योगमायामा आधारित नाटक २४ गते देखि:मुख्य भूमिकामा मिथिला शर्मा

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार

काठमाडौं- विद्रोही नारीका रुपमा चर्चित योगमायाको जीवनमा आधारित उपन्यास ‘योगमाया’माथि बनेको नाटक मञ्चन हुने भएको छ। निलम कार्कीको उक्त मदन पुरस्कारप्राप्त कृतिमाथि बनेको नाटक ‘योगमाया’ जेठ २४ गेतदेखि शिल्पी थिएटरमा मञ्चन हुने भएको हो। नाट्यकर्मी टंक चौलागाईंको नाट्य परिमार्जन र निर्देशनमा तयार भइरहेको नाटकको यतिबेला रिहर्सल जारी छ। नाटकलाई प्रकेश सिन्धुलीयले सहनिर्देशन र सुरज तमुले कोरियोग्राफी गरेका छन्।

नाटकमा योगमायाको मुख्य भूमिकामा चर्चित र अनुभवी कलाकार मिथिला शर्मा देखिँदैछिन्। लामो समयपछि रंगमञ्चमा योगमाया चरित्रका साथमा आउनुलाई कलाकार शर्माले निकै ठूलो चुनौतीको रुपमा लिएकी छिन्।राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थी लगायतका अनुभवी रंगकर्मीले पनि अभिनय गर्नेछन्। सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईं, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबालाकक्षाका बालकलाकार काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिना पनि नाटकमा रहनेछन्।

नाटक स्कुल थिएटर नेपाल र साङ्ग्रिला फाउन्डेसनको प्रस्तुतिमा मञ्चन हुने भएको हो। राणा शासनका समयमा आफ्ना विद्रोही मागसहित आन्दोलनमा उत्रिएर श्री ३ चन्द्रशमसेरबाट धर्मराज्य स्थापना गर्ने वचन पाएकी योगमायाले माग पूरा नभएपछि १९९८ असार २२ गते आफ्ना अनन्य भक्तहरूसहित अरुण नदीमा जलसमाधि लिएकी थिइन्।
-रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu