डा. रवीन्द्र पाण्डे -राजनीतिज्ञ तथा साहित्यकार बिपी कोइरालालाई युवा अवस्थामै घाँटीको क्यान्सर भयो । त्यो बेला अहिलेजस्तो परीक्षण र उपचार सुलभ थिएन । यहि अवस्थामा उनले महत्वपूर्ण राजनैतीक तथा साहित्यिक उचाइ पाए । उनका सिर्जनामा कतै पनि क्यान्सरको पीडा तथा हीनताबोध देखिएन । बोली मसिनो हुँदै नसुने हुनेबेलासम्म उनी अनबरत संघर्षमा रहे । उनीसंग भएको प्रचुर आत्मबल नै उनको सुखायु तथा दीर्घायुको कारण बन्यो ।
-पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोक्सोको क्यान्सर थियो । तत्कालिन अवस्थामा उनी जति सक्रिय नेपाली कांग्रेसमा कोहि पनि थिएन । एकपटक उनी प्रोस्टेट ग्रन्थीको अप्रेसन गर्न बैंकक गए । आज जसो उनको अप्रेसन भयो । भोलिपल्ट उनी ठमठम हिंड्दै हाम्रो एयरपोर्टमा सलामी ग्रहण गरे । जतिसुकै बिरामी भएपनि उनी सुकिलो भएर बस्थे । यो सबै आत्मबलको कारण सम्भब भएको थियो ।
– हाम्रा प्रधानमन्त्री केपी शर्माओली जेलमा बस्दा अल्सर र आन्द्राको टीबीले ग्रस्त भएका थिए । देख्ने जो कोहिले पनि उनी बाँच्छन् भनेर कल्पना पनि गर्दैनथे । उनमा भएको बिशाल आत्मबलको कारण उनी बाँच्न सफल भए । दुई दुई पटक मृगौला प्रत्यारोपण गरे, दर्जनौं पटक डाइलाइसिस गरे, अचानक एपेन्डिक्स फुटेर तथा पेटभरी फैलिएर निकै गम्भीर अवस्थामा पुगे । तुरुन्त शल्यक्रिया गरेर उनी बाँचे । उनको दुर्लभ कुशलताको मुख्य कारकतत्व आत्मबल नै हो ।
– २ बर्ष आयु तोकिएका साहित्यकार जगदीश घिमिरेले मृत्यु शैय्यामा अन्तर्मनको यात्रा लेखे । त्यो पुस्तकले उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार पायो । उनी साहित्यिक सेलिब्रेटी बने । बोलाएका सबैजसो क्रार्यक्रममा गए, लेखनलाई निरन्तरता दिए, अनुजलाई प्रोत्साहन दिए । सकस उपन्यास लेखे । पुराना पुस्तकलाई पुनमुद्रण गरे । तामाकोशी सेवा समाजमार्फत उनले मन्थलीमा पुर्याएको योगदान अनुकरणीय छ । २ बर्ष पाएको आयुलाई उनको व्यस्तता तथा आत्मबलको कारण उनी ७ बर्ष बाँचे ।
क्यान्सर जितेकी यसोदा कृष्ण श्रेष्ठ भाउजु, मनिषा कोइराला, डिप्रेसन जितेकी दीपिका पादुकोणदेखि हजारौं /लाखौं व्यक्तिहरु छन्, जो मृत्युको मुखबाट फर्किएर आफ्नो जीवन सार्थक बनाएका थिए, बनाइरहेका छन् । ती हाम्रा रोल मोडेल हुन् ।
कतिपय व्यक्ति यस्ता हुन्छन् जो सानो समस्यासंग पनि डराएर, आत्तिएर मनोरोगी बनेका छन्, कम्जोर बनेका छन् तथा आत्महत्यासम्म गरेका छन् ।

अहिले विश्वव्यापी महामारीको रुपमा संसारलाई मुठीमा राखेको कोरोना भाइरसको कारण सतर्क हुँदै आफ्नो काम गर्ने धेरै छन् । उनीहरुले यसको सहि जानकारी राखेका छन् तसर्थ यो समय छिटो बित्नेमा उनीहरु ढुक्क छन् । यहि फुर्सदको समयमा उनीहरुले भविष्यको खाका कोरेका छन् । अर्कोथरीका मान्छेहरु यति धेरै आत्तिएका छन् कि उनीहरुले जीवनको अँध्यारो बाहेक केहि देखेका छैनन् । कोरोना भाइरस लागेपनि ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । ७ -८ प्रतिशत अस्पताल बसेर सामान्य उपचार पछि स्वस्थ हुन्छन् भनर ७-८ % आइसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुनसक्छ । त्यसको आधिलाई मात्र खतरा हुन्छ ।
अहिले संसारका पचासौं ल्याबमा कोरोना संक्रमण बिरुद्धको खोप तथा औषधि पत्ता लगाउन बैज्ञानिकहरु निरन्तर लागिरहेका छन् । नयाँ खोप परिक्षणको चरणमा छ । सार्स, मर्स लगायत भाइरल रोगमा चलाइएक औषधि, मलेरिया तथा बाथमा प्रयोग हुने औषधि तथा सेकेण्डरी इन्फेक्सनको लागि एन्टिबायोटिकको सफल प्रयोग भइरहेको छ । एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् । कोरोना संक्रमण शिखरमा पुगेकोले अब ओर्लने क्रममा छ । तसर्थ डर मान्नुपर्ने अवस्था छैन ।
हामीले आफ्नो जीवनचक्र बुझ्ने हो भने पनि डर मान्नुपर्ने कारण देखिदैन । जन्म, वृद्धि, क्षय तथा मृत्युको चक्र हामी सबैले पुरा गर्नुपर्छ । यसमा कोहि पनि अपवाद रहन सक्दैन । मृत्युको डर हो भने मृत्यु कोरोना भाइरसमा मात्र लुकेको हुँदैन । मृत्यु त हाम्रो पलपलमा रहेको छ । कसको के कारण कहिले मृत्यु हुन्छ भन्ने कुरा कसैलाई केहि थाहा छैन । त्यस्तै जन्म र मरण हाम्रो हातमा छैन भन्ने हो भने आफ्नो हातमा नभएको कुरामा के को डर ? हामी रंगमंचका पात्र हौँ भने आफ्नो भूमिका निभाउनु हाम्रो कर्तब्य हो । शास्त्रमा भनेको छ – आत्मा न जन्मन्छ, न मर्दछ । जसरी हामीले कपडा फेर्छौं त्यसरी नै आत्माले शरीरलाई फेर्ने हो ।
हामी सबैको आत्मबल सगरमाथा जस्तै उच्च होस् । यो उचाइ कायम गर्नको लागि पाइला पाइलामा सतर्क बनौं । चिन्ता होइन चिन्तन गरौँ ।
त्यति सजिलै कहॉ मरिन्छ ?
अहिलेसम्म हामी सुरक्षित छौं, चिन्ता लिनु पर्दैन– कोरोना भाइरस संक्रमण रोकथामको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको शंकास्पद समुहमा परिक्षण नै हो । परिक्षणको दायरा जति धेरै भयो, संक्रमितको पहिचान संख्या त्यहि अनुसार थाहा हुन्छ । चीन, कोरिया लगायत देशले संक्रमण स्थिर राख्नुको मुख्य कारण ब्यापक परिक्षण, क्वारेन्टाइन र आइसोलेसन नै हो । अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमणको मृत्युदर युरोपमा धेरै देखिएको छ । इटाली १३२५४७ लाई संक्रमण भएकोमा १६५२३ को मृत्यु भएको छ भने स्पेनमा १३६६७५ मध्ये १३३४१ मृत्यु भएको छ । यसरी हेर्दा इटालीको मृत्युदर १२.४ % देखिएको छ भने स्पेनको मृत्युदर ९.७ % छ । ब्यापक परीक्षण, अनुशाशन, क्वारेन्टाइन र गुणस्तरीय उपचारको कारण जर्मनीमा जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जनामा संक्रमण पोजिटिभ देखिएको तथा १८१० जनाको मृत्यु भएको छ अर्थात १.७ % मृत्युदर देखिएको छ । अमेरिकाको अहिलेको मृत्युदर २.९ % छ ।
एसियामा सबैभन्दा धेरै संक्रमित भएको इरानमा हो । त्यहाँ ६ % मृत्युदर छ भने भारतमा २.८४ मृत्य्दर छ । एसियाका अन्य देशमध्ये चीनमा ४ % मृत्युदर भएकोमा अहिले घटेर १.४ % मा झरेको छ । दक्षिण एसियाका अन्य देशमा मृत्युदर निकै कम छ । पाकिस्तान मा ३७६६ संक्रमित छन् भने ५३ जनाको मृत्य भएको छ । युएई, कतार, सिंगापुर, अफगानिस्तान, श्रीलंका लगायतका देशमा मृत्युदर एकदम कम छ ।
नेपालमा ९ जना संक्रमित देखिएकोमा कसैको पनि निधन भएको छैन ।
विश्वकै तथ्यांक तथा फैलाबट अध्ययन गर्ने हो भने नेपाल एकदम सुरक्षित छ । यदि हामीले लक डाउन प्रभावकारी तरिकाले कार्यन्वयन गर्यौं भने तथा सरकारले सुदूरपश्चिम तथा सिमाना क्षेत्रमा ब्यापक परिक्षण गर्दै आइसोलेसन / क्वारेन्टाइनमा राख्दै गर्यो भने हामी थप सुरक्षित हुनेछौं । यसको लागि प्रत्येक नागरिक, स्थानीय निकाय, प्रदेश तथा केन्द्र सरकार, सबै अस्पताल, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी तथा सेवाप्रदायक संस्था अत्यन्तै जिम्मेवार बन्नुपर्दछ । हाम्रो सामुहिक प्रयासले हामी सुरक्षित हुने हो । एकजनाको पनि असुरक्षित व्यवहारले हाम्रो सन्तुलन बिग्रिने छ ।

