महिनावारी हुनु समस्या होइन, उमेर पुगेर पनि नहुनु चाहिँ समस्या हो।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

अभिनेत्री करिश्मा मानन्धर २०४५ सालमा फिल्म क्षेत्रमा प्रवेश गरिन्। त्यो बेला उनी १४ वर्षकी थिइन्। आफ्नो पहिलो फिल्म ‘सन्तान’ को सुटिङका लागि उनी उत्साहित थिइन्। सुटिङ हुने दिन कहिले आउला भन्दै औंला भाँच्दै पर्खिंदै थिइन्, अनेकौं सपना बुन्दै। अचानक उनको सपनामा पानी छ्यापियो। करिश्मा पहिलोपटक महिनावारी भइन्। पहिलो फिल्मकै सुटिङ केही समयलाई स्थगित भयो।उनको माइतीको थर केसी हो। अरू किशोरीझैं उनी पनि पहिलोपटक महिनावारी हुँदा अँध्यारो कोठामा लुकेर बस्नुपर्ने भयो। अचेल त महिनावारी बार्ने चलन यति व्याप्त छ भने तीस वर्षअघि कस्तो होला! करिश्मा पहिलो महिनावारी ‘बार्न’ १५ दिन थुनिइन्।

‘त्यो बेला अहिलेजस्तो समय होइन, छोइछाइको कडा नियममा बस्नुपर्थ्यो,’ करिश्माले आफ्नो महिनावारी अनुभव सुनाइन्, ‘भातभान्सा, पूजाकोठा र अरूलाई छुन नहुने सामान्य भइहाल्यो।’

दोस्रोपटक महिनावारी हुँदा पनि ४/५ दिन घरमै बस्नुपरेको उनले बताइन्। यसले फिल्म सुटिङ केही समय लम्बिएको उनी सम्झन्छिन्। यसको तीन वर्षपछि विनोध मानन्धरसँग उनको बिहे भयो। क्षत्री परिवारमा हुर्केबढेकी उनलाई सुरूसुरूमा नेवार रितिरिवाजमा घुलमिल हुन गाह्रो भयो। थुप्रै चाडपर्व, भोजभतेर र जात्रा हुने नेवार समुदायको घरमा महिनावारी हुँदा उनी अलमल पर्थिन्। बाहुन-क्षत्री समाजमा जस्तो महिनावारी बेला करिश्मालाई भान्साकोठामा छोइछाइ गर्न रोकतोक थिएन। पूजाआजा गर्न भने उनको मन आफैं झस्किन्थ्यो। सानैदेखि आमाले ‘महिनावारीमा पूजा गर्नु हुन्न’ भनेको कुरा उनको मस्तिष्कमा गहिरिएर बसेको थियो।

‘आमाले मलाई जे-जति बार्न र छोइछाइका कुरा सिकाउनुभएको थियो, त्यो गलत हो,’ करिश्मा भन्छिन्, ‘म ती केही मान्दिनँ। भगवानप्रति मेरो मनभित्रको आस्था र विश्वास भने हटाउन सकिनँ। चाहेर पनि मलाई महिनावारी भएका बेला पूजाआजा गर्ने हिम्मत आउँदैन।’

करिश्मा महिनावारीका चार दिन मठ-मन्दिर जान्नन्। भन्छिन्, ‘यो मैले बारेको कुनै नियम होइन। भगवानप्रति मेरो आफ्नै आस्था हो।’

छोरी कवितालाई उनले नेवार परम्पराअनुसार १४ दिन गुफा राखिन्। बेलविवाह पनि गराइन्। महिनावारी बार्न भने जबर्जस्ती नगरेको उनी बताउँछिन्।

‘मैले सानैदेखि मानिआएको कुरा कवितालाई सिकाएको हो। ऊ पनि महिनावारी बेला मन्दिर जान्न। तर, यो मैले जबर्जस्ती गराएको होइन। ऊ बुझ्ने भइसकी। आफैं निर्णय गर्न स्वतन्त्र छे,’ उनले भनिन्, ‘मैले समाजले बनाएका नियम उसलाई थोपरिनँ। मेरो आस्थाबारे भनेँ। भोलि ऊ महिनावारी बेला पूजाआजा गर्न चाहन्छिन् भने मेरो कुनै आपत्ति छैन।’

महिनावारीलाई प्रकृतिको नियम मान्ने करिश्मा संस्कृतिको नाममा फोहोरी भन्दै छिःछिः दूरदूर गर्नु गलत भएको बताउँछिन्। महिनावारीमा सबभन्दा धेरै ध्यान सरसफाइमा दिनुपर्ने उनको मान्यता छ। सानैदेखि फिल्म क्षेत्रमा आएकाले ‘स्यानिटरी न्यापकिन’ प्रयोग गर्दै आएको उनी बताउँछिन्।

‘सरसफाइमा ध्यान पुगेन भने त्यसले भोलि समस्या निम्त्याउन सक्छ। संक्रमण हुने डर हुन्छ। पाठेघरमा असर पुर्याउन सक्छ भन्ने सुन्दै-देख्दै आएका हौं। यसमा म सचेत रहन्छु। छोरीलाई पनि यही सिकाएकी छु,’ उनले भनिन्।

महिनावारी सरसफाइ र रोगका विषयमा बेलाबेलामा छोराछोरीसँग कुराकानी गरेर उनीहरूको समस्या सुनिदिनुपर्ने उनको भनाइ छ। अहिले काठमाडौं र अन्य केही ठाउँमा सरसफाइ र स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दै गए पनि करिश्माले गाउँतिर अझै समस्या देखेकी छन्। छाउप्रथाका कारण कुनै किशोरी वा महिलाले ज्यान गुमाएको समाचार सुन्दा उनको मन सिरिंग हुन्छ। आफ्नो काम क्रममा धेरै विदेश भ्रमण गरिसकेकी करिश्मा नेपालमा जस्तो महिनावारी बार्ने चलन अन्त नदेखेको बताउँछिन्। हिन्दु धर्मावलम्बीकै जनसंख्या बढी भए पनि छिमेकी भारतमा समेत महिनावारी छोइछाइ चलन यति धेरै नरहेको उनको अनुभव छ।

‘अरू देशमा महिनावारीलाई ‘विषय’ बनाएर कुरै गरिने रहेनछ,’ उनले भनिन्, ‘त्यहाँ यी सबै कुरा सामान्य मानिन्छ। नेपालमा भने फोहोरी कुरासँग दाँजेर लाजको विषय बनाइएको हुन्छ।’

सुटिङ क्रममा हाम्रा गाउँघरतिर देखेका महिनावारी चलन सम्झेर पनि उनलाई अत्यास लाग्छ।

‘मैले धेरै जातजातिको संस्कृति नजिकैबाट नियाल्न पाएकी छु,’ विगतका दिन सम्झिँदै करिश्मा भन्छिन्, ‘यस्तो पनि चलन देखेको छु, जहाँ महिनावारी हुँदा नुहाउन पनि पाइँदैन।’

उनलाई त्यस्तो ठाउँमा सुटिङ भएका बेला नुहाउन नपाएर चिसो रुमालले शरीर सफा गर्नु परेको आज पनि याद छ।

यस्ता चलन ग्रामीण क्षेत्रमा मात्र हुनुको कारण शिक्षा अभाव रहेको करिश्माको ठम्याइ छ। त्यसैले विद्यालय शिक्षादेखि नै किताबमा भएका कुरा घोकाएर मात्र नभई व्यवहारमा सिकाउनुपर्ने उनी बताउँछिन्। यसको अनुभव उनलाई आफ्नै स्कुले जीवनमा पनि भयो। हालै मैतिदेवीस्थित त्रिवेणी विद्यालयबाट एसइई दिएकी करिश्माले कक्षामा प्रजनन स्वास्थ्य विषयबारे खुलेर पढाइ नभएको महशुस गरिन्।

‘प्रजनन पाठ पढाइने भनेपछि कोही विद्यार्थी लाजले घोसेमुन्टे लाग्छन्। कोही भने उत्साहित हुँदै पढ्न रुचाउँछन्,’ आफ्नो कक्षा अनुभव सुनाउँदै करिश्माले भनिन्, ‘शिक्षक/शिक्षिकाले नै त्यो विषयमा फोकस गरेर पढाउनु हुन्न। यसो सैद्धान्तिक कुरा पढाएर सकियो। विद्यार्थीहरू पनि पाठलाई लिएर अन्तर्क्रिया गर्न चाहँदैनन्।’

उनका अनुसार स्कुलको यस्तो थितिले विद्यार्थीहरू महिनावारी तथा प्रजननसम्बन्धी अत्यावश्यक शिक्षाबाट वञ्चित भइरहेका छन्। प्रजनन स्वास्थ्य र महिनावारीका विषयमा खुलेर कुरा गर्ने हो भने विद्यार्थीमा स्वास्थ्य र सरसफाइबारे चेतना आउँछ। यति मात्र होइन, उचित शिक्षाले महिनावारीमा प्रयोग हुने प्याड कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने ज्ञान पनि हुने करिश्माको भनाइ छ। महिनावारीका सामाजिक झमेलाकै कारण महिलाहरू सबै क्षेत्रबाट पछि परेको उनी बताउँछिन्।

‘महिनावारी प्राकृतिक नियम हो। यो सानो कुरालाई पहाडजत्रो विषय बनाएर छोरीहरूलाई घरमै दूरदूर गर्नुको कुनै कारण छैन,’ उनी भन्छिन्, ‘महिनावारी हुनु समस्या होइन, उमेर पुगेर पनि नहुनु चाहिँ समस्या हो। यस्तो कुरालाई विषय बनाएर छोरीहरूको स्वास्थ्यबारे गम्भीर हुनुपर्छ। महिनावारी हुँदा हैन, नहुँदा चिन्तित हुनुपर्छ।’

-सेतो पाटी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu