नेपाली नागरिकता र पासपोर्ट नत्यागेसम्म एनआरएन हुईदैन !

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार

रुद्र अधिकारी “निर्दोषी”

गैरआवासीय नेपालीको विश्वब्यापी महाधिवेसनसंगै बिबादकाबीच चलिरहेको चुनाबी सरगर्मीले बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई तताएको छ । कुनै पनि नेपाली समाज, संघ-संस्था, जातिय संगठन, धार्मिक संस्था, युवा, महिला, बिध्यार्थी, कर्मचारी, ब्यापरी मात्र हैन गाॅउ-टोलका स-साना उपभोक्ता समूह समेत राजनैतिक दलका भातृ संस्था भन्दा माथि उठ्न नसकिरहेको बर्तमान परिपेक्षमा गैर आवासीय नेपाली (एन.आर.एन.) पनि अछुतो रहेन । एन.आर.एन. मा राजनिती रंग देखिएपछि संस्थागत अध्यक्ष उपेन्द्र महतोले राजिनामा दिएसंगै एन.आर.एन. बाट नेपालीले जुन आशा राखेका थिए त्यो आशा निराशामा परिणत भएको छ ।

बिदेशी भुमिमा सिकेको ज्ञान र सिप गैर आवासीय नेपालीहरुले नेपालमा प्रयोग गर्नेछन जसबाट संबृद्ध नेपालको सपना साकार हुनेमा सहयोग पुग्ने सबैले अपेक्षा राखेका थियो । सदस्यताको बिवाद पश्चात गैर आवासीय नेपालीले जुन चर्तिकला देखाए त्यो देखेर गैर आवासीय नेपालीहरुले देश छोडेपनि राजनैतिक दलको चाकडी गरेर भातृ संगठन जस्तै बनिरहने बानि भने नछोडेको प्रतित हुन्छ ।आज यहाॅ चर्चा गर्ने बिषय गैर आवासीय नेपालीको विश्वब्यापी महाधिवेसन र चुनाब भन्दा भिन्नै छ ।

सन २००३ मा स्थापना भएको गैर आवासीय संघले हाल सम्ममा ८१ भन्दा बढी देशमा शाखा बिस्तार गर्न सफल भएको देखिन्छ । “एक पटकको नेपाली सधैको नेपाली” भन्ने भावनालाई आत्मासाथ गर्दै अघि बढेको यो संस्थाले नेपालीद्धारा नेपालीका लागि” भन्ने धेय लिएर बिभिन्न परोपकारी काम समेत गर्दै आईरहेको पाइन्छ ।

नेपालीहरु बिश्वभरी छरीने बढ्दोक्रम संगै गैरआवासीय नेपालीबारे नयाँ बहस शुरु हुन थालेको छ । नेपालमा सायदै यस्तो घर नहोला जुन घरबाट कोहिनकोही बिदेश गएको नहोस । यसरी नेपाली गैरनेपाली बन्ने क्रमले समाजिक, सांस्कृतिक, राजनौति, आर्थिक र अन्य थुप्रै क्षेत्रहरु होलान जसमा सकारात्मक वा नकारनत्मक असर पारेको होस–जुन गहिरा अध्यायन र अनुसन्धानबाट मात्र यकिन गर्न सकिन्छ । आज यहा चर्चा गर्न लागेको बिषय भने अलग छ । जुन हेर्दा सामान्य लागे पनि अत्यन्त जटील र दुरगामि असर पर्न खालको छ । आउनुहोस “गैर आवासीय नेपाली” को हुन? कस्लाई “गैर आवासीय नेपाली” भन्ने?, बारे नयाँ बहसको शुरुवात गरौ । ​

यो लेख पढीरहदा धेरै “गैरआवासीय नेपाली”ले मलाई गाली गर्नुुहुन्छ होला ? मलाई आशा छ यदि तपाई सच्चा “नेपाली” हुनु हुन्छ भने एक पटक छातीमा हात राखेर मनन गर्नु हुने छ र तपाई पनि यस बहसमा सहभागि हुनु हुने छ ।

गैर आवासीय नेपाली” को हुन ?

“गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४” मा उल्लेख भय अनुसार, “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । “नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ । “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनु पर्छ ।

गैर आवासीय नेपालीबारे गरिएको माथि उल्लेखित परिभाषा आफैमा बिरोधाभाषपूर्ण देखिन्छ । यस परिभाषाले एकातर्फ गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ भनेको छ भने अर्को तर्फ सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ भनिएको छ ।

यहाँ बहस गर्न खोजिएको बिषय– यदी “गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ” भन्ने पहिलो परिभाषालाई मान्ने हो भने “सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ” भन्ने परिभाषालाई हटाउनु पर्ने देखिन्छ । नेपाली जहाँ बसे पनि नेपाली नै हुन्छ, जबसम्म उसले नेपालको नागरिकता त्याग गर्दैन ।

आवासको आधारमा नेपाली र गैर आवासीय नेपाली भनेर बिभेद गरिनु के न्याय संगत होला ? नेपाली नागरिकले दुई चार बर्ष बिदेशमा बस्दैमा गैरआवासीय नेपाली भनेर सम्बोधन गर्दा के उनिहरुको आत्मामा चेट पुग्दैन ? रेमिटेन्सले धानेको अर्थतन्त्र भएको नेपाल जस्तो मुलुकाका लागि विदेशमा रोजगार गर्ने नेपाली सच्चा नेपाली हुन नकी गैरआवासीय नेपाली ।

गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ ले सार्कको सदस्य मुलुकमा बसोवास गर्ने, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावासमा बहाल रहेका र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको बिध्यार्थीहरुलाई भने गैर आवासीेय नेपालली मानेको छैन तर यसबाहे कुनै पेशा, व्यवसाय वा रोजगारी गरी विदेशमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिकलाई भने गैर आवासीय नेपालली मानेको छ ।

गैरआवासीय नेपाली संघ “एक पटक को नेपाली सधैको नेपाली” भन्ने नारा लिएर अगाडी बढेको छ । जब कुनै नेपालीले अरु देशको नागरिकता र पासर्पोट लिन्छ उ स्वत त्यो देशको नागरिक बन्दछ । उसलाई सम्बन्धित देशले आप्नो देशको संबिधान, नियम र कानुन अनुशार सपथ–कसम खुवाएर नागरीक बनाउछ । अरु देशप्रति बफादार हुने कसम खाए ब्यब्ति अब कसरी “एक पटक को नेपाली सधैको नेपाली” हुन सक्छ? एउटा दृश्टान्त हेरौ– यदि भबिश्यमा नेपाल र गैर आवासीय नेपालीले नागरिकता लिएको देश बीच कुनै खेल भयो । उसले कुन देशको पक्ष लिन्छ ? नेपालीहरुले क्रिकेट लगायत अन्य खेलमा प्रगति गरीरहेको सन्र्दभमा त्यो दिन टाढा नहोला? वा भोली तेस्रो बिश्व युद्ध भयो– तपाई गैर आवासीय नेपालली भएर सोच्नुहोस । तपाई कुन देशको पक्ष लिनु हुन्छ? नेपालको वा त्यो देशको –जुन देशको नागरिकता वा पासर्पोट लिनु भएको छ ?

यी र यस्ता अनगिन्ति प्रश्नहरुलाई गहिरोगरि बिश्लेशण गर्ने हो भने “गैर आवासीय नेपाली” को हुन? र कस्लाई “गैर आवासीय नेपाली” मान्ने भनेर सजिलै निश्कर्ष निकाल्न सकिन्छ ।

गैर आवासीय नेपाली संघले भने जस्तै “एक पटक को नेपाली सधैको नेपाली” तब सम्म हुन्न जब सम्म उसले नेपाली नागरीकता त्याग गर्दैन । आजको आवश्यकता गैर आवासीय नेपालीको पुनः  परिभाषीत गर्नु हो । खाडी मुलुकको तातो घाममा काम गरेर नेपालमा रेमिटयान्स पठाउने नेपालीलाई उनिहरुको सम्मानका लागि भएपनि गैर आवासीय नेपाली भनिनु हुदैन । यूरोप, अमेरीका वा अरु कुनै देशमा काम गरे बसे पनि नेपाली नागरीकता र पासर्पोट बोकेर नेपाली भएकोमा गर्भ गर्ने नेपाललीलाई गैर आवासीय नेपाली भनिनु हुदैन । आप्नो खुशीले कसैले नेपाली नागरिकता त्याग गर्छ र अरु देशको नागरिक लिन्छ भने त्यसलाई मात्र “गैर आवासीय नेपाली” भनिनु पर्छ ।

तरहरा,ईटहरी,सुनसरी
हाल– लन्डन, बेलायत

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu