काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् ।
उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा काम गर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने यस प्रतिवेदनले देखाएको छ । तर यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गर्न सकिन्छ । तर अहिले नै कामविहीन भएको यो जनशक्तिले आगामी दिनहरुलाई पनि प्रभाव भने पार्ने देखिन्छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण शुक्रबार नै गरेको छ । यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको उसले कोरोनाको कहर शुरु भएपछि पुनः यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको कहर चौतर्फी देखिएपछि आइएमएफले आफ्नो अघिल्लो प्रक्षेपण उल्ट्याएर यो नयाँ जारी गरेको हो ।
आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताउनुभएको छ । ‘कोरोनाले सन् २०२० मा सङ्कट ल्याउनेछ भन्दै यदि अहिलेकै अवस्था लामो समय नभई सामान्य हुँदै गएमा सन् २०२१ मा विश्वको आर्थिक अवस्था सामान्य रुपमा सुधारतर्फ जानेछ उहाँको भनाइ छ ।
यसअघि मार्चको अन्तिमतिर मुद्रा कोषले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको घोषणा गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको घोषणा उसले उतिबेलै गरेको हो ।
निर्देशक जर्जिभाले यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको बताउनुभएको थियो । विश्वको अर्थतन्त्र ठूलो सङ्कटतर्फ अघि बढेको आँकलन गर्दै उहाँले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोषहरु खडा गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
भाइरसको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विश्वका कैयौँ देशले लक डाउनको घोषणा गरेबाट अर्थतन्त्र धर्मराएको कोषले आँकलन गरेको थियो । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा रहेको र अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी उहाँले शुक्रबार अवस्था झनै बिग्रिएको आँकलन गर्नुभएको छ । यी आर्थिक आँकलनहरु महामारी केन्द्रित नै हुन् ।
। तर नेपालजस्ता विकासोन्मुख मुलुकको महामारीपछिको आर्थिक व्यवस्थापनका चुनौतीहरुका बारेमा भने अहिल्यैदेखि विश्लेषण ग¥यो भने भोलि आइपर्दा बाटो पहिल्याउन सहज हुनसक्छ ।
हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि रेमिट्यान्सको कमीले खुम्चिने नै छन् । हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्ने क्रम शुरु हुनेछ । यसले पहिलो शिकार त हामीलाई नै बनाउने छ । हिजो हामीले स्वदेशमै केही गरौँ भनेर युवा शक्तिलाई उत्प्रेरित गर्नुको सट्टा ‘फ्रि भिसा फ्रि टिकट’मै विदेशिन प्रेरित ग¥यौँ ।
यो मन्दीका कारण विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा यहाँ रात बिताउन गुणस्तरीय पर्यटकको आगमन दुर्लभ हुन पनि सक्नेछ । यसले देशको समग्र पर्यटन क्षेत्रकै आय घट्न जाने त स्वाभाविकै भयो । यस्तो विश्वव्यापी मन्दीले हाम्रा योजना आयोजनाहरु समयमै सम्पन्न नहुन सक्छन् ।
अर्कातर्फ, हाम्रो अर्थतन्त्रमा सहयोग अनुदानको पाटोमा पनि ह्रास आउन सक्छ । किनभने हाम्रा दाताहरु नै मन्दीमा फस्न सक्ने देखिन्छ । यसले गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्ने त हुने नै भयो ।
वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुदैन यसले ओगटेका अनेकन सामाजिक आयामहरुमा पनि क्षति पुग्न जानेछ । त्यसैले वैदेशिक रोजगारीमा रहेको ठूलो जमात नेपाल फर्किने भएकाले यसलाई स्वदेशी कृषि उद्यममा लगाउन के गर्न सकिन्छ भन्ने बारेमा सरकारले अहिले नै सोच्दा राम्रो हुनेछ । यो खबर गोरखापत्र दैनिकमा एकराज पाठकले लेखेका छन ।

