धरानको मेयरका लागि कांग्रेसका तिलक राई सर्वसम्मत प्रत्यासी, जनताले आफुलाई जिताउने राईको दाबि !

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार

धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले तिलक राईलाई टिकट दिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा राईलाई शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले टिकट दिने निर्णय गरेको हो ।

राई ०७४ मा भएको स्थानीयतह निर्वाचनमा पनि मेयर पदको लागि कांग्रेसबाट उम्मेदवार थिए । उनी कांग्रेस उपमहानगर समितिका सभापति पनि हुन् । यसपटक पनि उनलाई उम्मेदवार बनाउन असोज २५ गते कांग्रेस धरान कमिटिले सर्वसम्मत निर्णय गर्दै सिफारिश गरेको थियो । सोही सिफारिश अनुसार केन्द्रीय समितिले सभापति राईको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।

राई नगर, जिल्ला हुँदै केन्द्रीय समितिबाट समेत सर्वसम्मत उम्मेदवार बन्न सफल बनेका छन् । राईलाई जिताउन सुनसरी कांग्रेस एक भएको छ । कम्युनिष्टहरुको दुई तिहाइँको दम्भ जसरी पनि अन्त्य गर्नुपर्ने भन्दै कांग्रेसले राई जसरी पनि जिताउने रणनीति बनाएको हो ।

उपनिर्वाचनमा धरानमा मेयर पदका कांग्रेसी उम्मेदवार तिलक राईले यस पटक जनताले आफुलाई न्याय दिने बताएका छन् ।

तिलक राईले भनेका छन्, पहिले मन जिते, चुनाब हारेपनि पनि जनताको सेवामा अहोरात्र खटिरहेको छु् । यस पटक मलाई जनताले जिताउनुहुनेछ ।

०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तारा सुब्बासँग पराजीत उम्मेद्वार तिलक राईलाई नै पुनः उम्मेद्वार भएका छन् ।

आगामी मंसिर १४ गते धरानमा हुन लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसले तिलक राईलाई पुनः उम्मेदवार बनाउने भएपछी नेकपालाई बलियो उम्मेद्वार छान्न समेत सकस परेको बताईएको छ ।

तिलक राई स्थानीय निकायको निर्वाचनमा स्वर्गिय तारा सुब्बासँग ४७७३ मतले पराजित भएका थिए । स्व सुब्बाले २०९७५ मत ल्याउँदा राईले १६२०२ मत हासिल गरेका थिए । कांग्रेस धरान उपमहानगर सभापति समेत रहेका तिलक राई किरात राई यायोक्खामा समेत आबद्ध छन् ।

पछिल्लो समय सत्तारुढ नेकपाको कार्यशैलीले जनतामा निराशा जमाईरहेको बेला उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पकड जमाउने देखिएको छ । तथापि, धरानमा अहिलेसम्म नेपाली कांग्रेसले चारतारे झण्डा गाड्न नसकिरहेको अवस्थामा उपनिर्वाचनमा तिलक राईले कांग्रेसलाई पार लगाउनेमा शंका पनि छ ।

नेपाली कांग्रेस धरान भित्र आन्तरिक रुपमा किचलो छ । खासगरी निवर्तमान धरान उपमहानगर सभापति किशोर राई र तिलक राई विचको टकरावले कांग्रेसलाई कमजोर बनाएको स्वयं कांग्रेसीहरुले भनिरहँदा उपनिर्वाचनमा कांग्रेस उदाउन गाह्रो भएपनि असंभव भने छैन । खैर चुनाबपछिको नतिजाले नै बताउनेछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu