आईएन्जियोले भित्र्याए १ खर्बभन्दा बढीको विदेशी सहायता तर अनुगमन गर्ने निकाय मुकदर्शक (भिडियो)

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

कुनै पनि विदेशी सामाजिक संस्थाले सहायता परिचालन गर्न समाज कल्याण परिषदको स्वीकृति अनिवार्य लिनुपर्छ । र, स्वीकृत गरेभन्दा बढी रकम विदेशबाट ल्याउनै पाइँदैन । त्यति मात्र होइन आइएनजीओले भित्र्याएर गरेको खर्चको लगत अर्थ मन्त्रालयमा पनि दिनुर्छ । तर पछिल्लो तीन वर्षमा परिषद्सँग ५८ अर्ब ५८ करोड रुपैयाँका परियोजना स्वीकृत गराएका संस्थाले अर्थ मन्त्रालयमा जम्मा ५१ अर्ब ८७ करोड मात्रै देखाएका छन् ।

यसमध्ये पनि तीन वर्षमा साढे सात अर्ब रुपैयाँको हिसाबै गायब पारेका छन् । अझ आश्चर्य त के छ भने २८ वटा वाणिज्य बैंकमा रहेका आइएनजीओहरूका खाता परीक्षण गर्दा यही अवधिमा १ खर्ब ५३ अर्ब ७२ करोड रुपैयाँ नेपाल भित्र्याएको देखिन्छ । तर यो रकम अर्थ मन्त्रालयमा जानकारी गराएभन्दा १ खर्ब १ अर्बले बढी हो भने परिषद्को सम्झौताभन्दा ९५ अर्ब १३ करोडले बढी छ ।

विदेशी संघसंस्थाले यति ठूलो रकम विदेशबाट भित्र्याउँदा पनि अनुगमन तथा अभिलेख राख्ने निकाय भने मुकदर्शक छन् । राज्यलाई थाहै नदिई अस्वाभाविक रकम भित्र्याउनेमाथि छानविन हुनुपर्ने र एकद्वार प्रणालीबाट विदेशी सहायता भित्र्याउनुपर्ने सामाजिक अभियन्ता बताउँछन् ।

हाल देशभर १ लाख गैरसरकारी संस्था दर्ता छन् । तर एनजीओ आइएनजीओलाई अनुगमन गर्ने संयन्त्र कमजोर भएकै कारण विदेशी सहायता रकम पारदर्शी हुन सकेको छैन । त्यस्ता समाजिक संस्थाको आम्दानी र खर्च पारदर्शी बनाउनुका साथै विदेशी रकम एकद्वार प्राणालीबाट भित्र्याउने व्यवस्था नगरिएसम्म गैरसकारी क्षेत्रको वित्तीय अनुशासनहीनता अझै चुलिनेछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu