प्रधानमन्त्री ओलीको बोली, व्यवहारमा विनम्रता खोज्ने जनताहरु विपक्षी दल समर्थक होइनन्- रबि

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार

देशका प्रधानमन्त्रीले सर्वाजनिक समारोहमा नागरिकसँग माफी मागेका छन् । बिषादी चेक गर्ने बिषयमा आँफूलाई सूचना नदिइएको बिषयलाई लिएर प्रधानमन्त्रीले भनेका छन्,‘विभिन्न ठाँउमा कुटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुप¥यो, यसप्रति क्षमाप्रार्थी छु ।’

प्राय आफ्ना अभिव्यक्तिहरुलाई गलत नै भएपनि डटेर बचाउ गर्ने स्वाभावका प्रधानमन्त्रीले क्षमा माग्नुलाई उडाउनु भन्दा स्वागत गर्नुपर्छ भन्ने लाग्छ । गल्ती हुँदा माफी माग्न पनि ठूलै हृदय चाहिन्छ । यही विन्दुबाट प्रधानमन्त्री ज्यूले आफ्नो सूचना स्रोतलाई मजबुत बनाउने क्रमको शुरुवात गरे गज्जब हुने थियो ।

प्रधानमन्त्री कुनै दलका नेता होइनन्, देशका र जनताका नेता हुन् । यही एटिट्युडलाई निरन्तरता दिने हो भने प्रधानमन्त्रीको लोकप्रियता बढ्छ, घटदैन । एउटा सामान्य मान्छेले गहकिला भन्दा गहकिला कुरा भन्दा पनि कसैले वास्ता गर्दैन तर, प्रधानमन्त्रीले सामान्य भन्दा सामान्य चुट्किला भन्दा पनि मान्छे कानदेखि कानसम्म हाँस्छन् । गजबको रेस्पोन्स दिन्छन् ।

यो सब चाकडी हो । ४ क्लास पढ्ने फुच्चेले पनि त्यति झुर जोक भन्दैन तर प्रधानमन्त्रीका अनइन्ट्रेस्टिङ गफ खतरै मानेर हो मा हो थपेर सुन्ने र वाह–वाही गर्नेहरुले प्रधानमन्त्रीको बानी नै बिगारीदिए । सरकारको कार्यशैलीको आलोचना गर्नेहरु सबै सरकार विरोधी हुन भनेर प्रधानमन्त्रीको कान फुक्नेहरुले प्रधानमन्त्रीलाई फोकडमा आलोचित बनाए ।

प्रधानमन्त्रीका प्रायः अभिव्यक्तिहरु विवादित र आलोचित हुनुले यही बताउँछ कि प्रधानमन्त्रीको सूचना स्रोत निकम्मा छ । ठीक छ, एउटै कुरालाई कति गिजोल्ने । अब कुन–कुन बिषयमा प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो भैदिएको भए हुन्थ्यो भन्ने अनुमान गरौँ न । काठमाडौ प्रदुषण आधा बढ्यो । अहिले नागरिकहरु मास्क नलगाई हिड्न थालेका छन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना भयो । जसको बचाउमा प्रधानमन्त्रीको अर्को अभिव्यक्ति आयो कि सरकारको विरोध गर्न मास्क लगाउँदै हिड्न थाले ।

प्रधानमन्त्री ज्यूले प्रदुषण बारे बोल्दा बातावरण मन्त्रालयको परीक्षण रिपोर्ट, अन्तर्राष्ट्रिय संस्थाका वातावरण अध्ययनको रिर्पोट वा आँफै बाटो तिर गएर यसो हेरेर बोल्नु भएको होइन । यो त प्रधानमन्त्रीलाई सूचना दिनेले चुटेको गफ नै हो ।

डाटा नहेरी बाठाहरुले गफ दिएको भरमा बोल्दा आलोचित नहुने कुरै भएन । त्यो भन्दा त बरु यसो भनेको भए हुन्थ्यो कि । धुलो–धुँवा नियन्त्रणमा केही प्रयासहरु भएका छन् । हिजोको तुलनामा सडकहरु पनि धेरै कालोपत्रे भएका छन्, सायद धुलो कम भएको हुनुपर्छ ।

यद्यपी काठमाडौले मास्कबाट मुक्ति पाएको छैन । केही त घट्यो होला तर, सरकार राजधानीलाई मास्क मुक्त बनाउन प्रयत्नशिल छ । यति भनिदिएको भए विवाद हुन्थ्यो ? आइफा कै विरोधपछि पनि प्रधानमन्त्रीले जन आवाजलाई सम्बोधन गर्नुको साटो आइफाकै बचाउ गरी त्यसको साटो आइफा अर्वाड गर्दा पर्यटनमा सकारात्मक प्रभाव पर्छ कि भन्ने सोचिएको हो तर, राज्यको ढुकुटीबाट करोडाैं खर्च गर्दा तुलनात्मक रुपमा मुलुकलाई फाइद देखिएन ।

आम जनमानसको समेत यसमा गुनासो र दुखेसो देखिएपछि सरकार जनभावनाको कदर गर्दै यो निर्णय फिर्ता लिन चाहान्छ । भविष्यमा पनि सरकारका निर्णयहरुमा आम जनताको सुझावको अपेक्षा गर्दछ, भनिदिएको भए विग्रिन्थ्यो चाँही के ?

त्रिभुवन विश्व विद्यालयको कार्यक्रममा हिलो माथि रातो कार्पेट विच्छाइयो । पिर्के सलामी, रेड कार्पेट सलामीको ब्यापक आलोचना प्रत्येक दिन भैरहेको सूचना प्रधानमन्त्रीलाई दिइएन र ? यो कार्पेट सार्पेट हटाउ, भनेर जुत्ता मोजा खोलेर सुरवाल सारेर हिड्न सकेको भए क्या मजा आउँथ्यो ।

देशको कार्यकारी प्रमुखको बोली, व्यवहारमा विनम्रता खोज्ने जनताहरु विपक्षी दल समर्थक होइनन् । त्यो हिलोमा कार्पोट ओछ्याउनेलाई साफ झपारेको भए खुब मजा आउँथ्यो । विरोधी र स्वार्थी आलोचकलाई एउटा सानो यति मौका नदिन सक्नुपर्छ । त्यो काम गाह्रो पनि छैन ।

दुतावासकै निठीको प्रसंगमा पनि प्रधानमन्त्रीलाई थाहा हुनैपर्छ भन्ने छैन । तर आज म केही विषयमा बोल्दैछु भन्ने थाहा भएपछि त्यस बिषयको विस्तृत जानकारी सम्बन्धित मन्त्रालयबाट लिएर बोल्दा आलोचित हुनु पर्दैन । यस्तो जाबो फिस्टे सल्लाह त्यो पनि प्रधानमन्त्रीलाई यहाँबाट दिन जरुरी त छैन तर, सल्लाहनै दिन जागिर खाएकाहरुले तलब थापेकाहरुले प्रधानमन्त्रीलाई जोकर नै बनाउन थालेपछि यति भन्ने आँट गरियो ।

सल्लाह त सरकारका प्रवक्ता मन्त्री ज्यूलाई पनि दिन मन छ । सरकारको आलोचना ९० प्रतिशत घटाउन सक्ने व्यक्ति प्रवतmा नै हुन् । सबैसँग विनम्र, पे्रससँग सौहार्द, ओठमा मधुर मुस्कान, वेलकमिङ, बडिल्याङवेज शब्दमा मिठास, बानीमा विनम्रता हुन सके आलोचना गर्नेले पनि १० पटक सोचेर मात्र आलोचना गर्छ ।

खुरु–खुरु आफ्नो काम गरे हुन्छ, सरकारलाई सिकाउनु पर्दैन–के गर्ने ? के नगर्ने ? कसरी बोल्ने ? कसरी नबोल्ने ? भनेर कसैले अर्ती उपदेश दिनु पर्दैन । आफ्नो धोती फुस्केको थाहा छैन अर्काको खोजीनीति ? भन्नुहोला भन्ने डरले मात्र धेरै नबोलेको हुँ । नत्र अचुक रामवाण जस्ता सल्लाह हाम्रा विभागीय मन्त्री ज्यूका लागि पनि साँचेर राखेको छु ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. शिक्षकको कुटाईबाट विद्यार्थीको ज्यान गयो

कञ्चनपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर प्रश्न उठिरहेका छन्, त्यसमाथि सामुदायिक विद्यालयमा पढाउने कतिपय शिक्षकहरुको व्यवहार कारण सिंगो शैक्षिक क्षेत्र बदनाम हुने गरेको छ । यसका पछिल्लो उदाहरण बनेको छ, कञ्चनपुरमा । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्यनरत माधव कलौनीको शिक्षकको कुटाइबाटै ज्यानै गएको छ ।

२.नगरपालिकाकै खर्चमा नगरसभामा मदीरा पार्टी !
तनहुँ । सामान्यतया सरकारी कार्यालयले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा मदीरा प्रयोग गर्न पाइदैन । तर तनहुँको प्यास नगरपालिकाले आफ्नो ३१ आँै नगरसभा स्थलमै मदीरा पार्टी गरेको भिडियो भाइरल भएको छ । आर्थिक बर्ष २०७६—७७ का लागि नगरपालिकाले बजेट घोषणा गर्न आयोजित कार्यक्रममा बजेट भाषणपछि भने नाचगान र मदिरापान सुरु भएको रहेछ । नगरसभा स्थलमा मदीराको चाङ थियो ।

३. मानव तस्कहरुको चङ्गुलबाट भाग्न सफल चेलीको कथा
काठमाडौं । रोजगारीका लागि दलालहरु मार्फत अबैध बाटो हुँदै इराक पुगेकी धादिङकी पुष्पा गुरुङको इराकमा सडक दुर्घटना भयो । कयौं दिन आईसियुमा राखेर बल्ल–बल्ल बाँचेकी उनी दुर्घटनापछि राम्ररी हिँडडुल गर्न सक्दिनन् । दुर्घटनापछि इराकमा उनले वीमाको ५५ लाख रुपैयाँ पाउने भइन् । तर, उनीसँगै बस्ने म्याग्दीका किशन राईले नेपालबाट पुष्पासँगको नक्कली विवाह दर्ता गराई उक्त रकम लिएको पुष्पाको आरोप छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu