बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

यसो सोच्दा, हाम्रो मौलिक र वैज्ञानिक प्रणालीलाई ‘कबाड़’ बनाउने त हामी आफै रहेछौं !


  • स्वदेश नेपाल
  • सोम, माघ २०, २०७६

नारायण गाउँले – ‘रिसाइक्लिङ्’ अर्थात् वस्तुको पुन: प्रयोग वातावरण विनाशबाट जोगाउने विश्वकै प्रभावकारी उपाय हो । अहिले यस क्षेत्रमा काम गर्नेहरूले धेरै थरी पुरस्कार थाप्ने गरेका छन् ।

हामीकहाँ यस्ता सामान र यस क्षेत्रमा काम गर्ने दुबैलाई ‘कबाड़ी’ भनिँदो रहेछ । तिनले पुरस्कार पाउनु त टाढ़ाको कुरा भयो, सामाजिक सम्मान पनि पाउँदैनन् । नामैं कबाड़ी भएपछि कसले पो पुरस्कारलाई कबाड़ीमा देओस् !

विशेषत: तराई र शहरी क्षेत्रमा सजिलै नगल्ने र माटोदेखि पानीसम्म प्रदूषण गर्न सक्ने शिसा, प्लास्टिकदेखि धातुका सामान र टुक्रासम्म घरघरमैं पुगेर नून या अलिकति पैसासँग साटेर कसैले ‘रिसाइक्लिङ्’का लागि लैजाने गरेको हामी सबैलाई याद हुनुपर्छ । यसले अहिलेसम्म फोहोर व्यवस्थापनको भरपर्दो प्रणाली नभएको हाम्रो शहर र गाउँलाई स्वच्छ राख्न ठूलो मद्दत गरेको रहेछ । यो रिसाइक्लिङ्को अर्ज्ञानिक प्रणालीबारे अध्ययन हुने र डकुमेन्ट्री बन्ने हो भने धेरै ‘कबाड़ी’हरूले राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार नपाए पनि जानअनजानमा तिनले पुऱ्याएको ठूलो सामाजिक योगदानका निम्ति सम्मान पाउँदा हुन् । बेलायतदेखि अमेरिकासम्म अहिले आफैले पैसा तिरेर त्यस्तो सामान रिसाइक्लिंगका लागि पठाउने गरिन्छ । हामीले त उल्टो ‘रिवार्ड’ पाउँदै आएका रहेछौं ।

यो वातावरण संरक्षणमा अलिकति योगदान गरिबीको पनि रहेछ उसो त । विदेशतिर डम्पिङ् साइटमा पुगेर दुःख दिने सिमेन्ट या चामलका बोरा हामीकहाँ चकटीदेखि सुकुलसम्म पुन: प्रयोग हुन्छन् । कोकका बोतलदेखि हर्लिक्सका शिसासम्म हामीले केही फाल्नु पर्दैन । ती बर्सौँसम्म तेलदेखि मसला राख्न प्रयोग हुन्छन् । कोकभन्दा कोक राख्ने शिसा महँगो पर्ने भएपछि ती आफै रिसाइकलमा जाने भए । विदेशबाट आएका चकलेट या बिस्कुट त प्रिय हुन्छन् नै तीसँगै आउने टिनका बट्टा झन प्रिय हुने रहेछन् । साइकिलको ट्युब ‘रिसाइकिल्ड’ भएर चुङ्गी बन्नु हेर्दा सामान्य लागे पनि दूरगामी महत्त्वको थियो ।

तर, यी कोकदेखि हर्लिक्ससम्म आउनुभन्दा अलिकति पहिलेको समय सम्झिनुस् त, हाम्रो जीवनशैली कति वातावरणमैत्री रहेछ । बुबाको कछाड़देखि आमाको साड़ीसम्म र दौरादेखि सुरूवालसम्म फाट्नेबित्तिकै माटोमा पुग्दैनथे । ती तीनचार पल्ट त सिलाएर लगाइन्थे र केही गरी काम नलाग्ने भए ‘डसना’मा रिसाइकल्ड हुन्थे । मैले जान्दासम्म पनि सिङ्गो घर काठ र माटाको हुन्थ्यो । माटाको ईंटा, माटाकै टायल । अलि पछि गहुँको छ्वालीले छाइन्थ्यो । भित्तामा छवाली या धानका बालाले बनेका कलात्मक सामग्री हुन्थे । त्यसभित्र बिछ्याउने कार्पेट परालको हुन्थ्यो । बर्सौँसम्म त्यसमा बस्यो, जब आयु सकिन्छ, कुहायो, मल बनायो र त्यसैमा फलेको काउली खायो । खेल पनि कस्तो वातावरणमैत्री ! माटाका फुटेका टायल जम्मा गर्यो, चाङ् लगायो र फाटेको मोजामा फ़ाटेका कपड़ा कोचेर बनेको बलले हिर्कायो । खेलौना पनि पूरै बायोडिग्रेडेबल । कपडाका पुतली, कपडाको बल, काठको ड़ण्डीबियो !

प्लास्टिक युगअघि विश्वमा अन्यत्र पनि यस्तै थियो होला । तर, प्लास्टिक युग आएपछि ‘कबाड़ी’ले वातावरण संरक्षणमा जति योगदान गरेका छन्, त्यसलाई दुई चार शब्दमा उल्लेख गर्न सकिन्न । परम्परा निर्वाह गर्दै आसेपासेलाई त दिनै पर्यो, एउटा गोरखा दक्षिणबाहु यस्तै कुनै एक जना थोत्रो साइकिल लिएर “आयो फलाम….” भन्दै कबाड़ सङ्कलन गर्दै हिँड्नेलाई पनि दिन सकिए सम्मान र चेतना दुबै हासिल हुन्थ्यो कि ? देशभित्रै रिसाइक्लिंगको सुविधा नभएकाले ती सङ्कलित सामान पक्कै विदेश पुगेका होलान् र आर्थिक रूपमा हामीले फाइदा लिन नसकिएको होला तर त्यो आर्थिक पाटोमात्रै हो, वातावरणीय पाटोबाट हेर्दा ती कबाड़ी सङ्कलक पर्यावरण-दूत नै हुन् । जीवन अर्थशास्त्र मात्रै होइन ।

प्रतिक्रिया
ताजा अपडेट