्नीवियोगको दुई सातापछि शपथ लिए। त्यसपछि लगातार ६ कार्यकाल उनी डेलावेयरको सिनेटर चुनिए। दुर्घटनामा घाइते भएका दुई छोरालाई उनले हुर्काए। जसमध्ये बौ बाइडेन राजनीतिमा लागेर डेलावेयरको न्यायाधिवक्ता बने। तर, सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन क्या,न्स,रका कारण उनको मृ,त्यु भयो।
बाइडेनका अर्का छोरा हन्टर अल्कोहल र ला,गूऔ’षध दु,र्व्य’सनका कारण २०१४ मा अमेरिकी नौसेनाबाट बर्खास्त भए। लगत्तै उनी आफ्ना पिता उपराष्ट्रपति भएकै बेला युक्रेनको एक तेल कम्पनीको बोर्ड सदस्य बनेका थिए। त्यसबेला उनले भ्र,ष्टाचार गरेको आरोप ट्रम्पले चुनावी अभियानका क्रममा लगाएका थिए। सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब्ससँग भयो। उनी आफ्ना पहिलेका पतिसँग सम्बन्धविच्छेदको प्रक्रियामा थिइन्। १९७७ मा बाइडेनले आफूभन्दा ८ वर्ष कान्छी जिलसँग विवाह गरे। १९८१ मा उनीहरुको एक छोरी जन्मिइन्।
सिनेटरका रुपमा बाइडेनले मुख्यगरी विदेश नीति, न्याय र ला,गूऔ’ष,धसम्बन्धी नीतिमा बढी ध्यान दिए। सिनेटको फरेन रिलेसन्स कमिटीमा उनी दुई कार्यकाल प्रमुख रहे। सिनेटरका रुपमा ३० वर्ष कार्यरत रहँदा बाइडेनले विपक्षीसँग पनि गठबन्धन कायम गर्नसक्ने नेताको छवि बनाए। जसका कारण उनी आलोचनाको सिकार समेत बने। १९७० को दशकमा उनले रंगभेदीहरुसँग पनि सहकार्य गरेको तथा १९९० को दशकमा अ,श्वेतहरुमाथि ज्यादती गर्न सघाउ पुर्याउने कानुन बनाएको विषयमा पार्टीभित्रै उनको आलोचना हुने गरेको छ। उनले हालै त्यसमा आफ्नो गल्ती पनि स्वीकार गरेका छन्। सन् २००३ मा इराक आ,क्र,मणको पक्षमा उनले मत दिएका थिए।
सन् १९८८ को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने प्रयास गरेका थिए। तर, उनको भाषणको केही अंश बेलायतको लेबर पार्टीका नेता निल किन्नकको भाषणबाट चोरिएको सार्वजनिक भएपछि उनले सो अभियान त्यागे। सन् २००८ मा पनि राष्ट्रपति बन्ने उनको प्रयास सफल भएन। सो वर्षको जनवरीमा भएको आयोवा ककसमा पाँचौँ स्थान मात्र हात पारेपछि उनी पछि हटे। तर, उम्मेदवार बनेपछि ओबामाले बाइडेनलाई उपराष्ट्रपति बनाउने घोषणा गरे। त्यसपछि लगातार ८ वर्ष उनी अमेरिकाको उपराष्ट्रपति रहे।
बाइडेनलाई ‘मिडिल–क्लास जो’ उपनामले बोलाउने गरिएपनि वास्तवमा उनी करोडपति हुन्। खासगरी उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनको सम्पत्ति बढेको छ। महंगो पुस्तक सम्झौता र प्रचार यात्रामार्फत उनले त्यसयता डेढ करोड डलरभन्दा बढी कमाएको बताइएको छ। डेलावेयरमा रहेको उनका दुई वटा घरको मूल्य ४० लाख डलर रहेको फोर्ब्सले जनाएको छ। उनले प्रतिभाषण ४० हजार डलरदेखि १ लाख ९० हजार डलरसम्म लिएका छन्।

