आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

मलेसियाले लगायो विदेशीलाई रोक, नेपाली कामदार पनि जान नपाउने


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो।

प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाएको बताए।

योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्। मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ। साथै शैक्षिक संस्था समेत बन्द भएका छन्। सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

त्यस्तै कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ ।

तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।

यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट