पुण्यप्रसाद सुवेदी–नेपालको नयाँ नक्सामा भारतद्वारा अतिक्रमित भूमि समावेश गरिएको बिषयमा माननीय सांसद सरिता गिरीको आपतिजनकअभिव्यक्ति अाएपछि आम नेपालीहरुमाझ उनी अहिले निन्दा र तिरस्कारको पात्र बनेकी छिन्। प्राय: सबैले उनलाई घृणापूर्वक दुत्कारिरहेका छन्। सरिता नेपालमा यतिसम्म बिझाएकि छिन् कि उनको नेपाली नागरिकताको खारेजी र देश निकाला सम्मको अावाज उठिरहेको छ।
ठिक यसैबेला हिजोसम्म शंका र अविश्वासको नजरले हेरिएका अर्का विवादास्पद पात्र सरिताकै पार्टीका नेता राजेन्द्र महतो भने सारा नेपालीहरु माझ हाइ हाइ भएका छन्। संसदमा उनको राष्ट्रियता र देशभक्तिको भावनाले अोतप्रोत वक्तव्यले त उनलाई रोल मोडल नै बनाएको छ। राष्ट्रघाती हरुलाई टुँडिखेलमा लगेर झुण्ड्याउँनु पर्छ भन्ने उनको गर्जनको तरङ्ग अझैसम्म सेलाएको छैन। उनलाई अहिले मेडियामा अन्तर्वार्ता दिन र सबको स्याबासी लिन भ्याइनभ्याइ छ। चारैतिर राजेन्द्र महतोको जयगान गुन्जिरहेको छ। उनी अहिले असहाय नेपालीहरुका लागि अाशास्तम्भ बनेका छन्। हिजो महतोको देशभक्तिलाई चिन्न र बुझ्न नसकिएकोमा पापवोध गर्दै नेपालीहरु पश्चातापको अाँसु झारिरहेका छन्।
यसैगरी सरिता र महतोको मधेसवादी पार्टी जसपालाई हेर्ने अाम मानिसहरुको दृष्टिकोणमा पनि परिवर्तन अाइरहेको छ। यो जातियता, छ्यत्रियता, विभाजन र बिखण्डन मार्फत देश डढाउँन नेपालभित्र बसेर विदेशीको काम गर्ने पार्टी होइन रहेछ, यो पार्टीमा देशभक्ति र स्वाभिमान प्रचुर रहेछ, यसको स्वच्छता र पवित्रतामाथि शंका गरेर ठूलो भुल गरिएछ भन्ने भावना धेरथोर फैलिएकै छ। किनभने यो पार्टीले सरितालाई उनको भनाइ फिर्ता लिन भन्यो। किनभने संसदबाट उनलाई बिरोध प्रस्ताव फिर्ता लिन आग्रह गर्यो। किनभने यो पार्टीले संसदमा राष्ट्रियताको पक्षमा मतदान गर्यो। किनभने यो पार्टीका नेताले संसदमा वक्तव्य मार्फत राष्ट्रियता र देशभक्तिको शंखघोष गर्दै सबैलाई तीनछक्क पार्यो। अझ सरितालाई कार्यवाही गर्ने चर्चाले यो पार्टीको देशभक्तिप्रति धेरैजना अाश्वस्त बनेका छन्।

सरिता गिरी प्रकरणमा राजनीतिक गहिराइका रहस्यहरुको पत्तो नपाउँने सिधासाधा मानिसहरू के सोचिरहेका हुन सक्तछन् भने सरितालाई छोडेर जसपा र यसका नेताहरु एकदम ठीक छन्। सरितालाई कारवाही गरेपछि सबथोक ठीक हुनेछ। अनि सबै पार्टी मिलेर एउटै भाका, एउटै लय र एउटै तालमा अघि बढ्दै देशको सुरक्षा र विकास हुनेछ। अहा, कति सुन्दर अनि सुखद सपना!
