५०० बर्ष पुरानो गौरवशाली अशोकवृक्ष विहार मासेर बिजनेस कम्प्लेक्स बनाइने !

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार

दामोदर न्यौपाने- गुठी संस्थानले असन चोकमा रहेको मल्लकालीन अशोकवृक्ष विहार भत्काएर व्यावसायिक भवन बनाउन दिने गरी बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएका बज्राचार्य परिवारसँग करार कायमै रहेका बेला गुठीले बज्रयोगिनीसँग सम्झौता गरेको हो ।

गुठी संस्थानका प्रशासक नारायण चौधरी, बज्रयोगिनीका निर्देशक राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) र वायु देवता गुठीका लीलाविक्रम शाहले हस्ताक्षर गरेको सम्झौताअनुसार बज्रयोगिनीले दुई वर्षभित्रमा भवन निर्माण सक्नेछ र २५ वर्षसम्म चलाउन पाउनेछ । त्यसबापत वर्षमा ८ लाख ६० हजार रुपैयाँ भाडा बज्रयोगिनीले गुठी संस्थानलाई दिनुपर्नेछ । भोगचलन गर्दै आएका बज्राचार्य परिवारले भने यो सम्झौताप्रति आपत्ति जनाएका छन् ।

विहारको रेखदेख असनका बज्राचार्य परिवारले पाँच सय वर्षदेखि गर्दै आएका छन् । विहार भोगचलनका लागि १४ परिवारसँग गुठी संस्थानले सम्झौतासमेत गर्दै आएको थियो ।

पटकपटकको भुइँचालोले विहार भत्काइदिए पनि बज्राचार्य परिवारले नै पुनर्निर्माण गर्दै आएका थिए । ‘विहार १८८५ र १९९० सालको भुइँचालोले भत्काउँदा बज्राचार्य परिवारले पुनर्निर्माण गर्‍यो,’ विहारका सञ्जीव बज्राचार्यले भने । २०७२ सालको भुइँचालोले भने विहारलाई केही गरेन ।

विहारको भुइँतलाको उत्तरतिरको एउटा कोठा पूजाका लागि छुट्याइएको छ । विहारमा अमिताभ बुद्ध राखिएको छ । यहाँ नित्य पूजा हुन्छ । ५ जनाको गुठीले पूजा सञ्चालन गर्दै आएको छ । पञ्चदान गुठी फुलातार मानन्धरलगायतले सञ्चालन गर्दै आएका छन् । ‘अमिताभ बुद्ध ५ सय वर्ष पुरानो मानिएको छ,’ सञ्जीव भन्छन्, ‘बुद्ध जति पुरानो हो, यो विहार पनि त्यति नै पुरानो हो ।’

भुइँतलाको एउटा कोठाबाहेक अरू १४ परिवारले भोगचलन गरेका छन् । १४ मध्ये तीन परिवार यहीं बस्छन् । तीनतले विहारमा १२ कोठा छन् । ११ परिवारले पसल चलाएका छन् । पसल सञ्चालन गरेबापत उनीहरूले गुठी संस्थानलाई भूबहाल तिर्दै आएका छन् । परापूर्वकालदेखि प्रयोग गर्दै आए पनि रणबहादुर शाहका पालामा १९५७ सालदेखि भूबहाल तिर्नुपर्ने भएको थियो ।

नेवारको स्वामित्वमा भएको विहार रणबहादुरले हडपेर त्यहाँ वायु गुठी सञ्चालन गरेका थिए । वायु गुठी दरबार ठेउला आएर मृत्यु हुनेका लागि पूजा गर्न स्थापना गरिएको थियो । ‘हाम्रा पुर्खाका गौरव हुन् यी विहार,’ सञ्जीव भन्छन्, ‘आफ्नै विहार भए पनि उल्टै पैसा बुझाउँदै आए हाम्रा पुर्खाले । पुर्खाले बनाएका सम्पदामा हामीले पनि बहाल तिरिरहेका छौं । धर्म रक्षाका लागि बुझाएका हौं बहाल ।’

उनीहरूसँग सुरुमा भूबहाल वर्षको ५० रुपैयाँ तिरेको रसिद छ । ‘सरकारको वायु देवता गुठीलाई भूबहाल बुझाएका रहेछन्,’ सञ्जीव भन्छन्, ‘हडपेर पनि भोगचलनचाहिँ तिमीहरू नै गर भनेर दिएका रहेछन् ।’

गुठी संस्थानले पछिल्लो सम्झौता २०७० फागुन १ देखि लागू हुने गरी गरेको थियो । त्यति बेलाको सम्झौताअनुसार हरेक महिना ५ हजारका दरले भाडा तिर्ने सहमति भएको थियो । गुठीले चौध परिवारसँगै अलग-अलग सम्झौता गरेको छ । वर्षमा ७ लाख ८० हजार रुपैयाँ गुठीलाई बुझाउने गरेको सञ्जीवले जानकारी दिए । हरेक ५ वर्षमा ५ प्रतिशतका दरले बहाल पुनरावलोकन गर्ने सहमति छ । सहमति गर्दा कुनै अवधि तोकिएको छैन । बहाल नतिरे मात्र करार भंग हुन सक्ने प्रावधान राखिएको छ ।

‘बहाल सोही महिना दिनभित्र बुझाउनुपर्नेछ । बुझाउन नसके ५ प्रतिशत हर्जाना थप गरी ३० दिनभित्रमा बुझाउनुपर्नेछ । ६० दिनभिक्र हर्जानासहितको बहाल चुत्ता नगरेमा करार भंग गरेको मानिनेछ,’ करारनामामा उल्लेख छ, ‘परिणामस्वरूप सर्त नम्बर ३ बमोजिम धरौटी रकम (३० हजार) जफत गरी आफ्नो कोषमा राख्नेछ । पसलसमेत आफ्नो सुविधाअनुसार कब्जामा लिन सक्नेछ ।’ करारनामामा गुठी संस्थान काठमाडौं शाखा कार्यालयका तत्कालीन प्रमुख जयप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् ।

विहार खाली गर्न पत्राचार
करारनामाअनुसार २०७५ फागुनमा बहाल पुनरावलोकन गर्नुपर्ने थियो । पुनरावलोकन गर्ने समय नहुँदै गत वर्ष असारमा संस्थानले ३५ दिनभित्र विहार छाड्न पत्राचार गर्‍यो । भोगचलन गर्ने अवधि नतोकी करारनामा भएको भन्दै ३५ दिनको सूचना उनीहरूले टेरेनन् । वैशाख ११ गते ३ दिनभित्रमा विहार खाली गर्नु भन्दै गुठी संस्थान काठमाडौंका प्रमुख बैकुण्ठप्रसाद रेग्मीले वडा कार्यालयलाई पत्राचार गरेका छन् ।

असारमा विहार भुइँचालोले क्षतिग्रस्त बनाएकाले बनाउने भन्दै ३५ दिने सूचना निकालिएको थियो । विहारमा मान्छे बसेका छन् । भत्काउनुपर्ने अवस्था नभएको त्यहाँ बस्नेहरू बताउँछन् । करारमा भने भत्काएर बनाउनुपरे दुवै पक्षको सहमति हुनुपर्ने उल्लेख छ ।

‘हामीसँग सल्लाहै नगरी सूचना निकालियो,’ सञ्जीव भन्छन्, ‘हामीले बहाल तिरेकै छौं । पुनरावलोकन गर्नु भनेकै छौं । हामीसँग सम्झौता हुँदाहुँदै अरूलाई दिन पाइन्छ ? यो घर मात्र होइन, सम्पदा हो । यसलाई मासेर व्यावसायिक भवन बनाउन पाइँदैन । हामी भत्काउन दिँदैनौं । चरणबद्ध आन्दोलनमा जान्छौं ।’

कित्ता नम्बर १७६७ नम्बरको यो जग्गा ८ आना ३ दाम छ । ५ आनामा विहार बनेको छ । दुइटा चोक छन् । चोक प्राचीन मानिन्छ । विहार छेउकै घरमा खन्दा लिच्छविकालीन चैत्यलगायत संरचना भेटिएका थिए ।

विहार भत्काउँदा थुप्रै सम्पदा नष्ट हुने, अमिताभ बुद्ध र पञ्चदानका बेला गरिने परम्परा लोप हुने सञ्जीव बताउँछन् । पञ्चदान काठमाडौं उपत्यकाका बौद्ध सम्प्रदायले दानशाला खोली बनाउने उत्सव हो । ललितपुरमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमी र काठमाडौंमा भाद्र कृष्ण त्रयोदशी तिथिमा मनाइन्छ । पञ्चदानका दिन बौद्ध भिक्षु तथा उपसाहरू भगवान् तथागतको स्तोत्र पाठ गर्दै भिक्षा माग्न जान्छन् । यहाँ भिक्षा दिने काम पञ्चदान गुठीले गर्दै आएको छ । केराउ, गहुँ, धान, भटमास, मासजस्ता पाँचथरी अन्न दिइने हुनाले पञ्चदान भनिएको हो ।

‘विहारमा महत्त्वपूर्ण परम्परा जोडिएका छन् । परम्परा जोगाउनुपर्ने निकाय नै परम्परा मास्न लागेको छ,’ सञ्जीवले भने, ‘के चाहिएको गुठीलाई ? पैसा चाहिएको हो भने हामीले नै दिएका छौं । भत्काएर बनाउँदा पनि वर्षमा ८ लाख रुपैयाँ लिने गरी दिन लागेको छ । पुनरावलोकन गर्दा त्योभन्दा बढी रकम हामी तिर्छौं । धर्म मासेर संस्थानलाई के फाइदा ?’

-कान्तिपुरबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu