नेपाल एयरलाइन्सको ६१ औं वार्सिक उत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक पैसा पनि नदिने बताउनुभयो । साथै प्रधानमन्त्रीले सीधै बताउनुभएको छ कि सबका सब नाफामा हुने, कर्मचारी, व्यवस्थापन लगायत सब नाफामा तर, जहाज चाँही घाटामा कसरी ?
यसको मतलब प्रधानमन्त्रीले नेपाल एयरलाइन्सको कुरा बुझ्नु भएको छ । कमिशनको खेल, नातावाद र राजनीतिक नियुक्तिको चक्करमा राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स ऋणको भारीले थला परेको छ । कार्यकर्ता भर्ती, नाताका आधारमा प्रकृया मिचेर प्रोमोशन, ल्याक अफ विजनेश प्लानिङ भएपछि कुन संस्था माथि उठ्छ ?
नेपाल एयरलाइन्सको यो दुरदशा थाहा पाएपछि नालायकहरुलाई पहिचान गरी निकाल्न पनि सक्नुप¥यो प्रधानमन्त्रीले । तर, अफसोस् प्रधानमन्त्रीको यो भाषणले ताली त पायो तर बर्षौसम्म चुस्नेहरुलाई कारवाही गर्ने आदेश दिन प्रधानमन्त्रीलाई खोइ के ले हो कुन्नी रोक्यो ।
मैले जम्मा १५ मिनेटको रिसर्चले प्राप्त इन्फर्मेशन म सम्माननिय प्रधानमन्त्री र हाललाई पर्यटन नागरिक उड्यनमन्त्री समेत रहनुभएका तपाईका लागि उपलब्ध गराउँदै छु । यस कारण नेपाल एयरलाइन्स घाटामा पुग्यो ।
न्यारो बडी भनिने एरबस ३२० मा २३ जना क्याप्टेन छन् । चाहिएको १४ जना हो, एक्स्ट्रा ९ जना छन् । यी एक्सट्रा ९ जनाको युटिलाइज किन गरिएन ? जतिखेर पनि मान्छे छैन र पैसा छैन भनिरहेका छन् । यी ९ जना क्याप्टेनलाई जम्मा ७ दिनको तालिम दिएर बाइडबढी ३३० मा लैजान सकिन्छ तर, यसो गर्दा धेरैको कमिशन जान्छ ।
९ विदेशी पाइलटले २० हजार डलर प्रतिव्यक्ति तलब खान्छन्–लगभग २२ लाख रुपैयाँ । अनि हाम्रा नेपाली पाइलटको तलब २ लाख २५ हजार । ७ दिनको टे«निङ दिएर २ लाख २५ हजारमा वाइडबढी लागि आफ्ना पाइलटलाई तयार गर्नुको साटो एक जनालाई २२ लाख दिएर ९ जना विदेशी पाइलट राख्दा कुन एयरलाइन्स टाट पल्टिदैन प्रधानमन्त्री ज्यू ?
तपाईले नियुक्त गर्नुभएको कार्यकारी अध्यक्षलाई यो प्रश्न सोधी हेर्नुहोला । विदेशी पाइलट उपलब्ध गराउने एजेन्सी वा सीधै पाइलटसँगको कशिनको गन्ध मलाई त ह्वास्सै आयो, तपाईलाई आएन ? अझै विदेशी पाइलट ल्याइदैनछन् रे !
गफ ओसाका, सिओल युरोप तिर जहाज उडाउने भनेर चुटिरहँदा दुवई, मलेसिया, दिल्ली, मुम्बई थप्नु पर्दैन ? जेट एयरबेज बन्द भो, जसले भारतबाट दैनिक ५ वटा उडान गथ्र्याे । समयमै पहल गरेर हामीले दिल्लीमा मात्र उडान थप्न सकेको भए काठमाडौं दिल्लीको भाडा ४०÷५० हजारसम्म पुगेको थियो ।
ओसाका उडाउँदै गरिन्थ्यो नि, तर यो उडान थप्न कसले रोक्यो ? यो मौकाको फाइदा इन्डिगो र इन्डिएन एयरलाइन्सले उठायो । नेपाल एयरलाइन्सले जेट एयरको ठाँउमा किन उडाउन सकेन ? इन्डिगो इन्डियन एयरलाइन्सको कमिशन कसले थाप्यो ? युएईबाट दिनमा ११ वटा फ्लाइट आउँछन् ।
आउने सबै नेपालीहरु हुन् । मलेशियाबाट दिनमा ४ वटा फ्लाइट आउँछन् प्राय नेपाली यात्रु । हाम्रो मलेशियामा हप्तामा जम्मा ३ वटा फ्लाइट छन् । भनिन्छ मान्छे छैन । ९ जना एक्स्ट्रा पाइलटलाई ७ दिनको तालिम दिन केले रोक्यो भन्या ? हुँदा–हुँदा युएईको फ्लाइट हप्ताको ७ वटाबाट घटाएर ३ वटामा झारियो, अनि डुब्दैन नेपाल एयरलाइन्स ?
अब डोमेस्टिकको कुरा गरांै । ९ महिनाअघि नियुक्ति लिनुभएको कार्यकारी अध्यक्ष मदन खनाल ज्यूले भन्नुभएको थियो ‘म सबै प्लेनहरु उडाउँछु ।’ तर कार्यकारी प्रमुख ज्यू आएको ९ महिना भयो तपाईले प्लेन होइन गफ उडाउनु भयो । ६० यात्रु बोक्ने एमए ६० जहाज २ वटा छन्, जसमध्ये एउटा २ बर्षदेखि ग्राउण्डेड छ–उडाउनु भो ?
दिनमा ६ वटा उडान गर्न सक्ने विमानहरु अहिले जम्मा दिनमा २ वटा मात्र उडानमा सीमित छन् । कारण ६ जना क्याप्टेन चाहिनेमा ४ जना क्याप्टेन मात्र छन् । डोमेस्टिकलाई डुबाएर २ जना क्याप्टेनलाई जबरजस्ती एक्स्ट्रा बनाएर, वाइडबडी ३३० को कोपाइलटका लागि तालिममा पठाइयो ।
अर्को वाई १२ जहाजहरु छन् जसलाई उडाउने क्याप्टेन ४ जना छन्, जो १८० दिनमा ४० दिन मात्र उड्छ, बाँकी दिन ग्राउण्डेड हुन्छ । पहिला डोमेस्टिकमा भरेर त्यसपछि इन्टरनेशनलमा जोड दिए कुनै जहाज पनि ग्राउण्डेड हुँदैनन् । राष्ट्रिय ध्वजावाहकलाई भर्ती केन्द्र, नातावादको अड्डा र कमिशन खाने दुहुनो गाई बनाउनेहरुलाई नलखेटेसम्म यो सुध्रिदैन ।
प्राइभेट एयरलाइन्ससँग पैसा खाएर जानजान नेपाल एयरलाइन्सलाई निरिह पार्नेहरु इजिल्ली चिनिन्छन् । करिब २ बर्ष अगाडि अपरेशन डाइरेक्टरसँग एउटा बहस गरेको थिए, सर फेरी सरकार फेरिएसँगै अपरेशन डाएरेक्टर भएर आउनु भएको छ रे !
नियम मिच्न खप्पिस सरले इन्स्ट्रक्टर पाइलटले लिखित रुपमै एक हजार घण्टा भन्दा बढी उडेको को–पाइलटसँग मात्र उड्न पाउने भनेको लिखित पत्रलाई मिचेर अप्रिल ६ तारिखदेखि नियमित जहाज उडारहनुभएको पनि जानकारी प्राप्त भएको छ ।
अपरेशनको यो भन्दा ठूलो बेहाल हेर्न कहा जाने ? पार्टपूर्जामा चलखेल, टिकटमा चलखेल, निजी एयरलाइन्ससँग साठगाँठ, मर्मत, खरिद सबमा चलखेल भएको नेपाल एयरलाइन्स नडुबे कुन कम्पनी डुब्छ ?
