संघीयता विरोधीसंग तालमेल गरेको भन्दै नेकपा बागलुङमा शेरमान उठे बागी उम्मेदवार

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बागलुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् ।

सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा नेकपाले राजमोका खिमविक्रम शाहीलाई सघाउने भएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् । ‘तालमेल नगरे पनि चुनाव जित्छौँ भनेर जिल्लादेखि केन्द्र स्तरका नेतालाई पटक–पटक भन्यौँ,’ उनले भने,

‘तर, उहाँहरुले के गर्नुभयो भने संघीयताको विरोध गर्ने, अखण्ड बागलुङ भन्ने, २५ सय ३ हजार भोट नआउँनेसंग तालमेल गर्ने, वर्षौदेखि राजनीति गर्दै आएको कार्यकर्तालाई अवहेलना गरियो ।’ आफूलाई बागी उम्मेदवारी दर्ता गराउनका लागि स्थानीयदेखि नेकपाभित्रका कार्यकताको पनि सहयोग रहेको उनले उल्लेख गरे ।

यद्यपि, घर्ती नेकपाका समर्थक भए पनि पार्टी भित्रको कुनै जिम्मेवार निकायमा भने छैनन् । ‘साथीहरुले त उम्मेदवार बन्ने कि नबन्ने भन्ने कुरा आयो । कुरा आइसकेपछि, तपाईंहरुको समर्थन भए म चुनावमा उठ्छु भनेर बागी उम्मेदवारी दर्ता गराएँ,’ उनले भने ।

शेरमान तत्कालीन माओवादीका जिल्ला कमिटी सदस्य थिए । शेरमान पार्टी एकिकणपछि पार्टीसँग असन्तुष्ट थिए । उनकै भाषामा भन्ने हो भने पार्टीले उनको आवाजलाई सुनेको थिएन ।

शेरमान ०७४ को चुनावमा तत्कालीन माओवादीबाट ढोरपाटन नगरपालिकाको मेयर पराजित बनेका थिए । यता नेकपा बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले भने शेरमानले उम्मेदवारी फिर्ता लिने र सहमतिमा आउँनका लागि निरन्तर सम्पर्क भई रहेको दाबी गरे ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu