वैदेशिक रोजगारमा जाने करोडौं नेपालीको कथा- नेपालको वैदेशिक रोजगार विभागमा मैले जे भोगें

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

निमेष गिरी (युएई)– बिगत केही बर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा छु । छोटो बिश्राम र केहि व्यक्तिगत कामका लागि गत महिना म नेपाल गएको थिएँ । प्रत्येक दुई वर्षमा श्रम अनुमतिको नविकरण गर्नुपर्दछ भन्ने जानकारी थियो । यूएई फर्कने बेला आफ्नो असजगताका कारण श्रम स्वीकृति सकिएको हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्कनु पर्यो जसको कारण काटिसकेको टिकट गुमाएर आर्थिक भार परे पनि त्यसको जिम्मेवार म आफै नै हो । यस घटनाले भविष्यमा राम्रो पाठ पढाएको पनि छ ।

विहानको टिकटमा यात्रा गर्न नपाए पश्चात निहुरमुन्टी ’न’ भएर हतार हतार लगेज घरमा राखि पाईला नाप्न थालें बैदेशिक रोजगार विभागको अफिस ताहाचाल तिर । अफिस अगाडि बाटोमा लटरम्म खुलेका रहेछन् फारम भर्ने पसलहरु । ऐ दाई, यता आउनुस भन्दै पछि लाग्नेको लवालस्कर । विगतको तुलनामा अलि कम भए पनि व्यापार फस्टाएको नै देखे मैले त्यहाँ । आफुलाई हतार थियो, त्यसैले कहाँ अनलाईनमा फारम भर्ने, कहाँको बैंकमा गएर कति रकम जम्मा गर्ने, ईन्सुरेन्सका लागि कुन ईन्सुरेन्स कम्पनी धाउने ? जानकारी थिएन । त्यसमाथि हतारो पनि थियो । त्यसैले पसियो एक अमुक पसलमा र भर्न लगाएँ फारम ।

फारम भर्ने काम सकिए संगै उ त्यो गेटमा हुलाक टिकट किनेर टाँसेर जानुस है भन्ने निर्देशनलाई स्वीकार गरेँ । तर त्यहाँ हुलाक टिकट बेच्ने कुनै काउन्टर भेटिन । बरु विभिन्न थरीका मान्छेहरु हातमा टिकट लिएर हिँडिरहेका थिए । त्यसैले एकजना दिदीसँग टिकट मागेर ५० रुपैयाँको नोट दिएको त फिर्ता ३० रुपयाँ मात्र दिईन् । टिकटको मुल्य १० रुपैयाँको मात्र थियो । त्यसैले कसरी १० रुपैयाँको टिकट २० रुपैयाँमा बेच्नु भएको यो त कालो बजारी भएन र ? भन्ने प्रश्न गर्दा लिन मन भए लिनुस् अन्यथा टिकट फिर्ता दिनुस भन्दै बम्किन थालिन् । त्यसैले उक्त टिकट त्यही छोडेर लागेँ बैदेशिक रोजगारी विभागको गेट नजिकै कतै त्यतै १० मा टिकट पाईन्छ होला भन्ने सोचेर ।

गेटमा नेपाल प्रहरीका जवान उभिएका थिए । गेट बाहिर उभिएका तीनजना महिलासँग प्रहरी जवान मस्किदै कुरा गरिरहेका थिए । ति महिलासँग टिकट लिएर मैले १० रुपैयाँ दिएको त ति महिला पनि टिकटको मूल्य २० हो भन्दै कुर्लन थाले । मैले तिनै प्रहरी जवानलाई तपाईकै अगाडि कालो बजारी भईरहेको छ, नेपाल सरकारले निर्धारण गरी मुल्य १० रुपैया तोकेको टिकटको शतप्रतिशत नाफा राखेर बेचिरहेको कसरी मौन रुपमा स्वीकार गरिरहनु भएको छ भन्ने प्रश्न गर्दा उक्त प्रहरी जवान कालोबजारी हेर्ने अर्को निकाय र प्रहरी छ । यस कार्यमा हस्तक्षेप गर्न मिल्दैन, तपाई सम्बन्धित निकायमा गएर उजुरी गर्नुस भन्दै टक्टकिए ।

मैले पनि अन्ततः २० रुपैयाँमा नै उक्त टिकट खरीद गर्न बाध्य भएँ । त्यसैले कालोबजारीलाई मनले नमान्दा नमान्दै प्रश्रय दिन कसरी आम नेपाली बाध्य हुन्छन् भन्ने दृष्टान्त राम्ररी भोगेँ ।

तत्पश्चात गेट छिचोलेर बैदेशिक रोजगार बिभाग भित्र पुग्दा अर्को चमत्कार देख्न पुगेँ । नेपाल प्रहरीका “सत्य सेवा सुरक्षणमः” का ब्याच भिरेका प्रहरीहरुका छातिमा कसैको नाम ट्याग थिएन । नाम ट्याग टाँस्ने स्टीकर मात्रै थियो । सबै प्रहरीहरु नामको ब्याच निकालेर परिचयविहीन अवस्थामा उभिएका थिए । तथापि त्यहाँको कमाण्डमा रहेका महिला असईलाई बाहिर भएको कालोबजारीको सुचना दिनुका साथै तिनको निराकरणका लागि पहल गर्न आग्रह गरेँ । निजले ति गरीवहरुले १० रुपैयाँ त नाफा खाएका छन्, देशमा भएका ठूला भ्रष्टाचार र कालोवजारीको विषयमा कुरा गर्नुस, त्यो टिकटको विषयमा बहस नगर्नुस् भन्ने गैर जिम्मेवारपुर्ण उत्तरले प्रहरीले आफूले निर्वाह गर्नुपर्ने भूमिकाले खिल्ली उडाएको म आफैले भोगेँ ।

बैदेशिक रोजगार विभागमा दिनमा कम्तिमा पनि एक हजार नेपाली श्रम गर्न जान्छन । ति एक हजार व्यक्तिसँग १० रुपैयाँका दरले कालोबजारी गर्दा महिनामा २ लाख ६० हजार आम्दानी भईरहेको छ । त्यसैले के पुष्टि गर्दछ भने कालोबजारी मार्फत संकलन हुने रकमको कुनै निश्चित प्रतिशत ति प्रहरीको भागमा पनि पर्दछ की ? यही हिसाव मैले निज असईलाई ब्यक्त गर्दा उनी विभिन्न बहानाले पन्छिन खोजिन्, निजलाई तपाईको नाम के हो ? अनि तपाईहरुका नामको ब्याज किन छैन भन्ने प्रश्न गर्दा यहाँ पत्रकारले हामीलाई विभिन्न बहानामा फसाउँछन भन्ने बहाना बनाइन् । हाम्रो काम होईन सम्बन्धित निकायमा गएर उजुरी गर्नुस र टिकट हुलाकमा गएर किन्ने गर्नुस भन्ने अभिब्यतिले कालोबजारीको पृष्ठपोषण सरकारी पक्षले नै गरेको देखियो ।

यो समस्याका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने उदेश्यले मैले त्यहीँबाट केहि वर्तमान सांसद र भुतपुर्व सभासद एवम् पार्टीका जिम्मेवार व्यक्तिलाई उक्त घटनाको सन्दर्भमा जानकारी गराउने काम गरेँ । म श्रम स्टीकर लगाउन ब्यस्त भएँ ।

केहीछिनमा आफ्नो राहादानीमा श्रम स्टीकर टाँस्नै लाग्दा १५ जनाको प्रहरी बल लिएर केहि प्रहरीहरु आए । एक जनाले मलाई बोलाई हाम्रा हाकिमसँग कुरा गर्न आउनुस् भन्दै बोलाए । म पनि लुखुर लुखुर पछि लाग्दै गएको त त्यहाँ २ जना पुरुष असईहरुले घटनाका बारेमा सोधपुछ गर्दा मैले भएको घटनाको विवरण जानकारी गराएँ । तपाई प्रहरीलाई गाली गर्ने ? प्रहरीको नाम ब्याच सोध्ने अधिकार कसले दियो ? तपाईलाई प्रहरी कार्यलय लगेर हामी थुनीदिन्छौ भन्ने धम्किपुर्ण व्यवहार सुरु भयो ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई निःशुल्क सिमकार्ड वितरण गर्न बसेका महासय दुधको साँचि विरोलो बन्दै आएका थिए । प्रहरीलाई तपाईंले गाली गर्नु भयो भनेर लगाएको झुटो आरोपलाई प्रमाणित गर्नुस, यहाँ श्रम गर्न उभिएको कुनै एक नेपालीले मैले प्रहरीलाई गाली गरेको देखेको सुनेको हुनुपर्छ भनेर आरोपको प्रतिकार गरेँ । तर बैदेशिक रोजगारीमा जानका लागि लागेको लाईनमा गएर घटनाको बारेमा सोध्ने आँट ती प्रहरीको बर्दीधारीहरुले गर्न सकेनन् । यी यावत घटनाले के प्रमाणित गर्दछ भने आज पनि प्रहरीको ज्यादती आम नागरिक प्रति केन्द्रित छ । नागरिकलाई सम्मान गरेर आफु सम्मानित हुने भन्दा पनि आफुलाई कानूनको ठेकेदार भन्ठान्ने सामन्ती सोच आम प्रहरीमा ब्याप्त छ भन्ने यो एउटा सानो घटनाले पुष्टी गरेको छ ।

उनीहरुको अभिष्ट जनताको सेवा एवं कसैले गलत कार्य गरिरहेको देखिएको अवस्थामा त्यस कार्य मार्फत कसरी कमिसन आर्जन गर्न सकिन्छ भन्ने ध्येयमा उद्धत देखिन्छ । हो, सबै प्रहरीहरु त्यस्ता नहोलान् तर केही प्रहरीहरु आफ्नो नाम ट्याग निकालेर कालोबजारीलाई प्रश्रय दिन लाग्नुका साथै प्रश्न गर्नेहरु सचेत नागरिकहरुलाई थुन्ने धम्की दिने तर आफ्नै आगाडी भएको गलत कार्यलाई नजर अन्दाज गर्ने प्रवृतिलाई सहि र जनमुखी मान्न सकिदैन ।

निजहरुको नाम जान्न पाउने अधिकारबाट आम नागरीकहरुले किन त्रसित हुनु पर्ने ? भ्रष्टाचार र कमिशन खाँदै गरेको वा खान खोजेको अवस्थामा आफुलाई सुरक्षित गर्न त्यसरी बैदेशिक रोजगार बिभागमा खटिएका प्रहरीहरुले नाम ट्याग निकालेर बस्न नेपाल प्रहरी कार्यालयले नै अनुमति दिएको हो ? वा निर्देशन जारी गरेको हो ?

सम्माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, श्रममन्त्रीज्यू

युवाहरुको स्वरोजगारी, शान्ति सुरक्षा र बैदेशिक रोजगारी श्रमिकमुखी बनाउने कुरामा तपाईहरुका संयन्त्रहरुले सहयोग गर्न सकेका रहेनछन् । मैले भोगेको यो अनुभव सरकारको लागि ठूलो घटना नहोला अर्थात सरकारलाई कुनै फरक नपार्ला । तर आम सर्बसाधारणले भोग्ने यस्ता प्रताडित घटनाले जिवित सरकार हुनु र नहुनुको अनुभूतीको प्रतिनिधित्व गर्छ । तस्करी, कालोबजारी एवं भ्रष्टाचारीलाई तह लगाउने प्रधानमन्त्रीको अभिव्यक्ति त केवल भनाईमा सिमित देखियो । प्रहरीको आँखै र नाकै अगाडि भएको यो सानो घटनामा ध्यान आकर्षित गराउन खोज्दा म आफैँ झण्डै प्रहरी ज्यादतीको शिकार हुनुपर्ने अवस्था आएको थियो । मेरो त यो हविगत भयो भने सिधासाधा, सोझा, कम पढेलेखेकाको हालत के होला ? के हामीले यसरी नै लुटिनु पर्ने हो ?

त्यसैले म मन्त्रीज्यूहरुलाई एकमात्र अनुरोध के गर्न चाहन्छु भने, एक पटक बैदेशिक रोजगारी विभागमा हातमा फारम बोकेर आफैं जानुस् वा कुनै कार्यकर्तालाई पठाउनुस् । त्यहाँको दृष्टान्त तपाईले देख्नु र भोग्नु हुनेछ । यदि साँच्चै कालोबजारी गर्ने विरुद्धमा कदम चाल्ने भए वैदेशिक रोजगार विभागमा बेनामे भएर उभिने प्रहरीलाई कारवाही गरेर देखाउनुस् । यदि त्यसो गर्नुहुनेछ भनें म मिति सहितको जानकारी उपलव्ध गराउन तयार छु । यदि यसो गर्न सक्नुहुन्न भनें भ्रष्टाचार र कालोबजारी मुक्त एवम् पारदर्शी कार्यालय बनाउँछु भन्ने भाषण गर्न छोड्नुहोस् । यस्तै रहिरहे अर्कोपालीको चुनावमा तपाईंलाई पनि जनताले लोप्पा खुवाउने छन् ।

-देशपरदेशडटकमबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu