–कोमलकृष्ण श्रेष्ठ
“बा म निस्केँ है ?” “ढोका खुल्लै छ हेर्नु है ?” “ल ल” भित्रबाट आवाज आउँछ । सानुकान्छा डंगोल । उमेरले भर्खर २२ औँ बसन्त पार गरेको जवान ठिटो । पढाई स्नातक पहिलो वर्ष अध्ययनरत ।
विहान सबेरै भाले बासेसँगै सानुकान्छाको दिन शुरु हुन्छ । आफ्नो बाबुसँग विदा माग्दै “ढोका खुल्लै छ है” भन्दै निस्कने उसको दैनिकी हो । आज पनि सदाझै बासँग विदा मागेर गयो सानुकान्छा । कलेज होइन । बजार । हो बजार ।
सानुकान्छा उमेरले भर्खरको भएतापनि अनुभवले पाको छ । आफ्नो उमेरभन्दा जेठो ब्यवहार गर्न सिकेको छ । पढाईमा औषतको विद्यार्थी भएतापनि जीवन जीउने कलामा अब्बल छ । आफ्ना दुःख भुलेर पनि आफ्नो बा आमाको दुःखमा साथ दिन जानेको छ । आफ्नो उमेरअनुसारको चाहना र आवश्यकतालाई उहिल्यै तिताञ्जली दिइसकेको छ उसले । उसँगैका दौँतरीहरु घुम्न जान्छन टाढा टाढा बेलाबेलामा । चोकको चिया पसलमा बसेर रातको पहिलो प्रहरसम्म गफ गरेर बस्छन् । दशै, तिहार, होली लगायतका चाडबाडमा बडो रमाइलो गर्छन । सानुकान्छा मनमनै सोच्छ ‘‘आहा जिन्दगी‘‘ । मन त सानुकान्छालाई पनि कहाँ नभएको हो र साथीभाईसँग रमाइलो गर्न, टाढा टाढा घुम्न जान, चोकमा बसेर चियाको सुर्की तान्दै रमाइला रमाइला गफ गर्न अनि सबै तनाव भुलेर चाडबाड मनाउन । तर सानुकान्छाले जस्तो जिवन जिउनु परेको छ, त्यो जिवनले सानुकान्छालाई यो सबै कार्य गर्न शतप्रतिशत छुट दिदैन । कारण उ बाँििधएको छ केही जिम्मेवारीबाट । केही दायित्वहरु छन् उसका जसले गर्दा उ आफ्नो रहरलाई कुण्ठित गरी कृतिम मुस्कान सहितको जीन्दगी बाँचिरहन बाध्य भएको छ , नारायणगोपालको गीत जस्तै ‘‘मुटु माथी ढुँगा राखी हाँस्नुप¥या छ….‘‘ ।

आज पनि गयो सानुकान्छा सबेरै बजार । बजारबाट मौसम अनुसारको तरकारीको भाउ मोलमोलाई गर्न थाल्यो । ‘‘साउजी बन्दाकोभी ढकको कसरी हो ? अनि प्याज नि ? १००० रुपियाँ ! कसरी वेच्नु हो यतिमा लगेर ? महँगो भयो अलि मिलाउनुस न जहिल्यै आउने ग्राहकलाई पनि तपाइ त ।” मोलमोलाइको क्रम सकियो यतिञ्जेल सानुकान्छाले दिनभरीलाई बेच्न पुग्ने तरकारी धोक्रोमा पोको पा¥यो अनि भाडाको गाडीमा लोड गरी सोझियो घरतिर ।
कृष्णमान डंगोल । उमेरले साठी र पाँच वर्ष लागेको । सानुकान्छाको वुवा । जवानीमा बडो मेहनति मान्छे । आमाबावुको एक्लो छोरो । घरमा ठूलोबाबु र उसका दुई भाई छोरा । कृष्णमानको आमाबाबु उ १२ वर्षको हुँदा हैजाले वित्नुभयो । त्यसैले प्राथमिक तह भन्दा बढी पढ्न पाएन । ठूलोबाबुले हुर्काएका कृष्णमान सानै देखि बडो मेहनति । १५ वर्षका हँुदा ठूलो बासँग तराईतिर ब्यापार गर्न जान थालेको । पछि ठूलोबा ब्यापार जान छाड्नु भो तर कृष्णमान निरन्तर ब्यापारमा लागिरहे । ब्यापारबाट आएको पैसा ठूल्बालाई दिन्थ्यो, साँचेर राख्न । दिन महिना वर्ष वित्यो ब्यापारबाट कृष्णमानले राम्रै पैसा जम्मा पारेको थियो तर भाग्यको खेल उ ब्यापार गएको बेलामा उसको ठूल्बा अचानक वित्नुभयो । फर्केर आउँदा उसका ठूल्बासँगै उसले जोहो गरेर ठुल्बालाई राख्न दिएको जमापुँजी पनि जलेर खरानी भयो । उसका भाईहरुले बेइमान गरे । कृष्णमानका छोराहरुले बासँग कुनै पैसा नरहेको भनी कृष्णमानलाई सुनाए । “पैसा राख्न दिएको कुनै प्रमाण भए देउ” भनी प्रमाण मागे ।
आफन्तलाई सफा मनले राख्न दिएको पैसाको के प्रमाण हुन्छ उ वेला । कृष्णमानले मन हारे आफ्नै ठूल्बाका सन्तान हुन अरुले खाएका होइनन । भगवानले हेर्लान नि भनी आफ्नो मन बुझाए । झगडा गरेनन् । त्यसपछि दुईतिन पटकसम्म कृष्णमान ब्यापारकोलागि तराई झर्यो । केही रकम फेरी जम्मा गरेपछि विहे ग¥यो, विहेपछि सानुकान्छा जन्मियो अति तराई झर्ने क्रम पनि रोकियो । अब कृष्णमान ब्यापारकोलागि बाहिर नजाने भयो । घरमा ठूल्बाका छाराहरुसँग अँशबण्डा भयो कृष्णमानका भागमा बाटोछेउको दुईआना जग्गामा बनेको पुरानो घर प¥यो । कृष्णमानले चित्त बुझायो । ब्यापार गर्न तराई जान छाड्यो, खेती किसानी गर्न खेत थिएन र जानेको पनि थिएन । कृष्णमानले अब गर्ने के त केही काम त गर्नुप¥यो परिवार पाल्न । कृष्णमानले तरिका निकाली हाले । उसलाई अँशबण्डामा भागमा परेको घर मुख्या बाटो नजिकै थियो । मानिसको ओहोर दोहर राम्रै हुन्थ्यो । वरपर मानिसहरुको बस्ती पनि विस्तारै बढ्दै गैरहेको थियो । त्यसैले कृष्णमानले सबैलाई दैनिक जिवनमा नभैनहुने तरकारी ब्यवसाय गर्ने विचार गरे र आफ्नो घरमा राखे आफ्नो बस्तीको पहिलो तरकारी पसल ।
तरकारी ब्यवसाय राम्रै चल्दैथियो । त्यो बेलाको समयमा दिनको ८÷९ सय रुपैयाँसम्म ब्यापार हुन्थ्यो । चन्द्रमाझै मुहार भएकी, ३२ गुण नभएतापनि शीलस्वभावले भरिपूर्ण श्रीमती, लोखर्के जस्तै चुलबुले छोरो अनि सन्तोषजनक ब्यापार । बस् यो भन्दा अरु के चाहियो र जीवन राम्रोसँग बाँच्नकोलागि ? कृष्णमानलाई दुनियाँदारीसँग केही मतलब थिएन । सोझो नेवारको छोरो आफ्नो कामसँग काम राख्थ्यो । कसैलाई चित्त दुखाउने बानी थिएन । पसलमा आउने हरेक ग्राहकलाई खुशी बनाएर पठाउँथ्यो । पापधर्मको खयाल राख्थ्यो । बरु दुई पैसा आफु कम खान्थे तर गरिब दुखीलाई दुई पैसा सस्तोमा तरकारी दिन्थे । आफ्नो पसलबाट उधारोमा तरकारी लग्नेहरुसित समेत पैसा माग्दैनथे, धर्म हुनेले बेलैमा तिर्थे नहुनेले तिर्दैनथे । बरो मनकारी मानिस थिए कृष्णमान ।
समयक्र यसरी नै चल्दै थियो तर अचानक ०४५ साल भदौ ५ गते सारा नेपाल हल्लिने गरी भुकम्प गयो । देशका अधिकांश ठाउमा धनजनको क्षति भयो । कृष्णमानको घर पनि त्यो भुकम्पले जीर्ण बनायो । बस्नै नहुने त होइन तर फेरी पनि त्यस्तै प्रकृतिको भुकम्प गएमा अब त्यो पुरानो घरले थेग्न सक्दैन भन्ने निक्र्योल कृष्णमानको थियो । त्यसैले कृष्णमानले आफुले मेहनत गरी कमाएर बचत गरेको कही रकम र केही रकम ऋण गरी पुरानो घर भत्काएर नयाँ बनाउने सोच बनायो ।
कृष्णमानको छोराले पनि पसलमा केही सघाउने सक्ने भइसकेको थियो । नयाँ घर बनाएपछि एक ठाउँमा आफूले पसल राख्ने र अर्को पसल भाडामा लगाउने अनि भाडाबाट आएको रकमले घर खर्च चलाउने र आफुले कमाएको पैसाले छोराको भविष्य बनाउने सुनौलो योजना कृष्णमानले बनाएको थियो । तर उसको सुनौलो सपनामा तब बज्रपात पर्यो जब उ घर बनाउने स्वीकृति लिनको लागि स्थानिय निकायमा गयो । उसले स्थानिय अधिकारीबाट के जावफ पायो भने कष्णमानको घर सडकसँगै छ र सरकारले अब विकासको लागि सडक विस्तार गर्दै छ अनि उसको घर पनि सडक विस्तारको मापडण्द भित्र पर्यो त्यसैले नयाँ घर बनाउने अनुमति दिन मिल्दैन । कुनै पनि समयमा सरकारले उसका घर सडक विस्तार गर्नको निम्ती भत्काउन सक्छ ।
कृष्णमान छाँगाबाट खसेजस्तै भयो यो सुनेपछि । उसको आफ्नो घरलाई सरकारले कुन बेला को सँग सोधेर सडक विस्तारको मापदण्डमा पार्यो उसलाई केही जानकारी थिएन । एक मनले यस्तो कुरा हुनै सक्दैन भन्ने पनि लाग्यो उसलाई । तर वरिपरी छरछिमेकसँग सोधखोज अनि बुझ्बझारथ गर्दा थाहा भयो यो त सही हो रहेछ । कृष्णमानलाई जस्तै अन्य धेरै स्थानियलाई यो कुरा थाहा थिएन । अब थाहा भयो ।
कृष्णमानको सारा सपना चकनाचुर भयो । सम्पतिको नाममा त्यही एउटा घर थियो त्यो पनि सरकारले भत्काइदियो भने कहाँ बस्ने, परिवारलाई कहाँ राख्ने, फेरी के काम गर्ने ? कृष्णमानलाई एकै क्षणमा आफ्नो गाँस वास, कपास छिन्न लागेकोमा बडो तनाव भइरहेको थियो । कृष्णमान दिनरात खाली त्यही सोचमा एकोहोरो दुखित भएर बसिरहन्थ्यो । श्रीमतीले सोधेमा केही भाको छैन भनेर टारिदिन्थ्यो । आफ्नो पीर आफैमा राखेर अब के गर्न सकिन्छ भनेर सोचिरहन्थ्यो । यति बेलासम्म कृष्णामानको छोराले पनि बाबुलाई केही पीर परिरहेको कुरा शँका गरिसकेको थियो । कारण बाबुको ब्यवहार पहिलेजस्तो थिएन । अनुहार अँध्यारो हुन्थ्यो । सानो सानो कुरामा पनि झर्को मान्न थाल्नुभएको थियो । परिवारसँग नबसी एक्लै एक्लै बस्न थाल्नुभएको थियो । त्यसैले सानुकान्छालाई बाबुलाई केही भयो कि भन्ने डर र पीर दुबै लागिरहेको थियो ।
एकदिन कृष्णमान पसलकोलागि तरकारी दिन विहानै बजार गएका थिए तर मध्यान्नको १२ बजिसक्दा पनि फर्केनन् । जहिल्यै विहान सातै बजे सामान लिएर घरमा आइपुग्ने मान्छे १२ बजिसक्दा पनि नआएपछि उसको श्रीमती र छोरा दुवैलाई पीर पर्यो । छोरा सानुकान्छा आफ्नो बाबु खोज्न बजार तिर गयो साहुसँग सोधखोज गर्यो तर बाबु त विहानै तरकारी गाडीमा लोड गरेर गएको जवाफ पाए । अब भने सानुकान्छाको मनमा चिसो पस्यो र उ सरासर प्रहरीकोमा गयो र आफ्नो बाबु हराएको जानकारी दियो । प्रहरीले तुरुन्त उसको बाबुको विवरणसहित मानिस हराएको भनी अन्य आफ्नो निकायहरुमा खबर पुर्यायो । केही छिन पछि नै थानकोट प्रहरी चौकी बाट खवर आयो कि एउटा मानिस फेला परेको छ भनेर । सानुकान्छालाई अचम्म लाग्यो “बा कसरी थानकोट तिर पुगे ?” सानुकान्छा प्रहरीसँग तुरुन्त थानकोट चौकी पग्यो । अचम्म मान्दै हेर्यो फेला परेको मानिस अरु कोही नभइ उसकै बाबु कृष्णमान रहेछ । उसले बाबुलाई किन यहाँ आउनुभको भनि सोध्यो तर जवाफ आफु कुन वेला यहाँ पुगेको यादै नभएके भनी जवाफ दिए । “अनि तरकारी खोई त ?” सानुकान्छाले सोध्यो । तरकारी गाडीमा हालेकोसम्म याद रैछ बाबुलाई तर कुन गाडीमा हाले यादै रैनछ । तरकारी एउटा गाडीमा लोड गरेर आफु अर्कै गाडीमा चढेछन् । प्रहरीकोबाट आफ्नो बाबु बुझिलिएर सानुकान्छा घर फर्कियो ।
घर पुगेपछि सानुकान्छाले बाबुलाई केरकार गर्न थाल्यो । “के भयो त्यस्तो आफ्नो घर जाने बाटो समेत भुलेर अन्तै पग्यौ ?” “बाबा तपाईलाइ के भयो भन्नु त ?” भन्ने इच्छा त थिएन कृष्णमानलाई तर छोराले नसुनी नछोड्ने भएपछि आफ्नो पीडा पोख्यो । सरकारले सडक विस्तारको नाममा आफ्नो घर भत्काउन लागेको र त्यसैले गर्र्दा आफूलाइ चिन्ता लागेको कुरा छोरा सामू भने । सानुकान्छालाई पनि एक छिन त विस्वासै लागेन । होइन होला जस्तो लाग्यो तर बाबुले भनेको कुरा विस्वास नगर्नु पर्ने कारण पनि थिएन । सानुकान्छाको मन पनि भारी भएर आयो तर बाबुको तनावलाई बढावा दिने उसको मनसाय थिएन त्यसैले “ह्या बा केही पनि हुदैन । सरकारले त्यति कै कहाँ हाम्रो घर जग्गा लिन्छ र लिए पनि हामीलाइ अरु केही ब्यवस्था त गरिदिइहाल्छ नि किन बेकारमा पीर लिनुभएको ? ल पीर लिनु पर्दैन म छदैछु नि ।” सानुकान्छाले बाबुलाई ढाढस त दिए तर आफै मनमनै अब के गर्ने भन्नेमा भने अल्लमल्लमा परे ।
सानुकान्छाले विचार गर्यो कि अब बाबुलाई एक्लै विहान विहान तरकारी लिन पठाउन ठिक छैन । अब बाबुको जिम्मेवारी आफूल लिनुपर्छ भन्ने ज्ञान उसलाई भइसकेको थियो । त्यही बेलादेखि उसले घरपरिवार र पसलको जिम्मा लियो र पढाई सँगसँगै आफ्नो पारिवारिक जिम्मेवारी पनि आफ्नो काँधमा लिन थाल्यो ।.
सानुकान्छा विहान बजारबाट गरकारी लिएर सातै बजे घर आइपुग्छ । पसल बाबुले खोलिसकेको हुन्छ अनि विहान ११ बजेसम्म बाबु छोरा पसलमै ब्यस्त हुन्छन् । त्यसपछि पसल बन्द गरेर सानुकान्छा कलेज जान्छ । कलेजबाट ३ बजे फर्किन्छ खाजा खान्छ अनि फेरी पसलमा । यस्तै गरी चलिरहेको छ सानुकान्छो दिनचर्या । सानुकान्छा सकेसम्म बाबुलाई एक्लै छाड्दैनन् । पढ्न जाने समयमा पनि आमालाई सम्झाएर जान्छ कि बाबुलाई एक्लै नछाड्नु भनेर । विभिन्न कामकुरामा भुलाएर आफ्नो बाबुलाई सडक विस्तार गर्दा आफ्नो घर भत्काउँछ भन्ने कुरा मनमा नखेलाउने कोसिस गर्छ सानुकान्छा । केही हदसम्म सफल पनि हुन्छ तर ढुक्क हुनसक्ने स्थिति थिएन । यही चिन्ताको कारणले कृष्णमानको स्मरण शक्ति पनि कमजोर हुँदै गएको छ । आफ्नो स्वास्थ्यको पनि खयाल राख्न छाड्न थालेको छ । समग्रमा सानुकान्छालाई थाहा भइसकेको थियो कि उसको बाबुलाई डिप्रेशन भन्ने रोगबाट ग्रसित भइसक्नुभएको छ भनेर ।
सानुकान्छ विस्तारै विस्तारै सरकारले गर्न लागेको सडक विस्तार बारे बुझ्दै छ । के कारणल ? , कसकालागि ? र कहाँ कहाँ ? यस्ता सडक विस्तार गर्दैछ यो सरकारले भनेर विभिन्न किसिमका सञ्चार माध्यम , बुद्धिजीवीहरु, सम्बन्धित निकायहरुमाबाट आफूले सकेजति जानकारीहरु सँकलन गर्छ । सरकारले विकासको लागि भनेर उसको ठाउमा मात्र होइन नेपालका विभिन्न ठाउँमा अझ विशेष गरी काठमाठौँ उपत्यकाका पुराना पुराना बस्तीहरुलाई असर पुग्ने गरी सरकारले सडक विस्तार गर्न लागेको कुरा थाहा पायो ।
उसलाई लागेको थियो उसको बाबु एक्लै मात्र यो कुराले विरामी पर्नुभएको थिया तर होइन रहेछ । विकासको नाममा गर्न लागेको सडक विस्तारले उसको मात्र होइन रहेछ धेरैको घर परिवारमा कोही न कोही मानसिक रुपमा विक्षिप्त भएका रहेछन् । अझ उसले त के सम्म थाहा पायो भने कुनै एउटा ठाउँमा सडक विस्तारले आफ्नो घरजग्गा लाने भयो भन्ने पीर थाम्न नसकेर आत्महत्या समेत गरिसकेको रहेछ । “धन्न ! मेरो बुबाले यस्तो कदम चाल्नु भएन ।” सानुकान्छा मनमनै आफैलाई भन्छ । यसको बारेमा थप बुझदै जाने क्रममा सानुकान्छालाई कसैले दयाराम श्रेष्ठलाई भेट्ने सुझाव दिन्छ । सानुकान्छा दयारामलाइ भेट्न उसको बासस्थान खोज्दै जान्छ र असनको कुनै एक गल्ली भित्र दयारामको घर भएको जानकारी पाउँछ अनि अनि समय मिलाएर एकदिन उसलाई भेट्न जान्छ ।
