मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोनाको उपचार छैन, रोकथाम सम्भव छ : यी ३ कुरामा ध्यान दिएमा ९० प्रतिशत रोकथाम हुन्छ

कोरोनाको संक्रमणमा आत्तिनु पर्दैन - जनस्वास्थ्य बिज्ञ डा.रवीन्द्र पाण्डेको अपिल - सुरक्षित हौँ, सक्दो शेयर गरेर सुरक्षित रहन सहयोग गरौ!


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन १९, २०७६

जनस्वास्थ्य बिज्ञ डा.रवीन्द्र पाण्डेको अपिल – सुरक्षित हौँ, सक्दो शेयर गरेर सुरक्षित रहन सहयोग गरौ!

कोरोनाहाइएलर्ट – कोरोनाभाइरस संक्रमण ( कोभिड – १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर जित्न सकिंदैन। तपाइंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन। तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ।

यसको लागि कम्तीमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन। एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित हुन्छौं। अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त छैन। डिजास्टर पुलिसको रुपमा तालिमप्राप्त सुरक्षाकर्मीको जिम्मा दिनुपर्छ, यात्री स्क्रिनिंगको लागि।

हामीले बुझ्नुपर्छ, कोरोनाले हामीलाई घेरिसकेको छ। चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देशमध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली ( कामदार/ बिद्यार्थी / अन्य ) छन्। मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन। नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा हामीले त्यो संक्रमण रोक्न सक्दैनौं।

सम्भावित अकल्पनीय महामारी र आतंक रोक्न सरकार, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र, सुरक्षाकर्मी लगायत आम जनताको अभियान जरुरि छ।

नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न झनै गाह्रो हुनेछ।

कोरोनाबारे बोल्ड डिसिजन गरौँ – १.  भिजिट नेपाल २०२१ मा राखौं। कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ। अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छन्, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं। कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ। घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन्। हाम्रो अभिष्ट पुरा हुँदैन।

२. WHO ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ। कोरोना भित्रियो भने पशुपतिनाथको पुजा गर्नु बाहेक सरकारको तयारी केहि पनि छैन। यो तथ्य हाम्रो सरकारले नबुझेपनि WHO ले बुझेको रहेछ।

३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले फ्लिम हल पनि बन्द गर्न सकेका छौनौं। फ्लिमहल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ।

४. स्कुल तथा कलेजहरुले बार्षिक परीक्षा अघिं सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ।

५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशाला राखौं। अरु रोगको लागि त्यसको बिपरित दिशामा ब्यबस्था गरौँ। अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो। यो तथ्य मनन् गरौँ।

६. अभिभावकले रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं। घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं। राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ।

७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ। ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ।

८. सम्भावित औषधि, पानी, खाध्य पदार्थ, मास्क, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि बिशेष गाउन ….सरकारले ३-४ महिनाको लागि जोहो गरोस।

९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन। जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन। ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन। तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ गर्नुपर्छ।

१०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम / गाइडलाइन, साधन उपलब्ध गराएर तम्तयार रुपमा राख्नुपर्छ।

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिदो छ। मृतकको संख्या बढिरहेको छ। संसारका अधिकांश देश कोरोना संक्रमणसंग लड्नको लागि पुरा तयारीमा छन्। आफो राज्यप्रति जनता ढुक्क छन् कि आफ्नो सरकारले प्रभावकारी कदम चाल्न सक्छ भनेर।

यता हाम्रा नेताहरु कुर्सि, भ्रष्टाचार र आपसी भाले भिडन्तमा दुनियालाई सस्तो मनोरंजन दिइरहेका छन्। नेपालमा कोरोना संक्रमण भित्रिने ठूलो सम्भावना छ। कोरोना संक्रमण नेपालमा आएमा भूकम्प र नाकाबन्दीले भन्दा धेरै जनजीवन अस्तव्यस्त बन्नेछ। यस्तो कहालीलाग्दो अवस्था आफ्नो सामुन्ने हुँदा राज्य पुरै बेखबर छ। कोरोना संक्रमण रोकथाम राज्यको प्राथमिकतामा छैन।

हामी जनता आफै सजग हुनुको बिकल्प छैन। काम नपरेसम्म भीडभाडमा नजाऔं। खल्तीमा ह्याण्ड स्यानिटाइजर् बोकौँ। मास्क सहि तरिकाले लगाऔं। हात धोएर मात्र खानेकुरा खाने गरौँ। एकदम सफा कपडा लगाउने गरौँ। हात मिलाउनेभन्दा नमस्ते गर्ने बानी बसालौं। रुघाखोकीको समयमै उपचार गरौँ। सकभर बाहिरबाट आएपछि कपडा बाहिर वा बेडरुम बाहिर राख्ने गरौँ। कारणबश कोरोना फैलिएमा कहाँ बस्ने, के खाने, बच्चा तथा बुढाबुढीलाई कसरी सुरक्षित राख्ने ? जस्ता आधारभूत आवश्यकता एबम सुरक्षाको योजना बनाऔं।

कोरोनाको संक्रमणमा आत्तिनु पर्दैन

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ। तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ।

– कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन। दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ।

– कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।

– कोरोना संक्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन। ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने। गाह्रो भएमात्र अस्पताल जाने।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।

– कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।

– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।

– विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन।

– बजारमा मास्कको अभाव छ। कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन। तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्क भन्दा पंजा महत्वपूर्ण छ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन। विश्व स्वास्थ्य संगठन, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी सुरु भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।

– कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।

– यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ।

कोरोनासंक्रमणको लागि जोखिम ठाउंहरु – १. सिनेमा घर २. अस्पताल ३. बिद्यालय / कलेज ४. सार्वजनिक यातायात ५. सपिंग मल ६. व्यस्त गल्ली ७. तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु ८. सभा / जुलुस भएका स्थान ९. वृद्धाश्रम १०. होटेल / रेस्टुरेन्ट ११. रंगशाला १२. भोजभतेर आदि।

काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं। जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ । घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा / बैठक कोठामा जाने गरौँ।

उपचार छैन, रोकथाम सम्भव छ ।

-जनस्वास्थ्य बिज्ञ डा.रवीन्द्र पाण्डेको फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट