शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

डा.पाण्डेको सुझाब – सकभर अस्पताल तथा क्लिनिकमा नजाऔं, धैर्यतापूर्वक परिस्थितिको सामना गरौँ


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र ७, २०७६

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ– अहिले मौसमी रुघाखोकी फैलिएको छ । रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, सिंगान आउने, नाक बन्द हुने लगायतका लक्षण मौसमी रुघाखोकीका लक्षण हुन् । मौसमी रुघाखोकीलाई खासै उपचारको आबश्यकता हुँदैन । झोलिलो खाना खाने, ज्वरो आउँदा सिटामोल खाने, रुघाखोकीको सामान्य औषधि खाने तथा घरमै बस्ने गरेमा यो फ्लु ४-५ दिनमा आफै निको हुन्छ । रुघाखोकी लागेका व्यक्तिलाई अन्य संक्रमण रोग सर्ने ठूलो सम्भावना हुन्छ । हरेक रोगका बिरामी जम्मा हुने अस्पताल, क्लिनिक तथा अन्य उपचार केन्द्रमा सकभर जानु हुँदैन ।

ब्लडप्रेसर, मधुमेह, दम, मुटुका औषधि, थाइराइडको औषधि, मानसिक रोगका नियमित औषधि खानुपर्ने बिरामीले २-३ महिना त्यहि औषधि खानु राम्रो हुन्छ । सामान्य पेट, छाला, दांत लगायतका उपचारको लागि पनि पुरानै औषधि खाँदा हुन्छ । सर्जरी गर्नुपर्नेले केहि महिनापछि लम्ब्याउनु उपयुक्त हुन्छ । समस्या परेमा अस्पतालको आकस्मिक कक्षमा जानु राम्रो हुन्छ ।

आफ्नो पारिवारिक चिकित्सकसंग टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइप आदिबाट उपचार लिनु राम्रो हुन्छ । रोगको महामारीको समयमा आफै अस्पताल वा क्लिनिक जानु सुरक्षित हुँदैन । चिकित्सक, नर्स, ल्याब टेक्निसियन लगायत अन्य स्वास्थकर्मी सबैभन्दा जोखिम बर्गमा पर्छन् । स्वास्थ्यकर्मीबाट रोग सर्ने सम्भावना धेरै हुन्छ । वेटिंग रुममा अनेक संक्रमण भएका बिरामी हुन्छन । अझ बालबालिका तथा बुढाबुढीलाई सकभर घरमै राख्नु राम्रो हुन्छ ।
चिकित्सक / स्वास्थ्यकर्मीसंग जांच गराउँदा दुरी एकदम कम हुन्छ ।

स्टेथोस्कोप, प्रेसर हेर्ने उपकरण, थर्मोमिटर, रगत जांच गर्दा, अल्ट्रासाउण्ड गर्दा, दाँतको उपचार गर्दा, छालाको उपचार गर्दा, नाक /कान /घांटीको उपचार गर्दा. इसिजी / इको गर्दा, गाइनेकोलोजिस्टले उपचार गर्दा, आँखाको उपचार गर्दा ….बिरामीको एकदम नजिकबाट जांच गर्नुपर्ने हुन्छ । यसले स्वास्थ्यकर्मी र बिरामी दुवै पक्षलाई खतरा हुनसक्छ । तसर्थ आकस्मिक बाहेकका उपचार इन्टरनेट वा फोनबाट गर्दा सजिलो हुन्छ ।

रुघा लाग्ने बित्तिकै वा सानो समस्या पर्नेबित्तिकै जांच गर्ने पर्ने, औषधि खाने पर्ने बानीलाई छुटाउनु जरुरि छ । तापक्रम हेर्न थर्मोमिटर, ब्लडप्रेसर मेसिन, ग्लुकोमिटर ( ब्लड सुगर हेर्न ), नेबुलाइजर ( बाफ दिन ) जस्ता सामान्य उपकरण घरमा राखेमा आफै टेस्ट गर्न सकिन्छ ।

हरेक अस्पतालले ज्वरो तथा रुघाखोकी युनिट स्थापना गरेर अरु बिरामीसंग मिसाउने परम्परा बन्द गर्दैछन । यो निकै राम्रो अभ्यास हो । ज्वरो १०२ भन्दा धेरै आएमा, सुख्खा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा नजिकको अस्पतालको इमर्जेन्सीमा जानु उपयुक्त हुन्छ । यो महामारीमा स्वास्थ्य संस्था नाफामुखी हुनु हुँदैन ।

अस्पताल, फार्मेसी तथा औषधि आयात गर्ने संस्थाले सम्भावित खराब परिस्थितिलाई आंकलन गरेर औषधि निर्यात तथा स्टोर गर्नु जरुरि छ । सरकार तथा हामी सबै मिलेर यो विषमपरिस्थितिलाई धैर्यतापूर्वक सामना गरौँ ।

कोरोना संक्रमण भन्दा यसबारेको भ्रम घातक छ, यी भ्रम निवारण गर्न डा. पाण्डेको लेख सक्दो शेयर गरौँ

कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् । समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् । अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ । यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन । यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु ।

– विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ । यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो । हामी नेपाली निकै भाग्यमानी हौँ । अहिलेसम्म हामीले यो समस्यासंग पीडाजनक युद्ध गर्नुपरेको छैन ।

– सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो । यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौं, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौं, यसको घातक प्रभाव थाहा पायौं, मास्क / स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौं । अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं ।

– सरकारले स्टेप बाइ स्टेप कदम चल्न पायो । लक डाउनको लागि मानसिक रुपमा सरकार र जनता तयार भयौं । सरकारको शक्ति र कमजोरी थाहा पायौं । थाहा पाउनु भनेको समाधानको बाटोमा हिंड्नु पनि हो ।

– कोरोना संक्रमण त्यति घातक रोग हैन । यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ । उदाहरणको लागि आजको दिनसम्म विश्वमा १२६१२० जना अर्थात् 95 % मा सामान्य लक्षण देखिएका छन् ,जुन आराम / झोलिजो खाना तथा लाक्षणिक उपचारले ठिक हुन्छन भने ६९४२ जना अर्थात ५ % मा मात्र गम्भीर लक्षण देखिएका छन् । ती ५ % मा पनि एकदम थोरैको मृत्यु हुन्छ । त्यो मृत्यु ‘ मृत्युको डिलमा पुगेका ‘ व्यक्तिको मात्र हुन्छ ।

– यो रोग बिकसित देशमा धेरै फैलिएकोले लाखौँ अनुसन्धान, औषधि तथा खोपमा प्रगति एबम आपसी हातेमालो सार्थक भइरहेको छ । औषधि तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ ।

– धेरैलाई भ्रम छ कि ब्लडप्रेसर र सुगर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने । त्यो अल्प सुचना मात्र हो । जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा ब्लडप्रेसर हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो । सामान्य ब्लडप्रेसर र मधुमेह भएका एबम औषधिले प्रेसर र सुगर नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन ।

– बालबालिकालाई जोखिम भनिएपनि अहिलेसाम विश्वको डाटा हेर्ने हो भने नगन्य रुपमा यसको घातकता देखिएको छ । सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् । तसर्थ जोखिम बर्ग जनरलाइज गर्नु हुँदैन । त्यसलाई भयो भने मलाइ पनि हुन्छ भन्ने छैन । हरेक व्यक्ति फरक फरक हो । यो मौलिकता हामीले बुझ्नुपर्छ ।

– मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि केहि असुरक्षित महशुष गर्नुपर्दैन । कोभिड – १९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफुलाई शारीरिक एबम मानसिक रुपमा बलियो बनाउने नै हो ।

– महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ । रोग लाग्नु भन्दा पहिले विक्षिप्त हुनु भनेको आफुले आफ्नो लागि खाल्डो खनेर खस्नु जस्तै हो । हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रुपमा बलिया हुन्छन । शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो । ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ । हामी सबैले मन बलियो बनाऔं ।

प्रतिक्रिया
ताजा अपडेट