दयाराम श्रेष्ठ पेशाले शिक्षक अनि कानुुन ब्यवसायी पनि । टोलबासी सबैले उनलाइ दयाराम माड्साब भनेर सम्बोधन गर्दथे । आफ्नो टोलका सबैभन्दा जुझारु र जोसिला युवा थिए दयाराम । हरेक सामाजिक कार्यमा साथ र सहयोग दिने बानी भएका । कसैसँग नडाराउने स्वभावका । सहीलाई सही र गलत लाई गलत भन्ने हिम्मत भएका मानिस थिए दयाराम माडसाब् । आफ्नै घर नजिकैको सरकारी विद्यालयमा दशौ कक्षामा विज्ञान विषय बढाउथे । करिब ३ वर्ष अगाडी यस्तै सडक विस्तारको निहुँमा उहाँले आफ्नो ५ आना पुख्र्यौलि जग्गा गुमाउनु परेको थियो । त्यसवेला पनि उनले प्रतिकार नगरेका होइनन् तर समाजमा चेतनाको कमी, आफैमा पनि काुननी र प्राविधिक ज्ञानको कमीले गर्दा उहाँले आफ्नो जमिन गुमाउनु परेको थियो । त्यस पछि उहाँले आफूले जस्तै अरु कोही सोझा साझा मानिसले एन नियम निति र कानुन नबुझेकै कारणले आफ्नो सम्पति गुमाउन नपरोस् भन्ने हेतुले कानुन विषय बढ्नु भयो र आफ्नो शिक्षण पेसा र कानुनी ब्यवसाय सँगसँगै गरिरहनुभएको थियो ।
“दायराम दाई, दयाराम दाई” , बोलाउँदै उ घर भित्र जान्छ । “को हो ?” घरको माथिल्लो तलाबाट आवाज आउँछ । “म सानुकान्छा ।” उसले बोलेको सायद घरभित्रको मान्छेले सुन्दैन । “को हो ? माथि नै आउँदा हुन्छ ।” सानुकान्छा माथि जान्छ । “दयाराम दाईलाइ भेट्नु पर्ने थियो ।” सानुकान्छा अलि अप्ठ्यारो मान्दै बोल्छ । अगाडीको मानिसले जवाफ दिन्छ “ए म नै हुुँ दयाराम, मैले त तिमीलाई बाबुलाइ चिनिन् नि । के काम थियो बाबु ?” सानुकान्छाले आफ्नो परिचय दिँदै आफ्नो घर सडकको मापडण्दमा परेको, यसकारणले आफ्नो बाबुको स्वास्थ्य स्थिति विग्रिएको लगायतका कुरा बताइ आफू यस बारेमा थप जान्न बुझ्न चाहेको कुरा दयारामलाई बतायो ।
दयारामले सानुकान्छाको सम्पूर्ण कुरा सुुनिसकेपछि सानुकान्छालाई आफूले जाने बुझेका र अहिल्यसम्म विकासको नाममा भइरहेको सडक विस्तारको सम्पूर्ण अवस्थाहरु सुनाए, बुझाए । सानुकान्छाले आफ्नो क्षमताले भ्याएसम्मका कुरा बुझ्यो । त्यस पछि सानुकान्छा दयारामसँग विदा भइ आफ्नो घर तिर लाग्यो ।
घर पुग्दा आमा र बुवा पसलमा काम गर्दै हुनुन्थ्यो । सानुकान्छाले ढोकैबाट आफ्नो बाबुको अुनहार हेर्यो । ग्राहकसँग कुराकानी गरिरहेको बाबुको हसिलो मुहार भित्रको पीडा, चिन्ता र सकसलाई नियाल्ने कोसिस गर्न खोज्यो तर सकेन । दुइटै आँखाबाट बर्रर आँसु आए । आँसु पुछे । उसले फेरी आफ्नो आमाको मुहार हेर्यो, आमालाई केही ठूलो आश थिएन सिवाय आफ्नो श्रीमान र छोराको माया अनि खुशी । उसै पनि आमा भनेको मायाको खानी यिनलाई मात्र दुइटा कुरा आउँछ कि दिन खोलेर मायाँ बाड्ने कि अँगालो भरी मायाँ साँच्ने । बस् यिनलाइ यति भए पुग्छ । सानुकान्छाले आफ्नो घरलाई नियाल्यो । चारै तिर नियाल्यो । झ्याल, ढोका, बरण्डा, कौसी, । “आहा ! कति राम्रो मेरो घर ।” आफु जन्मे हुर्केको आफ्नो घर उसलाई आजजस्तो राम्रो कहिल्यै लागेको थिएन । या भनौ उसले आफ्नो घरलाई अहिलेसम्म यति गहन दृष्टिले हेरेकै थिएन ।
रातको खाना खाइवरी सानुकान्छा सत्ने तरखरमा छ । ओछ्यानमा जानुभन्दा अगाडी विस्तारै आमा र बाबुको कोठा बाहिर पुगेर हेर्छ । बुवा निदाउने कोसि गर्दै खाटमा पल्टिसक्नुभएछ । आमा सुत्नु भएको रहेनछिन् । सानुकान्छालाई देखेर आफ्नै भाषामा छोरासँग बोलिन् “किन बाहिर आएको सुत्ने बेला भएन ?” “अँ म ट्वाइलेट जान लाको थिएँ ।” सानुकान्छाले बाहाना बनायो । “तपाई किन नसुत्नु भएको ? वुवा निदाउनुभयो ?” सानुकान्छाले एकै सासमा सोध्यो । “बुवा निदाइसक्नु भयो भोली पुजा गर्नलाई बत्ती सकेको रहेछ अलिकति काटौँ भनेर बसेकी ।” हातमा भएको कपासको डल्लो देखाउँदै सानुकान्छाको आमाले भनिन् । “ल सुत्नु है आमा” भन्दै सानुकान्छ कोठामा फर्कियो । ओछ्यानमा पल्टियो ।
सानुकान्छा निदाउने असफल प्रयास गर्दै थियो । अघि दिउँसो दयारामले भन्नु भएको कुराहरु मनमनै खेलाउँदै थियो । उसको मनमा अमmै पनि अनेक प्रश्नहरु थिए । अनेक जिज्ञासाहरु थिए मेटाउन बाँकी । सानुकान्छा दयाराम दाइले बताएका कुराहरुलाइ लिएर आफैले आफ्नै मनसँग प्रश्नहरु गरिरहेको थियो ।
“मेरो वुवा त मात्र प्रतिनिध पात्र हुनुहुन्छ । यिनी जस्ता कति वुवाहरु हुनुहुन्छ होला जो आफ्नो जिवनको उत्तराद्धमा घरबार विहिन हुनुपर्ने मानसिक तनावमा बाँचिरहनुभएका छन् ?”
“म जस्ता कति जाना सानुकान्छा होलान जो आफ्नो भविष्य बनाउने अमूल्य समयमा परिवारको जिम्मेवारीको बोझ मुनी पिल्सनु परिरहेको होला ?”
“विकासको नाम दिएर हजारौँ वर्षदेखि बसोवास गरिरहेको स्थानियहरुलाई उठिबास लगाई सरकार कस्तो विकास गर्न खोजिरहेको छ ?”
“विकासको नाममा सडक विस्तार गरि कुनै एउटा जाति विशेषको अस्तित्व नामेट गर्न किन लागिरेछ सरकार ?”
“दयाराम दाईको भनाई अनुसार हाम्रो देशको सँविधानमा समेत कुनै पनि नागरिकलाइ घरबार विहिन बनाउन पाइदैन भन्ने कानुन छ । नागरिकको सम्पत्तिको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भित्र पर्छ तर किन राज्यले नै जनताको घरवार गैर कानुनी रुपमा लुट्न लागिरहेको छ ? के राज्यलाइ कानुन लाग्दैन ?”
“पुर्खाले आर्जेको मठ मन्दिर, पाटी, पौवा, ढुँगेधारा, सत्तल, लगायतका सम्पदाहरु मासेर सरकारले विकासको कुन नमूना बनाउन लागेको छ ?”
“नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा किन केन्द्रिकृत विकास मात्र गर्न खोजिरहेका छन् ?”
“काठमाडौँ उपत्यका उसै पनि जनघनत्वको हिसावले धेरै जनसख्या भएको ठाउँ भइसक्यो । केही प्रकृतिक विपत्ति आइपरेमा यहाँको स्थिति सम्हालिनसक्नु हुन्छ तर पनि किन सरकारले यहाँ नयाँ नयाँ वस्ती बसाउन खोजिरहेको छ ?”
“के साँघुरा बाटाहरु मात्र विकासका बाधक हुन त ?”
“के चौडा र चिल्ला सडक मात्र विकासका पर्याय हुन त ?”
सइइय.. सुस्केरा हाल्छ सानुकान्छा । कोल्टे फेर्छ । यसो घडीमा नजर डुलाउँछ । “ओहो ! १२ बज्न लागिसेकेछ । अब त सुत्नु पर्छ । ” सानुकान्छा मनमनै भन्छ । झयालको डिलमा भएको मिनिरल वाटरको बोटलमा राखेको पानी घटघट् पिउँछ । सिरक ओढछ अनि फेरी निन्द्रादेवीको काखमा जाने कोसिस गर्छ । मनै त हो जति बाधेर राख्न खोज्छ फुत्किहाल्छ । केही नसोचु भन्छु सोचिहाल्छ । फेरी पनि एक चोटि प्रश्नहरुको लामलाग्छ सानुकान्छको मनमा ।
“हुम्ला जुम्लामा मानिस सितामोल नपाएर मर्छन । त्यहाँको स्वास्थयको बारेमो सोच्ने कस्ले ?”
“२१ औँ शताब्दिमा पनि हाम्रो देशको कुनाकाप्चामा मोटरबाटो नभएकै कारणले सत्केरी आमाले अकालमा ज्याल गुमाउनु परिरहेको छ । जिम्मेवार निकायले त्यहाँको विकासको बारेमा सोचेको खै ?”
“विश्वभर कृषी र औधोगिकरणको लहर चलिराखेको छ तर हाम्रा गाउँघरका विगाहा का विगाहा जमिन बाँझै राखि युवाहरु विदेश पलायत भइरहेका छन त्यता तिर ध्यान दिएको खोई ?”
“विश्वका अनेकौँ देशहरु जब बस्ती विकासको प्राथमिक खाका कोर्नमा लागिरहेका थिए त्यस समयमा नै हाम्रा पुर्खाहरुले आफ्नो बुद्धि विवेकले काठमाडौँ उपत्यकालाई विकसित बस्तीको रुपमा स्थापित गरिसकेका थिए । यहाँ खानलाई अन्नको कमी थिएन, पिउनलाई ढुँगेधारा, आराम गर्नलाई पाटीपौवा, सिचाँइको लागि कुलो, हावाका लगि खुल्ला परिसर, जीवजन्तुकोलागि चरण क्षेत्र, धर्मकर्मको लागि मठ मन्दिर, सामाजिक कार्यकोलागि निति नियम, जात्रा, मेला के थिएन र के छैन काठमाडौँ उपत्यकामा ? तर आज विकासको नाममा यी सबै पुर्वाधार को विनाश गर्न किन तल्लिन भएर लागेका छन यी कमिसनका भोकाहरु ?”
“विना कुनै छलफल विना कुनै अध्ययनले गरिने विकासले म, मेरो परिवार र समुदाय मात्रै होइन मेरो समुदायसँग जोडिएको सँस्कार, भाषा, सँस्कृति, मुल्य र मान्यताको पनि विनाश हुन्छ । त्यसको भर्पाइ कस्ले गर्ने ?”
“जनताको लागि जनताले चुनेको सरकारले जनतालाई यस्तो अन्याय गर्न कानुनले छुट दिन्छ हाला त ?”
यी र यस्तै प्रश्नहरुसँग जुहारी खेल्दै सानुकान्छा निदाएछ । सानुकान्छा अहिले गहिरो निन्द्रामा छ । सायद कुनै सपना देख्दै छ । निन्द्रामा सानुकान्छा बर्बराउँछ, “बा म निस्केँ है ? ढोका खुल्लै छ हेर्नु है ?”