भित्र बसेर नेपाल वायुसेवा निगमलाई चुस्नेहरुलाई लाइन लगाएर ननिकालेसम्म यो माथि जाँदैन । खुल्ला प्रतिस्पर्धाबाट सही प्रशासक ल्याआँै । एयरलाइन्स कम्पनी चलाउनु भनेको अन्तरराष्ट्रिय मापदण्डका हिसाबले पनि निकै ठूलो चुनौति हो । यस्तो कठिन काम गर्न भाई भतिज, कार्यकता, नातागोता खोजेर हुँदै हँुदैन ।
बरु अन्तराष्ट्रिय स्तरको ठूलो विदेशी कम्पनीको अनुभवी मानिसहरुलाई हायर गरौँ । २÷४ बर्षमा नै नाफा दिने छ । नत्र कम्पनी डुवाएर व्यक्तिलाई धनाढ्य बनाउन नरोकेसम्म केही हुँदैन । अब चाँही अति नै ढिला भैसक्यो ।
निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन्ः
१. हेटौंडा सिमेन्ट दुई महिनादेखि बन्द, व्यवस्थापन र कर्मचारीको चरम लापरवाही
हेटांैडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको मुख्य मेशिननै बिग्रदा दुई महिनादेखि उत्पादन बन्द भएको छ । ३४ बर्षदेखि दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मुख्य मेशिन बुस बेरिङ्गको प्रिजेकिङ्ग प्रेसर गेजमा समस्या आएपछि उद्योग बन्द भएको हो । यसअघि नै मेशिनको अवस्था हेरेर प्राविधिकले बाइवास प्रविधिबाट मेशिन नचलाउने निर्देशन दिएपनि उद्योगले वेवास्ता गरेको थियो । प्राविधिकको निर्देशन अवज्ञा गर्दा दुई महिनादेखि उद्योग नै बन्द भएको हो ।
२. तनहुँको चिमचिमे खोलाको झोलुङ्गे पुलमा स्कुलले पर्खाल लगाएपछि…
तनहुँ । अझैँ पनि देशका धेरै खोलामा झोलुङ्गे पुल समेत नबन्दा सर्बसाधारण वर्षातको समयमा त वारपार गर्नै पाउँदैनन् । तर, तनहँुको व्यास नगरापालिका–६ मा भने झोलुङ्गे पुल बनेर पनि प्रयोग विहीन बनेको छ, भन्दा अचम्म लाग्न सक्छ । व्यास नगरपालिका–६ र म्याग्देको स्थानीयले चिमचिमे खोला वारपार गर्नका लागि ४२ लाख बढी खर्चिएर एक बर्ष अघि निर्माण सम्पन्न भएको पुल स्थानीय इन्दु माध्यामिक विद्यालयको प्राङगणमा परेपछि निर्माण सम्पन्न भएर पनि सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।
३. रोजगारीका लागि माल्टा लाने भन्दै करोडौंको ठगी
काठमाडौं । रोजगारीका लागि युरोप लाने भनेर ग्रीन फिल्डस् कन्सल्टेन्सी र ग्रीन फिल्ड एजुकेशन कन्सल्टेन्सीले २५० जना बन्दा बढी व्यक्तिलाई ठगेको छ । चावाहिल र बलाजुमा रहेको यी दुई कन्सल्टेन्सीका सञ्चालकहरुले माल्टा लैजाने भन्दै करिब ४ करोड रुपैयाँ उठाएर फरार भएको पीडितहरुको भनाइ छ । दुवै कन्सल्टेनसीका सञ्चालक एकै जना आरपी गुरुङ हुन् । उनी अहिले सम्पर्क विहीन छन् ।

