आफ्नै साथीसँग गफ गर्दा उसले अर्कैतिर मुन्टो बटार्यो भने तपाईंलाई कत्तिको आत्मग्लानि हुन्छ? श्वास गन्हाउने समस्यालाई ख्याल नगर्दा तपाईंले आत्मग्लानि त सहनैपर्छ। किनकि व्यक्तित्व विकासका लागि गन्धरहित श्वास र सुन्दर दाँत हुनु आवश्यक छ। मानिसको स्तर निर्धारण गर्न उसको बोली महत्वपूर्ण रहन्छ। कुनै नयाँ मान्छेसँग बोल्दा आफ्नो श्वास गन्हाउन थाल्यो भने भोलि त्यो मान्छेले के सोच्ला? त्यसैले श्वास गन्हाउने समस्याबाट मुक्त हुन यसको रोकथाममा लागिहाल्नूस् है।
व्यवस्थापन- मुख तथा शरीर सफा गर्ने : बिहान र राति खानापछि दाँत सफा गर्न टुथ ब्रस, मन्जन र डेन्टल फ्लसको प्रयोग गर्ने। जिब्रो सफा गर्ने र अन्य समयमा खानेबित्तिकै कुल्ला गर्ने । सधैं नुहाउने, शरीर सफा राख्ने।
खानेकुरामा नियन्त्रण : गुलियो टाँसिने प्रशोधित, फास्ट फुड र जंक फुड नखाने वा धेरैपटक खाने बानी हटाउने। चुरोट, खैनी तथा रक्सी सेवन नगर्ने, तैलीय, तारेका तथा भुटेका मसलादार र डढेका खानेकुरा नखाने। ताजा रेसादार फलफूल, दूध, माछा, सागपात रहेका सन्तुलित खानाको प्रयोग गर्ने।
नियमित स्वास्थ्य परीक्षण : मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित छ/छ महिनामा गर्ने। शरीरको परीक्षण प्रत्येक एक/एक वर्षमा गर्ने।
उपचार प्रक्रिया- १ सबभन्दा पहिले श्वास गन्हाउने अवस्था भए/नभएको थाहा पाउन रुघा लागेको छैन र नाक ठिक छ भने आफ्नो हात मुखअगाडि राखेर त्यसमा श्वास फेर्ने र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानी भित्र लिने। २ आफूप्रति अरूको व्यवहार हेरेर, मनन गरेर, समूहमा तपार्इं बोल्दा नजिकका मानिसको व्यवहार हेरेर, नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा थाहा लाग्छ।

३ यसको मापनका लागि लागि अस्मोस्कोप, ब्रेथएनालाइजर, क्रायस्कोप, टाइट्रालग, ग्यास क्रोमाटोग्राफी जस्ता उपकरणको प्र्रयोग गर्न सकिन्छ। ४ यदि श्वास गन्हाउने अवस्था रहेछ भने मुख वा नाक केबाट हो भनेर पत्ता लगाउनुपर्छ। दश सेकेन्डको लागि ओठ र नाक दुवै बन्द गराउने र त्यसपछि ओठ बन्द राखेर नाकमात्र खोल्ने, यदि श्वास गन्हाएको छ भने नाकबाट रहेछ भन्ने पत्ता लाग्यो। तर ओठ खोल्दा श्वास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ।
५ यदि मानसिक कारण रहेछ भने आश्वासन र विश्वासमा कुल्ला गर्ने औषधि दिइन्छ। यति गर्दा पनि नभए मानसिक रोग विशेषज्ञलाई देखाउनुपर्छ। ६ शरीरसँग सम्बन्धित रोग नै कारण भए फिजिसियनलाई देखाई मधुमेह, क्यान्सर, पिनासजस्ता रोगको उपचार गर्नुपर्छ। ७ गन्हाउने समस्या मुख र दातसँग सम्बन्धित भए त्यो ९० प्रतिशतभन्दा बढी समस्या हो। यसका लागि स्थायी उपचारका लागि स्थानीय कारण हटाउने गरी उपचार थालिन्छ। ८ नराम्रा बानी त्याग्ने, घाउ खटिराको उपचार, दन्त सडनमा सिमेन्ट भर्ने, दन्त हर्षा र पाइरियामा स्केलिंग गर्ने, नमिलेका दाँत मिलाउने, राम्रो मिलेको नक्कली दाँत लगाउने, नक्कली दाँत राति सुत्दा निकालेर पानीमा राख्ने।
अन्तमा : अस्थायी रूपमा सास गन्हाएमा चुइङ्गम, सकिङ मिन्ट, फ्रायगरेन्ट डेन्टीफ्राइस, डिअडरेन्ट, माउथवास, ल्वाङ, सुकमेल र स्प्रे प्रयोग गरिन्छ। साधारण चुइङ्गमले फङसनल फुडको कार्यका अतिरिक्त दाँत सफा गर्छ। अस्थायी उपचारले कम भएको जस्तो लागे रोग भित्रभित्रै बढ्न सक्छ र दीर्घकालीन उपचार नै हुन नसक्ने रोग लागी अंग भंग हुन सक्ने अवस्था आउन सक्छ। त्यसैले सुरुमै उपचार र व्यवस्थापनमा ध्यान पुर्याुउन जरुरी छ।
स्वस्थ जीवनको लागि स्वस्थ दाँत, दाँतको हेरचार गर्न डाक्टर बुढाथोकीको अमुल्य सुझावहरु– स्वास्थ्य सचेतना एवं उपचारका दृष्टिले धेरैपछि परेको गरिब मुलुक नेपालमा मुख एवं दाँतको स्वास्थ्य गौण बन्नु स्वभाविक मान्न सकिएला । निकै ठूलो रोग नलागी अस्पताल नजाने प्रवृत्ति छ । प्रायः नेपालीका दाँत २०–२२ वर्षको उमेरमै दुई र ४० देखि ५० वर्षको उमेरमा पाँचवटा झरिसकेको पाइन्छ । मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्या त अति सामान्य मानिन्छ ।
९० प्रतिशत बढी मानिस जीवनकालमा दन्तसडन, हर्षादेखि मुखको क्यान्सरसम्मका मुखका कुनै रोगबाट पीडित हुने गर्छन् । ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा दन्तसडन छ । मानिसले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छ जब दाँतमा कुनै खराबी हुँदैन । रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझैंँ स्वास्थ्यमा पर्छ । दाँत तथा गिँजाको विकार रगतमा मिसिई कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका रोगहरू, रक्तचाप, रक्तअल्पता, झाडापखाला, कब्जियत, पेट, गाला र गला सुन्निने, सबएक्युट ब्याक्टेरियल इण्डोकार्डाटिस, हृदयाघात, मस्तिष्क घात, मधुमेह तथा पेट, आँखा, ब्लाडर, मिर्गौला, मुटु, फोक्सो, दिमागलगायतका अङ्गप्रत्याङ्गमा रोगहरू हुनसक्छ ।
गर्भवतीमा गिजा अस्वस्थ भए त्यसको प्रभाव गर्भस्थ शिशु तथा प्रसव समय र प्रक्रियामा पर्छ । प्रत्येक गर्भावस्थामा एउटा दाँत झर्ने स्वभाविक हो भन्ने सोचाइ जति गलत हो त्यति हर्षा, पाइरीया र दन्तसडनमा दाँत ब्रस गर्न छाडेर औलाले दाँत माझ्न थाल्नु गलत हो । स्तनपान नगराउदा, मुखबाट स्वास फेर्दा कुनै समस्या नहुने भन्ने आमधारणा पनि ठिक होइन । यस्तै कारणले अनुहार असामान्य हुने, दाँत र हाडको विकास र बनावटमा समस्या, रक्तअक्सिजनको कमी र पछि गएर उच्चरक्तचाप, मुटुका रोगजस्ता दीर्घकालीन रोग हुने गरेका छन् ।
मुख शरीरको व्यस्त अङ्ग हो । टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो, अमिलो खाद्यपदार्थ र सुर्ती, पान, सुपारीको प्रयोग गर्नुहँुदैन । भिटामीन बी र सी पाइने टमाटर, अमला, कागती, सतुन्तला, अङ्कुराउँदै गरेका गेडागुडी, मुला, गाजर, बन्दागोबी, सखरखण्डजस्ता रेसादार ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको सेवन गर्नुपर्छ । खाना खानुअघि र पछि हातमुख धुनु जति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्र्नुु पनि उत्तिनै अनिवार्य छ । बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्नुपर्छ । अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्नुपर्छ । कोइला, बालुवा र खरानीले दाँत सफा गर्नुहुँदैन । दुई दाँतबीचको सतह फलामको पिन, काठले होइन डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नु पर्छ । बालक दुई वर्ष नपुग्दासम्म सफा कपास पानीले र दुई वर्षको उमेरदेखि नरम ब्रसले दाँंत सफा गरिदिनु पर्छ । बालक तीन वर्ष पुगेपछि नियमितरूपमा हरेक ६÷६ महिनामा दन्त परीक्षण गराउनुपर्छ । शिक्षक शिक्षिकाले पनि विद्यालयहरूमा विद्यार्थीले दाँत माझे वा नमाझेको दैनिक अनुगमन गर्नुपर्छ ।
नेपालमा राम्रो काम गर्दा जस नपाउने र नराम्रो काम गर्दा दण्ड पनि भोग्नु नपर्ने वर्तमान स्थितिले दन्त्य स्वास्थ्य पनि सेवामुखीभन्दा दिनप्रतिदिन पैसामुखी व्यापारतिर उन्मुख छ । दुई दर्जन सहरमा पनि दन्त चिकित्सकको उपस्थिति छैन । जिल्ला अस्पतालको कुरै छाडांै, सबै अञ्चल अस्पतालमा समेत दन्त चिकित्सकको उपस्थिति तथा दन्त रोग विभाग छैन । काठमाडौँमै आकर्षक नाममा अदक्षद्वारा च्याउ उम्रेभैmँं खोलिएका डेण्टल क्लिनिकको बाहुल्यता छ, गल्लीगल्लीमा डेन्टल अस्पताल खुलेका छन्, बिरामी तान्न थरीथरीका विज्ञापन बजिरहेका छन् । तैपनि केही बिरामी नपाई झिँगा धपाउन बाध्य छन् । सहर अझैँ राजधानीमुखी भएकै कारण जिल्ला र गाउँका बासिन्दाले दाँतको उपचार पाउन सकिरहेका छैनन । सक्ने त दुई हजारको उपचार गर्न १२ हजार बढी खर्चंदै राजधानी धाउँछन् । चिकित्सक र चिकित्सा सेवा सहरमुखी छन् । दाँत जचाउँन ठूला सहर र राजधानी धाउन पर्ने बाध्यता छ । दर्जन डेन्टल कलेज र दर्जनांै हाइजिनिस्ट कलेजबाट वार्षिक एक हजार जनशक्ति उत्पादन भइरहेछन् । मुख स्वास्थ्य नीति २०७० ले प्राथमिक स्वास्थ्य केन्द्रसम्म दन्तचिकित्सक र सहायक पु¥याउने लक्ष्य त लिएको छ तर गति हेर्दा आकाशको फल सरह नै छ । उपचार र सेवा गाउँस्तरसम्म पु¥याउने सोचाइ कसैको देखिँदैन । दन्त चिकित्सक नै स्वास्थ्य सचिव हुँदा पनि अपेक्षित काम हुन सकेको छैन ।
विश्व स्वास्थ्य सङ्गठन र सरकारले आधारभूत स्वास्थ्यमा राखे पनि अझैँसम्म अञ्चल अस्पतालमा समेत न त अपेक्षाकृत दन्त चिकित्सक रहेका छन् न त सबै प्रकारका दन्तसेवा उपलब्ध छ । समस्याको मात्रा, तथ्याङ्क र खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या अत्यधिक छ । दन्त सडन ९० प्रतिशतभन्दा बढीमा छ । एक हजार ४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि तीन मिनेट र बेलुका सुत्नुअगाडि तीन मिनेट मुखको सरसफाइमा ध्यान दिन सक्यौं भने मुखका ९० प्रतिशत रोगबाट मुक्त हुन सकिन्छ । यदि रोग लागिसकेमा उपचार गराउँदा विज्ञापनको पछि मात्र नदौडी उपचार गर्ने चिकित्सक सही भए नभएको, चिकित्सकद्वारा प्रयोग गरिने सामानहरू निर्मलीकरण भए नभएकोमा राम्रोसँग ध्यान दिनुपर्छ । अन्यथा रोगको उपचार गर्न अस्पताल गएकोमा फर्कंदा अपरिवर्तित नोक्सान, जटिलता र हेपाटाइटिस, एचआइभीजस्ता सरुवा, सङ्क्रामक र भयानक रोगहरू बोकेर घर फर्किन सकिन्छ । रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ । आत्महत्या गर्न सक्नेसम्मको दुखाइबाट मुक्त रहन, महंँगो उपचारबाट राहत पाउन, मुखरोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगबाट ग्रसित नहुन तथा प्रणालीमा भएका रोगलाई निको पार्न, औषधिको आवश्यकता कम गर्नलगायत दाँत तथा मुखका अङ्गप्रत्यङ्गलाई बिग्रनबाट जोगाई “स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो” भन्ने भनाइलाई चरितार्थ पार्न आफू नै जागरुक हुन जरुरी छ ।
वरिष्ठ दाँत एवं मुख रोग विशेषज्ञ बुढाथोकीसंग माउन्टेन टिभीले गरेको कुराकानीको भिडियो