तर कुरा त्यस्तो होइन। यहाँ भित्र खेल अर्कै छ। हेर्दै जानुहोला, यो मीठो भावनाको शितको थोपा यथार्थको घाम माथि उक्लेसँगै प्याट्प्याटी फुट्नेछ। यो एक्यवद्धताको सपनाको डोरी हाम्रो मोहको तन्द्रा छुट्नासाथ चट्चटी चुँडिनेछ।
नझुक्किनुहोस्, यो एउटा डरलाग्दो र कुटिल मनसायसाथ रचिएको नाटक मात्र हो। राष्ट्रियता जस्तो संवेदनशील विषयलाई अाधार र अवसर बनाएर गरिएको राजनीतिक सम्मोहन ( political hypnotism) मात्र हो। सतहमा सुखद र प्रिय लाग्ने यो नाटकको अन्तर्यमा दुखद अभिष्ट छिपेको छ। यो कुटिल सम्मोहन खेलभित्र नेपालकोे लागि दर्दनाक अनिष्ट लुकेको छ। राजनीति र कुटनीतिमा सबै विषय सहजगम्य र सहजवोध्य हुँदैनन्। बिदेशीहरुको चेसबोर्ड बनेको हाम्रो जस्तो देशको राजनीति बुझ्न सजिलो हुन्न। यो दुरुह हुन्छ। यो बाहिर जस्तो देखिन्छ, भित्र त्यस्तो हुँदैन। भित्र जस्तो हुन्छ, बाहिर त्यस्तै देखिंदैन। बाङ्गो नियतले गरिएको राम्रै जस्तो देखिने कार्यको परिमाण कदापि सकारात्मक हुँदैन।
याद राख्नुहोस्, उनीहरुले चाहेर पनि संसदमा नक्सा सम्बन्धि संविधान संशोधन विधेयकको बिरुद्ध उभिने संभावना कतै थिएन। राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको बिरुद्ध उभिनासाथ उनीहरुको राजनीतिक उद्देश्यको दुखद अवसान अवश्यंभावी थियो। त्यसैले उनीहरूले घुमाउरो पाराले यस विषय वा प्रसंगलाई अाफ्नाे हितमा उपयोग गर्ने रणनीति अपनाए। संविधान संशोधन विधेयक सँगसँगै अाफ्ना पनि मागहरु छिराउँने र पारित गराउँने चाल चले। नेपाललाई परेको अप्ठेरो बेलालाई अवसर सम्झी त्यसैमा खेल्न र भयदोहन ( blackmail ) गर्न उद्यत् रहे। अर्थात अाफ्ना मागहरु पुरा गराउँने सर्तमा मात्र राष्ट्रियताको पक्षमा मतदान गर्ने अड्को थापे। स्पष्ट छ, ससर्त देशको पछ्यमा उभिनु भनेको कृतघ्नता र संवेदनहीनताको पराकाष्ठा हो। कसलाई थाहा छैन होला र, मधेसवादी दलका मागहरु नेपाल र नेपालीको भविष्यलाई जोखिममा धकेल्ने खालका छन्।
अब आउँनुहोस, नक्सा सम्बन्धि संविधान संशोधन विधेयकको पृष्ठभूमिमा तयार पारिएको राजनीतिक नाटकको विवेचना र चिरफार गरौं।
(क) सरितालाई अाफ्नाे अराष्ट्रिय अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएपछि, स्पष्टीकरण मागेपछि र अन्त्यमा पार्टी कारवाही नै गरेपछि उनीहरु साथै उनीहरूको पार्टी जनसाधारणको नजरमा स्वच्छ र देशभक्त ठहरिने छ। उनीहरुको चरित्र, कृयाकलाप र नियतमाथि उठ्ने गरेका प्रश्नहरुको निर्मलिकरण हुनेछ।
(ख) संसदमा सार्वभौमिक अखण्डता र राष्ट्रियताको पक्षमा दिइएको दमदार भाषणको असर जनसाधारणमा जबरजस्त पर्नेछ। र अाम मानिसहरुको उनीहरूप्रतिको धारणा र दृष्टिकोणमा परिवर्तन अाउँने छ।
(ग) यसले उनीहरूको पार्टीको बिस्तारमा सहयोग पुग्नेछ।
(घ) संसदमा राष्ट्रियताको पक्षमा मतदान गरेर सरकारलाई गुन लगाएको सम्झाउँदै उनीहरुले बारम्बार संविधान संशोधन गर्न र अाफ्ना मागहरु पुरा गराउँन दवाव दिइरहने छन्। अर्थात यसले उनीहरूको बार्गेनिङ पावर बढाउने छ।
(ङ) आगामी दिनहरूमा नेपालको भारतसँग अतिक्रमित भूमीको बारेमा विवाद जति पेचिलो हुँदै जानेछ, सोही अनुपातमा उनीहरुले सरकारसँग भय दोहन ( blackmail) बढाउँदै लैजान सक्नेछन्। अर्थात दुई देशको अन्तरविरोध चर्को भएकै मौका छोपेर मधेसमा कथित अान्दोलन उठाउँन अनुकूल वातावरण बनाउन पाउँने छन्। यसबेला उनीहरुले के कुराको प्रचार गर्नेछन् भने उनीहरुले देशलाई सुने ।तर देशले उनीहरुलाई सुनेन।
(च) यो नाटकको सफल मञ्चनको प्रभावले अबको करिब तीन बर्ष पछि हुन जाने संघीय निर्वाचनमा उनीहरू अहिलेको तुलनामा बढी संख्यामा निर्वाचित हुन सक्नेछन्। अहिले भएको उनीहरुको पार्टी एकिकरण, नेकपा र नेका प्रतिको बढदो जन असन्तुष्टि र वितृष्णा, लाखौं भारतीयहरू नेपाली नागरिक बनिसकेको अवस्था आदि सबैले उनीहरुलाई अाशावादी बनाउँन सक्नेछ। सदनमा अपेक्षाकृत प्रभावशाली उपस्थिति बनाउँने र सदन-सडक दुबै मोर्चाबाट नेपाललाई ललकार्ने उनीहरुको सपनालाई साकार पार्न यो नाटकले भरथेग गर्नेछ।
सदनमा ‘राम्रो’ उपस्थिति पश्चात समग्र मधेश एक प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बिस्तार, सेना र प्रहरीमा समानुपातिक प्रवेश जस्ता अनेकौं खतरनाक उद्देश्यकासाथ मधेश आन्दोलन पुन: शुरु गर्ने र परिणामतः अतिक्रमित भूमिको मुद्दा स्वत: अोझेलमा पर्न सक्नेछ।
यसरी जानिबुझिकन सरसल्लाहले नै एउटा राजनीतिक मिसनको निम्ति सरिता गिरी प्रकरण उत्पत्ति गरिएको हो। यस नाटककी प्रमुख पात्र वा शुत्रधार सरिता गिरीलाई उनको बलिदानको उच्च मूल्याङ्कन गर्दै पछि राम्ररी पुरस्कृत गरिनेछ। पार्टी र साराका सारा नेताहरुलाई वेवास्ता गर्दै उनी एक्लैले यस्तो कदम चाल्ने र कारवाहिमा पर्ने मुर्खता गरेको पक्कै होइन।
सरिता प्रकरण सुनियोजित प्रयोग हो। प्रायोजकहरुले परिणाम हेरिकन उनलाई अघि सारेका हुन्। उनको बलिदानले भारतपरस्त नेताहरुको धमिलो छवि धेरै मात्रामा सङ्लिनेछ, उनीहरुलाई राजनीतिमा स्थापित हुन मदत पुग्नेछ, बिखण्डनकारीको दाग लागेको पार्टीलाई धोइपखाली गरी जनतामाझ उभ्याउँन सजिलो पर्नेछ, अागामी निर्वाचनमा बलियो संसदीय उपस्थिति संभव हुनेछ भन्ने जोखाना हेरेर नै चतुर्याइँपूर्वक यो नाटकको रचना गरिएको छ। उनीहरुको चीरकल्पित सपना अात्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेस प्रदेशको स्थापनालाई यो नाटकले योगदान गर्नेछ भन्ने उनीहरूको अाँकलन हो। सरिता प्रकरण भित्र लुकेको रहस्य यही हो।
अन्तर्राष्ट्रिय गुप्तचरहरुको खेल मैदान बनेको हाम्रो जस्तो देशको राजनीति यस्तै र यसरी नै हुन्छ। धेरै टाढा किन जानु, पैंतालिस छयालीस सालदेखि यताका सम्पूर्ण घटनाक्रमहरुलाई केलाउँदा हिसाब निस्किइहाल्छ, कसरी सुन्दर र मनमोहक नाराका अावरण भित्र देशको घात गर्ने योजनाहरु बुनिन्छन्!
यसैले एकजनाको एकछिनको टुनामुनामा बेहोस नबनौं। कसैको एकछिनको कलाकारिताबाट सम्मोहित नबनौं। सम्मोहित भएकै बेला र बेहोस भएकै बेला हो ठगहरुले लुट्ने।
तपाईहरु भन्नु होला यो प्रमाणहीन र निराधार शंका मात्र हो। यसको जवाफमा म यति मात्र भन्न चाहन्छु कि यी पात्र र यिनको कनेक्सन हेर्नुहोस। यिनको चरित्र र कृयाकलाप हेर्नुहोस। यिनको विगत र वर्तमानलाई केलाउँनुहोस्। यिनीहरुले विभिन्न समयमा बोलेका कुराहरुलाई ध्यान दिनुहोस्। उत्तर आफै आइहाल्छ ।
तपाईहरु फेरि भन्नुहोला के कुनै व्यक्ति वा पार्टी सधैं एकनास रहिरहन्छ र? के कुनै व्यक्ति वा पार्टी कहिल्यै देशभक्त हुन नसक्ने हो र ?
मेरो उत्तर हो, सक्छ। किन नसक्नु र! तर रुपान्तरण एकै रातमा हुने चमत्कार होइन। यो विकासको लामो प्रक्रियाबाट गुज्रेको हुन्छ। गुज्रनै पर्छ। यदि तपाईले कसैमा हठात तिलस्मी परिवर्तन पाउँनु भयो भने सम्झनोस, यहाँ केही भयंकर गडबड हुँदैछ।
-हाल लन्डन, बेलायत।

