बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका १८ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। उनीहरुलाई गएराति डिस्चार्ज गरिएको छ।
बिपी प्रतिष्ठानबाट डिस्चार्ज भएका १८ जना झापा र धरानका रहेका छन्। उनीहरुको दुईपटक पीसीआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।
उनीहरुमध्ये धरानकी एक जना महिला र १७ जना झापाका रहेको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार, सबै जना खुशी रहेका छन्।
उनीहरुको धरानका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक डा।मौरीशंकर साहलगायतले बिदाइ गरेका थिए। घर फर्किदा उनीहरुले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए।
अझै ८० जना प्रतिष्ठानको आइसोलेसनमा रहेका छन्। उनीहरुको उपचार चलिरहेको छ। सबैको अवस्था सामान्य रहेको जनाएएको छ।
उनीहरुसँगै निको भएर घर फर्किने संक्रमितको संख्या दुई सय ३९ पुगेको छ। यस अघि दुई सय २१ जना निको भएका थिए।
मंगलबारसम्म नेपालमा संक्रमितको संख्या एक हजार आठ सय ११ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाबाट आठ जनाले ज्यान गुमाएका छन्।
कुन प्रदेशमा कति कोरोना संक्रमित ? हेर्नुहोस् ग्राफ
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा दिनदिनै बढ्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अद्यावधिक विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका जनाएका छन् ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरू ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरू परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टाइनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।
सर्लाहीका २१ जनामा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका संक्रमितहरू १३ देखि ४० वर्षका पुरुष रहेका छन् ।
सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका संक्रमितहरू १६ देखि ४२ वर्षका छन् ।
धनुषामा ६ जना र महोत्तरीमा २ जना संक्रमित थपिएका छन् । सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


