सुनकोशीमा ख’सेको बसबाट १५ जनाको जीवितै उद्धार गर्ने महान व्यक्ति “सोनाम तामाङ” यिनै हुन्

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार

कृष्ण आचार्य – अस्ति आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाले ज्यान गुमाइसकेका छन्। दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सुकुटे बिच नजिकैबाट सुनकोशी नदीमा खस्दा सो दुर्घटना हुन पुगेको थियो। १७ जनाको ज्यान जानुका साथै ५० जाना घाइते भएको दुःखद् घटनाका कारण सिंगो देश शोकमा छ।

दुर्घटनामा घाइते भएकामध्ये कतिपयको तत्काल उद्धार हुँदा उनीहरुले नयाँ जीवन पाए। तत्काल उद्धार गरेर उनीहरूलाई नयाँ जीवन दिनेमध्यका एक जना प्रमुख व्यक्ति हुन्, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ का सोनाम तामाङ। बोटिङ गाइड सोनाम घटना भएको दुई मिनेटमै आफ्नो बोट र केही साथीहरू सहित सुनकोशीमा पसेर धेरैको ज्यान बचाए। उनी कोशीमा पसेपछि उनका थप साथी र बसका सकुशल यात्रु पनि उद्धारमा जुटे। अनि प्रहरी र अन्य स्थानीय आइपुगे।

सुनकोशी बस दुर्घटनाको उद्धार कसरी भयो त? बोटिङ गाइड सोनाम तामाङले नेपालखबरसँग आफ्नो अनुभव यसरी साटेः

सुनकोशीमा बस खस्दा म सुकुटे बिचमा थिएँ। खस्ने बित्तिकै ठूलो आवाज आयो। तर, आवाज के को हो भन्ने एकीन भएन। केही न केही त भएको छ भन्ने मनमा लागिरहेका थियो।

त्यति नै बेला सुकुटे बिच क्याम्पका म्यानेजर श्याम दाइले बस नदीमा खसेको बताउनु भयो। तत्काल उहाँले मलाई बोलाउनुभयो। म, श्याम दाइ, लक्ष्मण गुरुङ र राजकुमार श्रेष्ठ बोट बोकेर त्यसतर्फ गयौं।

त्यतिबेला हामी दुर्घटना स्थल नजिकै थियौँ। दुर्घटना भएको दुई मिनेटभित्र हामी सुनकोशीमा पुगिहाल्यौँ।

घटनास्थलमा पुग्दा निकै आत्तिएँ- घटनास्थलमा पुग्दा सुरुमा त म निकै आत्तिएँ। टायर माथितिर फर्किएर गाडी कोशीमा उत्तानो परेर डुबेको थियो। मान्छेहरु चिच्याइरहेका थिए। यसो हेरेको बसमाथि ५–६ जना मान्छे भएकोजस्तो लाग्यो। उनीहरु उद्धार गर्न आएका होलान् भन्ने सोचेको थिएँ। तर, होइन रहेछ। यात्रुहरु नै रहेछन्।

त्यो दृश्य देखेर मेरो हात–गोडा जमे जस्तै भए। चल्दै चलेनन्। लामो सास तानेर आफूलाई सम्हालेँ। ढिलो गर्ने अवस्था थिएन। बोट टाउकोमा बोकेर हामी कोशीमा पस्यौं।

त्यसपछि हात दिँदै मान्छे तान्दै गएँ। साथीहरुले पनि सहयोग गरे। सकुसल रहेका २–३ जना बसकै यात्रुहरु पनि हुनुहुन्थ्यो। उहाँहरुले पनि सहयोग गर्नुभयो।

१५–१६ जनालाई एक्लै तानें- मैले हात दिँदै बच्चादेखि अन्य यात्रुलाई तान्दै गएँ। १५–१६ जना जतिलाई म एक्लैले तानें। अरुलाई साथीहरुले ताने। खोला १० फिट जति गहिरो थियो। तर, हामी ज्यानको बाजी लगाएर भए पनि उद्धारमा जुट्यौँ।

त्यतिबेला आफ्नो ज्यानभन्दा अरुको ज्यान बचाउन पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ। त्यो एउटा ‘रिस्क’ पनि थियो।

मान्छेहरु आत्तिएको, रोएको, कराएको, चिच्याएको, छटपटाइरहेको दृश्य मेरो आँखा अगाडि नाचिरहेको थियो। हामीले ‘नआत्तिनुस्, ढुक्क हुनुस् हामी तपाईंहरूलाई उचालेर हुन्छ कि तानेर हुन्छ बचाउँछौँ’ भन्दै सान्त्वना दिइरह्यौँ।

महान् काम हैन– उद्धारमा सहभागी भएको थाहा पाएपछि सामाजिक सञ्जालमा धेरैले मलाई बधाई तथा धन्यवाद दिइरहनुभएको छ। राम्रो काम गरेँ भनेर खुसी छु। तर, आफूले कुनै महान् काम गरेकोजस्तो भने लाग्दैन।

मैले त केवल आफ्नो धर्म निर्वाह गरेको न हुँ। मानवताको हिसाबले मेरो ठाउँमा अरु कोही हुन्थ्यो भने पनि त्यसै गथ्र्यो। त्यही हो मैले मुटु दह्रो बनाएर काम गरेँ।

त्यतिबेला चर्चाका लागि पनि मैले यो काम गरेको होइन। धेरैभन्दा धेरै मानिसलाई कसरी बचाउन सकिन्छ भन्नेमै ध्यान थियो।

हामीले उद्धार गरिरहँदा अरु बोटहरु पनि आए। उनीहरुले अलि परपर बगेका मानिसलाई उद्धार गर्न थाले। तर, बगेकामध्ये कसैलाई पनि बचाउन सकिएन। यो कुरामा भने मलाई दुःख लागेको छ। उनीहरुलाई पनि बचाउन पाएको भए मनमा अझ शान्ति हुन्थ्यो।

सडकसम्म घाइतेलाई बोकेर लग्यौँ- दुर्घटनास्थलबाट सडक करिब ३०० मिटरको दूरीमा थियो। त्यहाँ एम्बुलेन्स आएर बसिरहेको थियो। सडकसम्मको पाटो निकै अप्ठ्यारो भएकाले घाइतेलाई बोकेरै लग्नुपर्ने भयो। साथीहरु मिलेर सडकसम्म लग्यौँ। जुन गाडी आउँछ त्यसमै राखेर अस्पताल पुर्याउने काम भयो। पछि अरु एम्बुलेन्स पनि आए।

सबै रक्ताम्य थिए। मेरो कपडाभरी रगत लागेको थियो। तर घाइतेको पीडा आवाजमा सुन्दा मन निकै रुन्थ्यो। आफू कमजोर भयो भने उनीहरुको उद्धार कसले गर्छ भनेर मैले मनलाई बलियो बनाएँ।

डाक्टर ढिलो आए- धेरै मान्छेहरु पानीमा डुबेका थिए। उनीहरुको उद्धार गरेर बगरमा ल्याउने काम भयो। यसमा अन्य साथीहरु लाग्नुभयो। उद्धार पनि गर्न सकियो तर बचाउन सकिएन।

उद्धार गरिएकामध्ये कतिपयको सास चलिरहेको थियो। यदि समयमै डाक्टर आइदिएको भए बचाउन सकिन्थ्यो होला। तर, डाक्टरलाई ढिला खबर भएछ। ८ किलोमिटरको दूरीमा रहेको अस्पतालबाट उहाँहरु आउन करिब डेढ घण्टा लाग्यो।

समयमै उहाँहरुलाई खबर गरेको भए थप २–४ जनालाई बचाउन सकिन्थ्यो होला। किनकि डाक्टर आएको आधा घण्टापछि निकालेको एक जना बच्चालाई बचाउन सकिएको थियो।

मैले बोटिङ गाइड गर्न थालेको ७ वर्ष भयो। अहिले सुकुटे बिचमा फ्रिलान्सरको रुपमा काम गर्छु। यहाँ काम गरेको दुई वर्ष भयो। यसअघि खोलामा र्‍याफ्टिङ गर्न आउनेहरुलाई बचाएको थिएँ। तर, यस्तो भयानक दुर्घटना मैले जीवनमै पहिलोपटक देखेँ। अहिले त त्यो समय सम्झँदा पनि मन सिरिंग हुन्छ। कसरी जोश आयो र गर्न सकेँ भन्ने लाग्छ।
-साभार नेपालखबरबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu