“डा. रवीन्द्र पाण्डेको अध्ययन अनुसन्धानले कोरोनाबारे नेपालको स्थिति यस्तो छ , सबैले पढौ मनन गरौ !”
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ/ नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन – आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् । एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ । यसले आम मानिसमा चिन्ता बढाएको छ । मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ ।
-नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साढे ३ महिना भयो । यो अबधिमा ६ बर्षको बालिकादेखि ८१ बर्षकी हजुरआमा संक्रमित भएका छन् । ६५ बर्षकी दीर्घ रोग भएकी बाग्लुंगकी आमा पनि संक्रमित हुनुभएको छ । खुसीको कुरा के छ भने एक जना संक्रमितलाई पनि आइसीयुमा राख्न परेको छैन, भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन । कसैको पनि मृत्यु भएको छैन ।
-२/३ वटा केस बाहेक अरु संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । कोहि पनि गम्भीर भएका छैनन् ।
-बिरामी भएर तथा अस्पताल पुगेर जांच गर्दा कोरोना संक्रमण देखिएको छैन । विदेशबाट आएका केहि संक्रमित आफै कोरोना संक्रमण टेस्ट गर्न अस्पताल गएका थिए भने अधिकांश संक्रमितलाई स्थानीयको उजुरीको आधारमा, क्वारेन्टाइनमा बसेका मध्ये परिक्षण गर्दा तथा कन्ट्याक्ट ट्रेसिंगको आधारमा रोग पत्ता लगाइएको छ ।
-एकै परिवारमा कोहि संक्रमित छन्, कोहि संक्रमित छैनन् ।
-कोरोना संक्रमण भित्रभित्रै भुसको आगो भएको छ कि भन्ने शंका ब्यापक छ । तर यो सत्य होइन । संक्रमण धेरै फैलिएको भए उपचार खोज्ने, अस्पताल जाने, आइसीयुमा भंर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने थियो । यसबाट भन्न सकिन्छ कि संक्रमित छन्, तर ठूलो संख्यामा छैनन् ।
-नेपालमा देखिएको कोरोना संक्रमण अरु देशमा भन्दा फरक छ । मलाइ लाग्छ, हामीकहाँ आएको कोरोना भाइरसको स्ट्रेन निकै कमजोर छ । हाम्रो हावापानी, खानपिन, परम्परा आदिको कारण पनि यहाँको कोरोना भाइरस घातक नदेखिएको हुनसक्छ ।
-नेपालका अनुसन्धानकर्ताले हामीकहाँ देखिएको कोरोना भाइरसको जिनम टेस्ट गर्न बाहिर पठाउनु पर्दछ । यसबाट थाहा हुन्छ कि अमेरिका, बेलायत, युरोप आदि देशमा फैलिएको कोरोना भाइरस र नेपालमा देखिएको कोरोना भाइरस एकै प्रजाति हो कि फरक हो ? भन्ने तथ्य ।
-उदयपुर, बिरगंज र नेपालगंजमा एकै समुदायमा धेरै संक्रमित छन् । यसको कारण सामाजिक दुरी कायम नभएकोले मात्र हो कि अन्य कुनै जेनेटिक कारण छ ? यसको अनुसन्धान हुनु जरुरी छ ।

-विश्व तथ्यांक हेर्ने हो भने, WHO, CDC आदिको रिपोर्ट हेर्ने हो भने एकजना संक्रमितले २ देखि ३ जनालाई मात्र संक्रमण सार्न सक्दछ । चीनको बुहानमा कोरोना संक्रमण पिकमा पुग्दा एक संक्रमितले औसतमा ५ जनालाई सारेको बताइएको थियो । केहि समयपछि बुहानमा एक संक्रमितले ४ जना, ३ जना हुँदै सार्ने डर घटेको थियो । तसर्थ एकजनाले हामीले कल्पना गरेजस्तो धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दैन ।
-नेपालमा संक्रमित अधिकांश विदेशबाट आएका व्यक्तिलाई देखिएको छ । लकडाउन, क्वारेन्टाइन आदिको कारण उनीहरु समुदायमा निस्किन पाएनन् । कोरोना भाइरस मान्छेलाई लाग्ने बित्तिकै र १५ दिनभित्र जति अरुलाई संक्रमण सार्न सक्छ, १५ दिनपछि सार्ने क्षमता घट्दै जान्छ । त्यसैले बाहिरबाट आएका व्यक्तिहरुबाट स्थानीयमा त्यति धेरै सर्न पाएको छैन ।
-संक्रमित मध्ये ८५ % लाई आफै निको हुने र १५ % मा गम्भीर लक्षण देखिने, ८-१० % लाई आइसीयु / भेन्टिलेटर चाहिने, ३ % को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन । यहाँ ९० % लाई लक्षण देखिएको छैन । १० % लाई हल्का देखिएको थियो । आइसीयु, भेन्टिलेटर र मृत्यु अरु देशमा जस्तो यहाँ आबश्यक भएको छैन ।
-अन्य देशमा मलेरिया, एचाइभी, इबोला, जापानिज इन्फ्लुएन्जा आदिमा प्रयोग गरिने औषधि चलाइरहेका छन् । हामीकहाँ ती औषधि चलाउनु परेको छैन । सामान्य पारासिटामोल, खोकीको औषधि, सास फेर्न सजिली हुने औषधि र २-३ हप्ता अस्पताल बसेर निको भएका छन् ।
-अन्य देशमा जनसंख्या धेरै भएका सहरमा हजारौं / लाखौँ संक्रमित भएका छन् । तर नेपालमा जनसंख्या धेरै भएका सहरमाभन्दा सिमाबर्ती क्षेत्रमा संक्रमित धेरै छन् । बोर्डर १०० % शिल गर्ने हो भने हाम्रो आन्तरिक अवस्था बलियो छ ।
-तसर्थ कोरोना संक्रमणको कारण हामी आत्तिनु पर्दैन । सामाजिक दुरी कायम गर्ने हो भने हामी अझै सुरक्षित हुन्छौं । अर्को कुरा संक्रमित पत्ता लाग्नु राम्रो कुरा हो । परिक्षण जति बढायो, संक्रमित पता लाग्ने अनि उनीहरुलाई आइसोलेसनमा राख्ने अवसर मिल्छ । उनीहरुले समुदायलाई रोग सार्न पाउंदैनन् । सरकारले PCR परिक्षण ब्यापक रुपमा गर्नु जरुरी छ ।
लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ?
१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता ।
२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता ।
३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली ।
४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने । आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने / खोक्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने । कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने । मास्क तथा अनुहारमा हात नलग्ने । सेवाग्राहीसंग दुरी कायम गर्ने । सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी / स्यानिटाइजरको ब्यबस्था गर्ने ।
५. भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।
६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने । घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।
७. अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क / चस्मा लगाउने ।
८. सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने । लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने । सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने / त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।
९. औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने । प्राथमिक उपचारका साधन / औषधि अलिअलि भएपनि घरमा राख्ने ।
१०. मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश / स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ % मात्र छ ..लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने ।
११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने / नसुन्ने । असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।
१२. मितव्ययी : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने । अनाबश्यक खर्च नगर्ने । बाहिर खाना / खाजा नखाने । सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने । बच्चालाई गाउँको स्कुलमा पढाउने ।
१३. घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने । अनि अरु परिवारसंग भेट्ने ।
१४. घरभित्रको दुरी : जेष्ठ नागरिक / बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।
१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने ।
१६. आत्मबल : आत्मबल उच्च राख्ने । आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने । मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने । उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।
१७. व्यायाम : सकभर घरभित्र व्यायाम गर्ने । भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ ।
१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने । गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने । चुरोट-खैनी-रक्सी सेवन नगर्ने ।
१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।
२०. ब्यबसाय परिवर्तन : अबको २-३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर / होम डेलिभरीको पेशा निकै चल्नेछ । तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने , आदि ।

