यो बिधेयक लागु हुने बित्तिकै घोर अन्धकारका दिनहरु शुरु हुदै जनताका लागि खत’रनाक हुनसक्छ

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

‘म’ यो सरकारलाई कसरी प्रशंसा गरुँ ?– ३

विनोद त्रिपाठी– ६ महिना अघि दक्षिण भारतमा एक बलत्कार घटनालाई प्रहरीले पुरै वेवास्ता गर्यो । पीडितले दिएको उजुरी (एफआईआर) लिन प्रहरीले मानेन । बलत्कारी को हो सारा गाउँलेलाई थाहा थियो । प्रहरीलाई थाहा नहुने कुरै थिएन । बलत्कारी किशोर घरानिया खानदानको थियो । पहुँचका आधारमा ठुला मिडियाले त्यो घटनालाई प्राथमिकता दिएनन् । घटनालाई राजनीतिकरण गरियो । कलेजका युवाले जुक्ति निकाले । घटनालाई सामाजिक संजालमा पोष्ट गरिदिए । एकाएक भाइरल भयो । भारतभर फैलियो । बाध्य भएर प्रहरीले पिडकलाई पक्राउ गर्यो । पीडितले थोरै भएपनि राहत पाइन् । अहिले त्यो मुद्धा भारतको उच्च अदालतमा चलिरहेको छ ।

४ बर्ष अघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति उम्मेदवारमा दौडधुप गरिरहंदा उनलाई बिश्वभरका मिडियाले खिस्सी गरिरहेका थिए । आफ्नै देशका मिडियाबाट पनि उनले गंभिर रुपमा साथ पाएनन् । फक्स टेलिभिजन बाहेक अन्य मिडियाले उनलाई उडाइरहेका हुन्थे । उनको प्रतिद्धन्द्धी हिलारी क्लिन्टन सालिन र भद्र महिला बनेर बिश्वभर वाहवाह कमाइरहेकी थिइन् । ट्रम्प भने मिडियाका स्थानमा कि जोकर बन्थे कि काम नलाग्ने रियल स्टेट ब्रोकर बनेर चिनिन्थे । उनले यो केहि प्रवाह गरेनन् । बिश्वका बिभिन्न मत सर्बोक्षणमा उनि चुनाव हार्थे । अन्तत जब सम्पुर्ण चुनावका नतिजा सकिए, ट्रम्प राष्ट्रपतिमा निर्बाचित भए । त्यो बेला, बिश्वकै मुलधारका मिडियाहरुले आँफुले आँफैलाई समिक्षा गर्न पुगे । बेलायत स्थित द टेलिग्राफको संचार सम्पादकहरुको टिमले निष्कर्ष निकाल्यो । ‘मानिसको लोकप्रियता समाचारको शब्दहरुमा होइन, जनताको मन भित्र हुनु पर्नेरहेछ ।’

पछिल्लो पटक नेपालमा रवि लामिछाने करिब देशैभरका जनतामा चिनिए । गाउँका कुना कन्दरादेखि भब्य महलका भद्रहरु बिच रवि परिचित भए । तर, मुलधारका मिडियामा रवि पुरै अपरिचित ठहरिए । रविका बारेमा मुलधारको कुनै कुनामा स्थान पाएपनि अपराधी झैं चित्रण गरिन्थ्यो । जब रवि हिरासत पुगे, अनि हजारौं जनता सडकमा ओर्लिए । तर, पनि मुलधार पत्रकारिता मौन रह्यो वा बिरोधमै उत्रियो । मलाई चितवनका एक सक्रिय रिपोर्टर भाईले फोन गरेर सोधेका थिए, ‘सानो भीड जम्मा हुँदा पनि पत्रिकाले समाचार छापिहाल्थ्यो । तर, यहाँ त झण्डै लाखौं मानिसहरु सडकमा छन् । किन रवि लामिछानेको तस्विर र समााचार छापिँदैन दाई ?’ मैले उसलाई छोटो उत्तर दिएको थिएँ, खै मैले पनि पत्रकारिताको परिभाषा खोजिरहेको छु भाई ?’

सायद ४ महिना अघि होला । कान्ति बाल अस्पताल महाराजगंज अगाडी एक महिला हतासमा कुदिरहेकी थिइन् । उनको हतासलाई देखेर एक सज्जनले सोधिहाले, ‘दिदि किन आत्तिनुभएको ? के खोज्नुभएको ?’ सबै रोकिएर त्यो दृष्य हेरिरहे । ‘सामाजिक मान्छे खोजेको, कहाँ हुनुहुन्छ नंबर दिनु न ,’ उनले अत्तालिंदै भनिन् । छोरीको उपचार गर्न पैसा भएन । सहयोग चाहियो ।’ ‘पत्रकारलाई बोलाउनु न दिदि, सबैले सहयोग गर्छन् , ति भद्रले उनलाई सम्झाउँदै भने ।’ पत्रकारले सक्दैनन् । समाचार त धेरै पटक आइसक्यो, उनले झन आत्तिंदै जवाफ फर्काइन् ।

एक पटक सडक बिभाग बबरमहलका हाकिमसंग काठमाडौका एक पुराना सम्पादकको गलफत्ती परेछ । ति सम्पादकले उनिसंग पटक पटक पैसाको बार्गेनिङ गर्दा रहेछन् । पत्रिका चलाउन नसकेको, पत्रकारलाई तलब दिन नपाएको आदि समस्या लिएर ति सम्पादक उनि कहाँ पुगिरहन्थे । हाकिमले पनि एक÷दूई पटक पैसा दिएछन् । पछि अति नै सताउन थालेपछि ति सम्पादकलाई तर्साउँदै भनेछन्, ‘तपाई अब म कहाँ आउनु भो भने फेसबुकमा तपाईले पैसा मागेको सार्बजनिक गरिदिन्छु ।’ त्यसपछि ति सम्पादकले सडक बिभाग कहिल्यै टेकेनन् । यो कुरा मलाई केहि महिना अघि ति हाकिमले सविस्तार सुनाएका थिए ।

माथि उल्लेखित यी केहि उदाहरण हुन्, जुन बिषयले अहिले संचार क्षेत्रलाई केहि न केहि फरकधारबाट चित्रण गरिरहेको छ । अहिले जनताले दुईटा काम गर्ने ब्यक्तिलाई बिश्वास गर्देनन् । पहिलो राजनीति गर्नेलाई र दोस्रो पत्रकारिता गर्नेलाई । त्यहि भएर सबै सामाजिक संजालमा नेता वा पत्रकारको बिषय सार्बजनिक हुने बित्तिकै जनता एकैचोटी ओइरिएर सरापिरहेका हुन्छन् । यो एउटा जनताको आक्रोषको प्रतिविम्ब हो । यो देख्दा एउटा पत्रकारिता क्षेत्रको ब्यक्तिको नाताले निकै पीडा पनि दिंदोरहेछ । किनकी कि हामी कहाँ चुक्यौं र जनताको बिश्वास कसरी गुमायौं भन्ने कुरा अब आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ ।

बिश्वका सबैजसो प्रजातान्त्रिक देशहरुका मिडियाले यो समिक्षा गरिसकेका छन् । उनिहरु हामी भन्दा केहि पाइला अगाडी छन् । भारतमा २ सय बढि युट्युव च्यानलले निरन्तर समाचार दिइरहेका हुन्छन् । अमेरिकामा अहिले बिभिन्न भाषाका १२ सय बढि युट्युवका समाचार च्यानल सक्रिय छन् । अहिले बिश्वमा सबैभन्दा बढि शक्तिशाली युट्युब मिडिया बनेर उभिएको छ । तर, हाम्रो पत्रकारिताले अझै यो समिक्षा गर्ने संकेत देखाएको छैन ।

नेपालमा कुनै बेला साप्ताहिक पत्रिकाको स्थान बलियो थियो । ०५५ सालपछि दैनिक पत्रिकाले स्थान पायो । अधिकांश साप्ताहिक पत्रिकाले जनताको बिश्वास गुमाउँदै गए । ०६० सालपछि टेलिभिजन र एफएम रेडियो ओइरिए । ०७० सालपछि अनलाईन र युट्युब फैलिए । यसरी द्रुतगतिमा मिडियाका स्थानहरु थपिंदै बदलिंदै संचार क्षेत्र यहाँसम्म आइरहेको छ ।

हात र काँधमा बोकेर रेडियो सुन्ने, बिहानै पत्रिका पढ्ने, सोफामा बसेर टेलिभिजन हेर्ने शैलीमा पुरै परिवर्तन आइसकेको छ । यो बदलावलाई सरकारले बुझेको छैन । सम्बन्धित ब्यक्तिका सुचनाका आधारमा भन्ने हो भने अहिले नेपालमा ८० प्रतिशत पत्रिका बितरणमा कमि भएको छ । एउटा नं वान राष्ट्रिय दैनिक मुस्किलले १० हजार प्रति पत्रिका छापिन्छ अहिले । त्यो पनि ग्राहक बनेका सरकारी कार्यालयहरु र बिज्ञापन एजेन्सीका लागि मात्रै । निकै थोरै मात्र ब्यक्तिगत र गैरसरकारी संस्था ग्राहक छन् । टेलिभिजन र रेडियोको हालत त्यहि छ । घरघरमा टिभी त छन्, तर खोलेर टिभीको समाचार हेर्ने छोडिसके । अहिले मान्छे टिभीका अगाडी सोफामै बस्छ, तर त्यहि कार्यक्रम मोवाइलबाट हेरिरहेको हुन्छ । बजारमा टिभी र रेडियोको बिक्री ९० प्रतिशतले घटेको ब्यापारीहरु बताउँछन् ।

यसको मतलब मिडियाको महत्वलाई कम भन्न खोजिएको होइन । अहिलेको बास्तविकता मात्र उजागर गरिएको हो । स्रोताले त्यहि रेडियोको समाचार अनलाईनबाट सुनिरहेको हुन्छ । टिभीको कार्यक्रम युट्युबवाट हेरिरहेको हुन्छ । पत्रिकाको समाचार सामाजिक संजालमा नजोडेसम्म खासै कसैले पढेका हुँदैनन् । यसैलाई मध्यनजर राखेर बिश्वभरका सबै मिडियाले आफ्ना उत्पादनहरु फेसबुक, ट्वीटर, इन्टाग्राम, युट्युब लगायतमा उपलब्ध छ भनेर प्राथामिकता साथ प्रचार गरिररेका हुन्छन् । तर, नेपाल सरकार यहि अनलाइन, युट्युव र सामाजिक संजाल नियन्त्रण गर्देछ । यो भन्दा बिडम्बना के हुन सक्छ ?

कुनै वेला हाम्रा कुनै दैनिक पत्रिकामा उपचार नपाएका वा परोपकारी समाचार खुबै छापिन्थे । त्यहि पढेर परोपकारी मनहरुले धेरै सहयोग गरे । तर, अहिले पत्रिकामा त्यस्ता समाचार छापेर कुनै प्रभाव पर्देन । सहयोग जुट्दैन । कसैले सुन्दैन । एउटा राष्ट्रिय दैनिकको समाचार भन्दा एउटा अभियन्ताले क्षणभरमै लाखौं सहयोग जुटाइदिन्छ । त्यहि भएर दुख पाएकाहरु र सहयोग खोजेकाहरु अभियन्ताका पछि लागिसकेका छन् । यी पछिल्ला उदाहरणहरु हामीले देखिसकेका छौं ।

पत्रिकामा छापिएका समस्याका बिषयले खासै चर्चा पाउँदैन । तर, सामाजिक संजालमा कुनै समस्या र आलोचना हुने बित्तिकै सरकारलाई टाउको दुखाई हुने गर्छ । किनकी सामाजिक संजालका सुचना र खबरहरु हरेक नागरिकका हातहातमा पुगिसकेको हुन्छ । यसैलाई मध्यनजर राखेर बिश्वका चर्चित पत्रकारहरु अहिले सामाजिक संजालमा ट्रेण्ड बटुलिरहेका छन् । आफ्नै संजालबाट पत्रकारिता गरिरहेका छन् । युरोप, अमेरिका लगायत अधिकांश बिकसित मुलुकमा सिनियर मिडियाकर्मीहरु धमाधम आफ्नै फेसबुक पेज, ट्वीटर, युट्युब र अन्य संजाललाई बिस्तार गरेर पत्रकारिता गरिरहेका छन् । अमेरिका लगायतका मुलुकले सामाजिक संजाललाई मुलधारको पत्रकारिता भनेर परिभाषा गरिसकेको छ । २०१६ मा न्युयोर्कको एक पत्रकारिता पढाउने इन्स्टिच्युटमा भेला भएका बिश्वका केहि सम्पादकहरुको बैठकले सामाजिक संजाल नै अबका केहि दशक मुलधारको पत्रकारिता हुने घोषणा गरेको थियो । नेपालमा पनि बिस्तारै यो क्रम शुरु भएको छ । कुनै बेलाका चर्चित टेलिभिजनकर्मी बिजयकुमार पाण्डे लगायत धेरे बरिष्ठ पत्रकारहरु आफ्नै अनलाईन र युट्युब खोलेर पत्रकारिता गरिरहेका छन् ।

अन्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले वाक स्वतन्त्रतालाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि मात्र स्वतन्त्र पत्रकारिता हुन्छ भनेर आइएफजेले परिभाषित गरेको छ । यसैलाई मध्यनजर राखेर अन्तराष्ट्रिय पत्रकार महासंघले सामाजिक संजालमा बन्देज लगाउने वा कुनै न कुनै कानुनी रुपमा नियन्त्रण गर्ने मुुलुकलाई पत्रकारिता हनन गर्ने देश भनेर घोषणा गरिदिएको छ । प्रेस स्वतन्त्रतालाई संकुचन बनाउन सामाजिक संजाललाई नियन्त्रण गर्ने मुलुकहरुलाई आइएफजेले कालोसुचीमा सुचीकृत गरेको छ ।

तर, नेपालले यो कुरा बुझ्न चाहेको छैन । अहिले संसदमा छलफलमा रहेको मिडिया बिधेयक लागु भयो भने नेपाल धेरै बर्षसम्म अन्धकारमा धकेलिनेछ । माथि उल्लेखित बोल्ने र लेख्ने स्वतन्त्रताका यावत पक्षलाई नियन्त्रण गर्ने उद्धेस्यले ल्याइएको यो बिधेयकले हाम्रा तमाम अधिकार खोस्ने निश्चित छ । बिधेयकका बुँदा–बुँदा म यहाँ उल्लेख गर्न चाहन्न । तर, बिधेयकका हरेक शब्दहरुले नेपाललाई उत्तरकोरिया बनाउने चेष्टा गरेको छ । नेपाल पत्रकार महासंघ यसमा किन मौन बस्यो यो निकै आश्चार्यको बिषय भएको छ । यदि यो बिधेयक लागु भयो भने अन्तराष्ट्रिय पत्रकार महासंघले तिब्र बिरोध गर्ने निश्चित छ । बिधेयकले प्राथमिकता साथ सामाजिक संजाललाई नियन्त्रणमा राख्ने घोषणा गरेको छ । यो भनेको सर्बसाधारण नागरिकको वाक स्वतन्त्रता माथिको बन्देज हो । सामाजिक संजालमा हुने अबान्छित गतिबिधी वा अन्य गलत काम गर्नेलाई साइवर क्राइमका कानुन छँदैछन् । तर, संचारक्षेत्रलाई नियन्त्रण गर्न यो बिधेयक ल्याएर नेपाल बिश्वमै प्रेस स्वतन्त्रता हनन गर्ने कान्छो मुलुक सावित हुँदैछ । त्यसैले, यदि यो मिडिया बिधेयक कार्यान्वयनमा आयो भने नेपालमा निम्न बमोजिम क्षति हुने स्पष्ट छ ।

१, आंशिक मात्र स्वतन्त्र प्रेस भएका क्युवा, भेनेजुएला, रुस, चीन लगायतका मुलुक जसरी नेपाललाई पनि अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका प्रेस स्वतन्त्र बिदेशी संस्थाले यहाँका संचारसंस्थालाई सधैंभरि अबिस्वास गर्नेछन् । बिभिन्न मुलुकले नेपालमा निगरानी बढाउनेछन् ।

२, नागरिकको बोल्ने स्वतन्त्रता खोसिएको भनेर बिभिन्न प्रजातान्त्रिक मुलुकले नेपाललाई दिंदै आएको सहयोगमा कटौती गर्नेछन् । यसले हाम्रो बिकासमा दुरगामी असर पार्ने निश्चित छ ।

३, अन्तराष्ट्रिय बिभिन्न प्रेस सगठनहरुको आग्रह र अनुरोधमा नेपाल पत्रकार महासंघ पुन आन्दोलनमा जान बाध्य हुनेछ । यसले महासंघको साख गिरिसकेको हुनेछ । नागरिकले पत्रकार महासंघलाई हेर्ने नजरमा झनै नकारात्मक बढ्नेछ ।
४, बिदेशमा बसेका नेपालीहरु सामाजिक संजालमा झनै सक्रिय हुनेछन् । अनि यहाँका प्रेस बिरोधी संस्था, ब्यक्ति र सरकारको बिश्वभरि बेइज्जतको पराकाष्ठा नाघ्नेछ । नेपालप्रति बिश्वभरि घृणा फैलिने निश्चित छ ।

५, दलहरु माथि बिश्व समुदायले प्रश्न उठाउनेछ । सरकार र दलहरुको बिश्वका मञ्चहरुमा हुने प्रतिनिधित्वलाई शंकाको रुपमा हेर्ने र नेपालप्रति अबिश्वास झनै उच्च हुनेछ ।

अत: अहिले जनताको मुख थुन्न सरकारले मिडिया बिधेयक ल्याएको छ । यसले केहि ब्यक्तिको गलत मनसायले यो बिधेयक वनेको स्पष्ट छ । यो बिधेयक लागु गरेपछि सबैभन्दा नोक्सान देशले ब्यहोर्नुपर्नेछ । त्यसपछि जनतालाई अनि सत्तारुढ दललाई क्षति हुने निश्चित छ । बिधेयकलाई लागु गर्न केहि महिनादेखि पत्रकार थुन्ने र मिडियालाई नियन्त्रण गर्न सरकारले ट्रायल गरिरहेको सबैलाई अवगत नै छ । संचारकर्मीलाई थुनेर अहिले सरकारले गरिरहेको बिधेयकको परिक्षण यसैको कालो संकेत हो । यो बिधेयक लागु हुने बित्तिकै शुरु हुने घोर अन्धकारका दिनहरु जनताका लागि झनै खतरनाक हुनेछन् । यसपछि नेपालले धेरै बर्षसम्म यसको मुल्य चुकाउनेछ । त्यसैले म अर्थात हामीले यो सरकारको कसरी प्रशंसा गर्ने ?

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu