‘ब्रिटिस गोर्खा’को गुनासो बेलायतका नयाँ प्रधानमन्त्रीले पनि नसुनेपछि भोक हड्ताल गर्ने चेतावनी

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीको रुपमा बोरिस जोहन्सन आएपछि पनि ब्रिटिस गोर्खाको माग सम्बोधन गर्नेतिर कुनै ध्यान नदिइएकोमा ब्रिटिस गोर्खाका सदस्यहरुले लण्डनमा भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । ब्रिटिस गोर्खा सत्याग्रह आन्दोलनका नेता तथा भूपू ब्रिटिस गोर्खा सैनिक ज्ञानराज राईले आफूहरुको माग आउँदो नोभेम्बर ७ सम्ममा पूरा नगरिए रिले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा ‘गोरा’हरुले आफूहरुको माग सुनुवाई नगरेकोमा नेपाल सरकारले पनि वास्ता नगरेको आरोप लगाएका छन् ।

ब्रिटिस गोर्खा समुदायले बेलायती सरह सुविद्याको लागि अभियान चलाइरहेका छन् । उनीहरुले आफूले तोकेको मितिभन्दा अघि नै नेपाल र बेलायतको वार्ताका लागि मिति तय गरिनुपर्ने समेत माग गरेका छन् ।

बेलायतमा कन्जरभेटिभ पार्टीका नेता बोरिस जोहन्सन गएको जुलाई २४ तारिखमा बेलायतको नयाँ प्रधानमन्त्री भएकोमा उनी बे्रक्जिट मामिलामा अल्मलिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको जुन ११ का दिन बेलायत भ्रमणका क्रममा तत्कालीन बेलायती प्रधानमन्त्री टेरेसा मे सँग गोर्खा मामिलामा पनि कुरा गरेका थिए । सो अवसरमा ब्रिटिस गोर्खाको समस्याका बारेमा दुई सरकारबीच आगामी दिनमा वार्ता गर्ने विषयमा सैद्धान्तिक सहमति भएपनि बेलायती पक्षले चासो नदिएको ब्रिटिस गोर्खाको बुझाइ रहेको पाइएको छ ।

ब्रिटिस गोर्खाका तर्फबाट बेलायतका नयाँ प्रधानमन्त्रीलाई बधाई सन्देश पठाउँदै त्यसैमा आफूहरुका मागपनि समावेश गरेर दिइएकोमा त्यसको पनि सुनुवाई नभएको सम्बद्ध भूपू गोर्खाहरुले बताएका छन् ।

लण्डनमा गएको जुनमा प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतका प्रधानमन्त्री टेरेसा मेबीच दुई पक्षीय वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपालका प्रधानमन्त्रीले नेपाल, बेलायत र भारतबीचको त्रिपक्षीय सम्झौताको सट्टा दुई पक्षीय सम्झौता हुनुपर्ने कुरा उठाएका थिए । बेलायतले ब्रिटिस गोरखाको योगदानको कदर गरेपनि त्रिपक्षीय सम्झौताको सट्टामा दुई पक्षीय सम्झौता गर्ने कुरामा भने सहमति जनाएको थिएन । त्यही भएर संयुक्त वक्तव्यमा त्यो कुरा परेको थिएन ।

बेलायती रक्षा मन्त्रालयले गएको मार्च पहिलो साता गोर्खाहरुका लागि विशेष सहयोग प्याकेज घोषणा गरेको थियो । ब्रिटिस गोर्खा समुदायले उठाएका विभिन्न मागहरु सम्बोधन गर्न गठित संयन्त्रको सिफारिस तथा नेपाल सरकार र ब्रिटिस गोर्खा समुदायसँगको संवादका आधारमा सो प्याकेज घोषणा गरिएको बेलायती रक्षा मन्त्रालयले त्यति बेला जारी गरेको वक्तव्यमा उल्लेख छ । तर, त्यसमा मात्रै सन्तुष्ट हुन नसकिने गोर्खा समुदायको भनाइ रहेको छ ।

बेलायतको प्याकेजमा सन् २००७ भन्दा पहिला बेलायतमा सेवा गरेका करिब २२ हजार ब्रिटिस गोर्खाहरुको पेन्सन वृद्धि गरी सन् २०१६ को जनवरी १ देखि नै लागू हुने गरी एकमुष्ट उपलब्ध गराउने घोषणा गरिएको थियो । त्यस्तै, ८० वर्ष उमेर पुगेका भुपू ब्रिटिस गोर्खाको पेन्सनमा विशेष वृद्धि गरिने घोषणा समेत गरिएको थियो ।

यसैगरी, आउँदो १० वर्षको अवधीमा नेपालका ५ वटा सहरमा गोर्खा र तिनका परिवारको लागि मेडिकल सेन्टर स्थापना गर्ने तथा यसअघि गोर्खा पेन्सनबापतको रकम भारतको बैंक हुँदै नेपाल पठाउने प्रचलन रहेकोमा अबदेखि सीधै नेपालको बैंकमार्फत् पठाइने जनाइएको थियो । त्यस्तै गोर्खा ब्रिगेडमा ४ वर्षभन्दा कम अवधी सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा गएर बसोबास गर्न सक्ने व्यवस्थाको लागि आवश्यक कार्य अघि बढाइने समेत प्याकेजमा उल्लेख थियो ।

प्याकेजमा घोषणा गरिएअनुसार सन् २०१६ को जनवरी १ देखि लागू हुने गरी ३४ प्रतिशतका दरले पेन्सन वृद्धि गरी गुडविल प्याकेजका रुपमा यो वृद्धि एकमुष्ट उपलब्ध गराउन ४६ मिलियन पाउण्ड अर्थात् नेपाली रूपैयाँ करिब ६ अर्ब ७० करोड व्यवस्था गरिएको, सन् २०१९ को अप्रिल १ देखि ३४ प्रतिशतसम्मको पेन्सन वृद्धिका साथै नेपालको मुद्रास्फिती अनुसार थप ३.७ प्रतिशत वृद्धि हुने र सोको लागि प्रतिवर्ष १५ मिलियन पाउण्ड अर्थात् नेरु २ अर्ब २५ करोड छुट्याइएको बेलायत सरकारले सो समयमा जनाएको थियो । यी कुरालाई भूपू ब्रिटिस गोर्खाले स्वागत गर्दागर्दै पनि समान रुपमा काम गर्दापनि बेलायती सरह नभएको र विभेद भएको भन्ने गुनासो रहँदै आएका छन् ।

-बाह्रखरी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu