शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

डडेल्धुरामा सुदूरपश्चिमकै प्रसिद्ध ‘देहिजाँत’ आज


  • स्वदेश नेपाल
  • मङ्ल, कार्तिक २६, २०७६

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ ।

हरेक वर्ष कात्तिक शुक्ल पुर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । हिजो बेलुकादेखि शुरु भएको मेला आज रातिसम्म लाग्नेछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला शुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनु भयो । किम्वदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो ।

रगतलाई आफूले खानाका रुपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पुर्णिमाका दिन पूजा र मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया