इरानसंग युद्ध गर्न १ लाख २० हजार सेना उतार्दै अमेरिका, साउदीको २ जहाज ध्वस्तपछि भड्कियो अमेरिका

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार

इरानसँगको तनावले भड्कियो अमेरिका, तेल बोकेका दुई साउदी जहाज ध्वस्त -अमेरिका र इरानबीच बढिरहेको तनावकाबीच साउदी अरबले ठुलो क्षति ब्यहोर्नु परेको छ। समाचार अनुसार संयुक्त अरब एमिरेट्सको अपतटीय क्षेत्र फुजैरामा साउदी अरबका दुई तेलका ट्यांकरमा हमला भएको छ। तर अहिलेसम्म यो हमला कसले गर्‍यो भन्‍ने पत्तो एमिरेट्सले लगाउन सकेको छैन । यो हमलाको कसैले पनि जिम्मेवारी लिइसकेको छैन।

साउदी अरबका ऊर्जामन्त्री खालिद अल फलिहका अनुसार आफ्ना दुई तेलका जहाजमा ठुलो क्षति पुगेको छ। फलिहले तेल बोकेका दुवै जहाजले अबर सागर पार गरिरहेका बेला हमला भएको हो। यो हमलामा अमेरिकाको संलग्नता रहेको आशंका गरिएको छ। अमेरिकाले यसअघि नै इरानसँगको बढ्दो तनावलाई लिएर इरान क्षेत्रमा समुद्री यातायातलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो।

फाइल फोटो /गुगल

यसै चेतावनीको पृष्ठभूमिमा सामुद्रिक जहाजमाथि हमलाको समाचार आएको हो। इराले भने यस हमलाको निष्पक्ष जाँच हुनुपर्ने माग गरेको छ। इरानसँग तनाव चुलिँदै गएपछि अमेरिकाले फारसको खाडीमा एक युद्धपोत, बी-२ बमवर्षक विमान, प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरिसकेको छ। जानकारका अनुसार अमेरिका इरानमाथि मनोवैज्ञानिक दबाव बढाउनका लागि यस्तो गरिरहेको छ।

दुवै देशको सम्बन्ध २०१५ यता सबैभन्दा खतरनाक बिन्दुमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सन्धि तोडेसँगै तनाव चुलिएको छ। त्यसपछि अमेरिकाले इरानमाथि पुन: सबै किसिमको प्रतिबन्ध लगाएको छ। यस विवादपछि अमेरिकाले आठ देशलाई इरानको तेल खरिद बन्द गर्न चेतावनी दिएको थियो।

मध्यपूर्वमा चुलियो तनाव, एक लाख २० हजार सेना उतार्दै अमेरिका– अमेरिका र इरानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि अब सैन्य दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्ना एक लाख २० हजार सैनिक उतार्ने भएको छ।

साउदीका २ वटा तेल बोकेका जहाज ध्वस्त बनाएको केही दिनमै अमेरिकाले यस्तो कदम चाल्ने निर्णय नजिक पुगेको हो। गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको बैठकमा आफ्नो सैन्य योजना पेश गरेका छन्।

प्रशासनिक अधिकारीका अनुसार यदि इरानले अमेरिकी सेनामाथि हमलाको कोशिश गरेमा या आफ्नो परमाणु कार्यक्रम अघि बढाएमा जवाफ दिने पुरा तयारीका लागि यति धेरै संख्यामा सेना उतार्न लागिएको हो ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो सैन्य योजना पेश गरेका हुन्। इरानलाई लिएर अमेरिकी सैनिकको योजनामा पुरै परिवर्तन आएको छ। यही परिवर्तनकै नतिजा अमेरिकाले लाखौँ सैनिक मध्यपूर्वमा उतार्ने भएको हो । बोल्टनले सुरुबाटै तेहरानसँग युद्ध गर्नुपर्ने मत राख्दै आएका छन्।

अमेरिकाले सिरिया र अफगानिस्ताबाट आफ्ना सैनिक फिर्ता गरिरहेका बेला इरानलाई लक्षित गरी ठुलो संख्यामा सैनिक उतार्ने निर्णय गरेको हो। मध्य पूर्वी एसियामा यति धेरै संख्यामा अमेरिकी सैनिक उतार्ने निर्णयले पुरै विश्व चकित भएको छ।

हिजो सोमवार ट्रम्पलाई इरानमा सत्ता परिवर्तन गर्न चाहेकोबारे सोधिएको प्रश्नमा उनले घुमाउरो उत्तर दिए । ‘हेरौँ इरानसँग के हुन्छ ? यदि इराले केही गडबड गर्‍यो भने यो त ठुलो गल्ती भइजान्छ।’

केही वरिष्ठ अमेरिकी अधिकारीका अनुसार अहिले सैन्य योजना सुरुवाती अवस्थामा छ। तर अमेरिकाको यो कदमले इरान उसका लागि धेरै ठुलो खतरा भइसकेको आँकलन गरिएको छ।

केही विश्लेषकहरुले भने अमेरिकाले यो कदम इरानलाई तर्साउन उठाएको बताएका छन्। यति धेरै ठुलो फौज मध्यपूर्वमा उतार्ने अमेरिकी निर्णयले ट्रम्पकै सुरक्षा सदस्य पनि चकित भएका छन्। एक लाख २० हजार सैनिक अमेरिकाले यसअघि सन् २००३ मा इराक हमलाका क्रममा उतारेको थियो।

वायु सेना, थल सेना र नौसेनाको यति ठुलो संख्यामा मध्यपूर्वमा तैनाथीलाई तेहरानमाथिको हमलाको तयारीका रुपमा विश्लेषकहरुले अनुमान गरेका छन्। यसका अलावा मध्य-पूर्व एसियादेखि अमेरिकी सेनाको फिर्ताी प्रक्रिया उल्टो दिशामा फर्किन सक्नेछ। सन् २०११ मा पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इराकबाट सेना हटाउन थालिएको थियो।

तर पनि अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीले भने ट्रम्पले तेहरानका केही नेताहरुलाई आफू युद्धको पक्षमा नरहेको भनेर विश्वस्त बनाएको बताएका छन्। सोमवार युएईको समुद्री तटमा तेल बोकेका दुई जहाजमा आक्रमण भएको थियो। फारसको खाडीको समुद्री यातायात संघर्षको अघिल्लो क्षेत्र बन्‍ने अनुमान गरिएको छ। ट्रम्पले यसबारेमा उत्तर दिँदै भनेका छन्, ‘यदि कुनै गडबड भयो भने इरानका लागि धेरै ठुलो संकटको अवस्था आउनेछ।’

-थाहाखबरबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu