१ न. प्रदेशले राष्ट्रिय गानका रचनाकार ब्याकुल माहिलालाई सम्मान गर्ने

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा संरचना निर्माण, कार्यालय स्थापना र कर्मचारीको व्यवस्थापनमा नै धेरै समय खर्च भएको यथार्थ हो भन्दै अगामी दिनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्याक्रम पूर्णरुपमा कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

उहाँले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले रु ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप रु ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । प्रदेश सरकारले दलित जातिका परम्परागत सीप र संस्कारलाई संरक्षण गर्ने पनि उहाँले बताउनुभयो ।
सरकारले राजनीतिक सहसम्बन्धलाई अझ बलियो बनाउँदै अन्तरसरकार र अन्तरनिकाय समन्वय गर्दै निजी क्षेत्र र सामुदायिक संस्थासँगको सहकार्यमा विकासको गतिलाई तीव्र बनाइने विश्वास दिलाउनुभयो ।

उहाँले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि भूउपयोग योजना, पूर्वाधार तथा आर्थिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, खेलकूद संस्थाको स्थापना, पर्यटकीय शहर र क्षेत्रसहितको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिने तथा बृहत् विराट क्षेत्र र आसपासका क्षेत्रलाई समेटेर स्याटलाइट स्मार्ट सिटीका रुपमा विकास गर्न विस्तृत अध्ययन गरिने बताउनुभयो ।

एक वर्षभित्र सबै नेपालीको एक बैंक खातामा पहुँच पु¥याउने नीति अवलम्बन गरिने तथा स्वरोजगार सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाको ज्ञान सीप क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न छुट्टै कोषको स्थापना गरिने बताउँदै मुख्यमन्त्री राईले ‘मुख्यमन्त्री युवा उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने, उच्च पहाडी क्षेत्रमा कोदो, फापर, लट्टे, कागुने, चिनो र उवा जस्ता सुपर हिमालयन फुडको उत्पादनमा प्रोत्साहन गरिने, १०० बिघा जमीनमा हरित नमूना कृषक परियोजना सञ्चालन गरिने, प्राङ्गारिक व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न १०० व्यावसायिक फार्मलाई क्रृण अनुदान सहयोग गरिने सरकारको अगामी नीति तथा कार्यक्रमको राम्रो पक्ष हो भन्नुभयो ।

‘हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ अन्तर्गत झापाको केचनादेखि सगरमाथा आधार शिविरसम्म सडक यातायात परियोजनालाई अघि बढाइने बताउँदै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सदस्यले उठाएका असल सुझावलाई ग्रहण गरिने तथा प्रदेशको नामकरण सहमतिबाट नै टुङ्गो लगाइने स्पष्ट गर्नुभयो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा २३ प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो । यसमा संशोधनका लागि प्रस्ताव दर्ता गराउन सभामुख प्रदीपकुमार भण्डारीले मङ्गलबार अपराह्न १ बजेसम्मका लागि समय तोक्नुभएको छ ।

–––रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu