काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणका क्रममा शनिबार दुई देशबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । भियतनामका प्रधानमन्त्री गुएन छुआन फुकको निमन्त्रतणामा तीन दिन अघि प्रधानमन्त्री ओली त्यसतर्फ गएकोमा उनको भ्रमण कार्यक्रम अझै दुई दिन बाँकी छँदै संयुक्त वक्तव्य जारी भएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार नै भियतनामका समकक्षीसँग दुई पक्षीय वार्ता गर्नुका साथै राष्ट्रिय सभाका अध्यक्ष गुएन थि किमसँगपनि भेट गरेका थिए । ओलीले भ्रमणका क्रममा होचिमिन्ह नेशनल एकेडेमी अफ पोलिटिक्स र भियतनाम–नेपाल बिजनेश फोरमलाई पनि सम्बोधन गरेका थिए । उनले शनिबार नै राष्ट्रपति होचि मिन्ह र सहिदहरुप्रति सम्मान व्यक्त गरेका थिए । प्रधानमन्त्री ओली आइतबार बेशक डेको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदैछन् ।
संयुक्त वक्तव्यमा जनाइएअनुसार दुई पक्षीय वार्तामा दुई देशको हित, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा सौहाद्र्धपूर्ण वातावरणमा कुराकानी भएको बताइएको छ । ओलीले सो अवसरमा होचि मिन्हको स्रहाना गर्दै पछिल्ला दिनमा भियतनामले हासिल गरेको प्रगतिको प्रसंशा गरेका थिए । सो अवसरमा भियतनामका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले आफ्नो पहिलो दक्षिण पूर्वएशियाली राष्ट्रको भ्रमणका क्रममा भियतनामलाई रोजेकोमा आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा नेपाल र भियतनामको बहुमुखी सम्बन्धलाई अझ बलियो बनाउन मद्दत पुग्ने समेत बताएका थिए ।
उनले नेपालमा ऐतिहासिक राजनीतिक उपलब्धिका लागि बधाई दिँदै नेपालको आफ्नै खालको शान्ति प्रक्रिया, लोकतान्त्रिक संविधान र स्थिर सरकारको पनि स्रहाना गरेका थिए । उनले नेपाली जनताको जीवनस्तर देखिने गरी उकास्न सरकारले चालेको कदमको प्रसंशा गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा हुने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा दुई देशका सरकारी अधिकारीहरुलाई भिसा शुल्क नलाग्ने सम्बन्धी समझदारी, दुई देशका विदेश मन्त्रालय स्तरमा परामर्श समिति बनाउने विषयमा हस्ताक्षर तथा व्यापार र लगानी सहयोग गर्ने सम्बन्धी लेटर अझ इन्टेन्ट आदान प्रदान समेत गरिएका छन् । दुवै देशले साँस्कृतिक र ऐतिहासिक समानताको चर्चा गर्दै दुई देशबीचका सम्बन्धमा बुद्ध धर्मले जोडेको समेत चर्चा गरिएको थियो । नेपाल र भियतनाम आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताका लागि विभिन्न संघर्ष गर्नुपरेको चर्चा दुवै देशका नेताले गरेका थिए ।
सन् २०२०मा ४५ औं वर्षगाँठ मनाउने
दुवै पक्षले सन् २०२०मा दुवै देशको कुटनीतिक सम्बन्ध स्थापनाको ४५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने जनाउँदै दुवै देशका उच्च स्तरीय भ्रमणले थुप्रै क्षेत्रमा सहयोग पुग्ने समेत चर्चा गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ । दुवै देशका नेताले आगामी दिनमा दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने जनाउँदै दुवै देशका नेताले सम्भावना हुँदाहुँदैपनि दुई पक्षीय आर्थिक गतिविधि हुन नसकेको समेत चर्चा गरेका थिए ।
सो अवसरमा दुवै देशका उद्योगी व्यवसायीलाई विद्युतीय सामग्री, कफी, चिया, समुद्री खाद्यान्न, तयारी पोशाक, छालाका जुत्ता जस्ता सामानको एक अर्का देशमा सम्भाव्यता अध्ययन गर्न आग्रह गरिएको थियो । त्यस्तै उर्जा, पुनर्नविकरणीय उर्जा, उच्च प्रविधियुक्त कृषि, पर्यटन जस्ता क्षेत्रमा पनि ध्यान दिन आग्रह गरिएको थियो । दुवै देशबीच कानुन कार्यान्वयनका क्षेत्रमा देखिएका अनुभव आदानप्रदान गर्ने, आपराधिक क्रियाकलाप रोक्न आपसी सहयोग प्रक्रिया अघि बढाउने, जनस्तरको सम्बन्ध अघि बढाउने जस्ता विषयमा पनि छलफल गरेका थिए । त्यस्तै नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागेकोमा त्यसमा भियतनामका बौद्ध धर्माबलम्बीहरुलाई भ्रमणका लागि आग्रह समेत गरिएको थियो ।
सुरक्षा परिषद्मा नेपालले सघाउने
भियतनामका प्रधानमन्त्रीले आफ्नो देशले सन् २०२० र २०२१ कार्यकालको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्य पदमा दिएको उमेदवारीमा नेपालले सहयोग गर्ने वचन दिएकोमा नेपालप्रति आभार समेत व्यक्त गरेका थिए ।
भियतनामका प्रधानमन्त्री नेपाल आउने
सो अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई भियतनाममा गरिएको स्वागतप्रति धन्यवाद दिँदै भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । भियतनामका प्रधानमन्त्रीले सो निमन्त्रण स्वीकार गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
ad
ad
ad
प्रतिकृया दिनुहोस
हाम्रो बारेमा

