पत्रकारद्वारा नै पत्रकार जगतलाई दह्रो झापड

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार

सिता पौडेल – आज फेरि एउटी चेलीलाई मोहरा बनाइएको छ , जसको सुरुवात गर्यो पत्रकारले र त्यो पनि पत्रकार जगतलाई नै दह्रो झापड लगाउँदै । एउटाले उनको अस्मिताको शोषण गरेर मर्ने बेलामा हामीबिच सबै हुन्थ्यो भन्दै भिडियो बनायो , अर्कोले त्यो भिडियो किन्यो र अर्कोले त्यही भिडियोलाई सार्वजनिक गर्यो । यति गर्दागर्दै यो सोच्न भ्याएन कि यसले आफ्नै इमेजमा धक्का लाग्छ र पत्रकारिता जगत कै बदनाम हुन्छ भनेर ।

न्यायलयको इजलासबाट धरौटी र साधारण तारेखमा तिनैजनाको रिहाई हुँदै गर्दा पनि मिडियाकर्मी र पत्रकार जगत रवी र युवराज तिर दौडिए तर अस्मिता गुमाएकी ती चेलीको आँसु बुझ्ने प्रयास गर्न भने बिर्सेछन् र ती पत्रकारहरु र मिडियाकर्मीहरुले , बिर्सेछन् तिनलाई हिम्मत र हौसला दिन पनि। नारी दिवसको दिन नारी अधिकारको व्यानर बोकेर नारी हक अधिकारको आवाज उठाउने आवाजहरु र नारी हकहितको लागि कलम चलाउनेहरु को आवाज र कलम आज कता बिलाएको छ ?

देशको बागडाेर नै आफ्नो हातमा लिएर सबै भन्दा उच्च ओहदामा बस्नु भएकी राष्ट्रपतिज्यु तपाईं पनि एउटा नारी हो र आज मोहरा बनाइएकी चेली पनि तपाईं जस्तै नारी हो । के अस्मिताकाे अस्मिता शोषण भएको र उनको अस्मितालाई सार्वजनिक रुपमा नाङ्गो बनाइएको र न्यायको भिख माग्दै बग्दै गरेको आँसुले तपाईंलाई बिचलित गराएको छैन ? नबिर्सिनुस कि जनताको साथ समर्थनले नै तपाईंलाई आज त्यो ओहदामा पुर्याएको छ । यति ठुलो ओहदाको भागिदार हुँदाहुँदै पनि तपाईं कै शासनकालमा पटकपटक अस्मिता जस्तै धेरै अस्मिताहरुको अस्मिताको चिरहरण भएको छ । यस्तै घटना र मुद्दाहरुले बारम्बार तपाईंलाई चुनौती दिएको छ ललकारेको छ । यति हुँदा पनि तपाईं किन मौन हुनुहुन्छ ? के कुराले छेकेको छ ? यो सब तपाईंको अस्मितासित पनि जाेडिएको छ भन्ने कुरा नबिर्सिनुस र एउटा निर्णय लिन सक्ने खुबी राख्नुस ।

बारम्बार हत्या , हिंसा , शोषण , बलात्कारमा परि रहँदा पनि किन न्याय पाउनु अगाडी नै फाइल बन्द गरिन्छ ? किन हरेक पटक हजारौं अस्मिताहरु मोहरा बनाइन्छन् ?

हिरासतबाट बाहिरिंदा न्यायलयबाट भलै अस्मिताले रिहाई भएको थोरै न्याय भएको महसुस गरिन तर उनको अस्मितालाई सार्वजनिक गरेर दिएको पिडाको न्याय भने पाउन सकिनन किनभने त्यसलाई सार्वजनिक गर्ने स्वयं पत्रकार थियो । अर्कोतिर सम्झना पुडासैनी पनि आफ्नै श्रीमान शालिकरामबाट ठगिइन जो एक पत्रकार नै थिए ।

जब जब हत्या , हिंसा , शोषण , बलात्कारको केस आउँछ तब तब सबै पत्रकारहरु मिडियाकर्मीहरु प्रचारप्रसार गर्न सलबलाउछन् तर न्याय भने दिलाउन सक्दैनन । आजको अवस्थाले के भन्छ भने , पत्रकार र मिडियाकर्मीद्वारा नै पत्रकार जगत र मिडियाकर्मीहरुलाई दह्रो झापड सहितको गम्भीर चुनौती खडा गरेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu