शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

प्रदेश १ मा उच्च सतर्कता, २८ वडा आइसोलेसन बेड तयार


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २२, २०७६

कोरोना भाइरस (कोभिड १९) को सङ्‌क्रमणबाट बच्न प्रदेश १ मा उच्च सतर्कता अपनाइएको छ। प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि आवश्यक तयारी गरेको हो।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार सरकारले शङ्‌कास्पद व्यक्तिको नमुना सङ्‌कलन, सङ्क्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ। त्यस्तै प्रदेश सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गर्ने तयारी गरेको छ।

विश्व स्वास्थ्य सङ्‌गठन (डब्लुएचओ)ले नेपाल कोरोना सङ्‌क्रमणको उच्च जोखिममा रहेको उल्लेख गरेपछि सङ्‌घीय सरकार र प्रदेश सरकारले समेत आवश्यक सतर्कता अपनाउन थालेका छन्। प्रदेश १ सरकारले पनि उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिरहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

‘नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भनिए पनि अहिलेसम्म त्रासदीपूर्ण अवस्था छैन,’ मन्त्री घिमिरेले भने, ‘उच्च सतर्कता अपनाउन भने आवश्यक छ। त्यसका लागि प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शङ्‌का लागेमा आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ।’

कोरोना भाइरस सङ्‌क्रमितको उपचारका लागि प्रदेश १ का विभिन्न अस्पतालमा २८ वटा वेड तयारी अवस्थामा राखिएको छ। शंकास्पद व्यक्तिको नमुना सङ्कलनदेखि लिएर संक्रमितको तत्काल उपचारका लागि प्रदेशका ४ वटा अस्पतालमा २८ बेड तयारी अवस्थामा राखिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले बताए। ती बेडलाई आइसोलेशन गरेर राखिएको छ।

विराट मेडिकल कलेजमा १२, बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोबेल मेडिकल कलेजमा आइसियुसहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको उनले जानकारी दिए।

अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत प्रदेश सरकारले मिलाएको छ। कोशी अस्पतालमा प्रदेशस्तरको आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र पनि स्थापना गरिएको छ।

कोरोनाको संक्रमणको सावधानीका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति पनि निर्माण गरिएको छ। समितिमा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा, कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजका प्रमुख वा प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहेका छन्।

नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर, झापाको भद्रपुरमा विशेष निगरानीको सुरु गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट