काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले २२ वर्षअघि (२०५४ सालको) एमाले–माले विभाजनको तिक्तता सम्झिएका छन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक बहस कार्यक्रममा वामदेवले त्यतिबेला आफूले एकीकृत महाकाली सन्धीका बारेमा कुरा उठाउँदा पार्टीबाट निष्कासित हुनुपरेको दुखेसो पोखेका हुन् ।
२२ वर्षपछि राष्ट्र एकट्ठा भएको देख्दा उनी हर्षविभोर बनेका थिए । देश हितको पक्षमा २०५४ सालदेखि नै तत्कालीन एमालेभित्र एउटा समूह निर्माण भएको र त्यसले महाकाली सन्धीलगायत मिचिएको सीमाका कुरा उठाउँदा घर छाडेर हिँड्नुपरेको तितो उनले बिसाएका हुन् ।
“२०५४ सालबाटै एउटा समूह निर्माण भएको थियो । त्यसले महाकाली एकीकृत सन्धी गर्नु हुँदैन भनेर आवाज उठायो,” उनले विगत सम्झँदै भने, “एकीकृत सन्धीको विरोध गर्दा आफैंले बनाएको घर छाडेर हिँड्नुपर्यो । चार वर्ष अलग पार्टी (माले) खोल्यौं । चार वर्षपछि एमालेमै सङ्घर्ष गर्ने भनेर फर्कियौं । त्यसपछि कुनै बहस भएन ।”
उनले ०५० को दशकमा राष्ट्रियता, सीमा अतिक्रमणका विषयमा राम्रो बहस भए पनि त्यसभन्दा पछि कुनै बहस हुन नसकेको बताए । उनले अहिले लिम्पियाधुरा र कालापानी लगायतका भूभाग भारतले आफ्नो नक्सामा समेटेपछि राष्ट्र एकट्ठा हुन पुगेको बताए ।
“यस विषयमा राष्ट्रिय सहमति जुटेको छ । छलफल गरेर कालापानीबाट भारतीय अर्धसैन्य बल फिर्ता गराउने बेला यही हो,” उनले भने ।
उनले नापी विभाग, भूमि व्यवस्था मन्त्रालय निकालेको नक्सा नै त्रुटिपूर्ण रहेको ठहर गरे । उनले सरकारले निकालेको नक्साका विषयमा आफूले एक वर्षअघि नै कुरा उठाएको भए पनि उतिबेला वेवारिसेमा परेको र अहिले आएर राष्ट्र एकजुट हुँदा खुसी लागेको प्रतिक्रिया दिए ।
दुःखले सुख निम्त्याउने सन्दर्भ उल्लेख गर्दैै उनले भारतले नयाँ नक्सा सार्वजनिक गर्दा सिङ्गो देश एक ठाउँमा उभिन र राष्ट्रिय भावले ओतप्रोत हुन पाएको स्मरण पनि गरे ।
उनले नापी विभागकै एकजना कर्मचारीले त्यतिबेला लिपुलेक नै त्रिदेशीय विन्दु रहेको र सरकारले सहमति गरेको प्रतिक्रिया दिँएको बताउँदै कर्मचारीहरूको मनोदशाको उदाहरणसमेत दिए ।
“नापी विभागको कर्मचारीले नै लिपुलेकलाई पश्चिमोत्तर सीमानाको अन्तिम विन्दु जिकिर गर्यो,” उनले भने ।
उनले संयोगले अहिले केपी ओलीले राष्ट्रवादको नेतृत्व गर्ने मौका पाएको बताए । केपी ओलीकै अडानले नाकाबन्दीबाट भारत पछि हटेको उदाहरण दिँदै उनले ओलीकै अगुवाइमा नेपालले लिम्पियाधुरालाई पश्चिमोत्तर नेपालको अन्तिम सिमाना बनाउनुपर्ने बताए ।
“नाकाबन्दीका बेला उहाँ नै नेता बन्नुभयो । कसैलाई चित्त बुझे पनि नबुझे पनि अहिले पनि उहाँकै नेतृत्वमा सन् १८१६ को सन्धीअनुसार लिम्पियाधुरालाई अन्तिम सिमाना बनाउनुपर्छ,” उनले भने ।
नेकपाका प्रभावशाली नेता रहेका गौतमले सरकार नै सीमा अतिक्रमणका विरुद्ध उभिएकाले बन्द, तोडफोड, आगजनी र मसाल जुलुस प्रदर्शन आवश्यक नरहेको जिकिर गरे ।
उनले दुई देशबीच प्रधानमन्त्री स्तरमा सार्थक संवादको जरुरत रहेको र उच्चस्तरीय वार्ता र संवादले समाधान दिन सक्ने तर्क गरे ।१२खरीबाट

