एक सर्को, दुनियाँ अर्को – गँजडी छोरी

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार

-सृजना खड्का

‘एक सर्को, दुनियाँ अर्को’ -काठमाडौँ, जोरपाटीस्थित एक शैक्षिक संस्थामा ‘ए लेभल’ पढिरहेकी पद्मा (नाम परिवर्तन) गाँजा तानेपछि प्रायः यसै भन्ने गर्छिन्। गाँजाको एक सर्कोले अर्को दुनियाँमा पुर्‍याउने भ्रम छ उनलाई। कक्षा सातमा हुँदा उनले पहिलो पटक हुक्का तानेकी थिइन्।

‘अरूले तानेको देखेर मलाई पनि तानौँ–तानौँ लाग्यो,’ उनले भनिन्, ‘अरूले तानेकै देखेर चुरोट पनि कस्तो हुँदो रहेछ भनेर टेस्ट गरेँ। चुरोट खान थालेपछि ‘मभन्दा ठूलो कोही छैन’ भन्ने फिलिङ आउन थाल्यो।’ हुक्का हुँदै चुरोटको लतमा फसेकी उनका लागि आजभोलि गाँजा तान्नु सामान्य हो।

पद्मा र उनका साथीहरूको गाँजा खाने विभिन्न ‘जक्सन’ छन्। ‘ठमेल, बौद्ध, जोरपाटी, स्वयम्भू, बानेश्वर, वसन्तपुर, सामाखुसी हामीले गाँजा खाने जक्सन हुन्,’ उनले भनिन्, ‘धेरैजसो ठमेलमा होटल बुक गरेर खान्छौँ। उस्तै परे कसैले थाहा नपाउने गल्ली र पार्किङमा गएर पनि खाने गरेका छौँ।’ गाँजा खाँदा आफू छुट्टै दुनियाँमा पुग्ने उनी बताउँछिन्। ‘तोप (गाँजा) खाँदाजस्तो रिल्याक्स अरू केहीमा हुँदैन,’ उनले भनिन्, ‘खान थालेपछि जे कुरालाई पनि गहिरो तरिकाले सोच्न थालिन्छ। हुनै नसक्ने कुरा पनि कल्पना गरेर बसिन्छ। कहिले हाँसेको हाँस्यै भइन्छ। कहिले रोएको रोयै।’

होटल, रेस्टुरेन्ट, कफी सप होस् वा चिया पसल, अचेल गाँजा तान्ने युवायुवती र किशोरकिशोरी थुप्रै भेटिन्छन्। पछिल्लो समय गाँजा खाने किशोरी र युवतीको संख्या ह्वात्तै बढेको नार्काेनन नेपालका राष्ट्रिय निर्देशक वसन्तराज कुँवर बताउँछन्।
पद्माकी साथी तृष्णा (नाम परिवर्तन) ले धेरैजसो केटीले ब्वाइफ्रेन्डसँग ब्रेकअप भएपछि गाँजा खान थाल्ने बताइन्। भनिन्, ‘गाँजा खान थालेपछि त्यस्ता ब्रेकअप स्रेकअप सबै बिर्सिइन्छ। ‘रेड आइज, बिग स्माइल’ भन्ने हाम्रो स्लोगनै छ। खाएको बेला ‘हाम्रो जिन्दगी पो जिन्दगी, अरूको जिन्दगी त के जिन्दगी’ जस्तो लाग्छ।’

कक्षा ११ मा पढ्दा तृष्णालाई क्लब जाने बानी पर्‍यो। ‘घरबाट साथीकोमा जान्छु भनेर लुकीलुकी क्लब जान्थेँेँ,’ उनले भनिन्, ‘घरबाट जान नदिएको दिन झ्यालबाट बरन्डा हुँदै राति भागेर निस्किन्थेँ। बिहान अरू उठ्नुभन्दा पहिल्यै आएर कोठामा सुतेको नाटक गर्थें।’ साथीहरूको समूहमा ‘फिट’ हुन आफूले चुरोट र गाँजाको सहारा लिनुपरेको उनले बताइन्। ‘साह्रै बिग्रिएँ भनेर कहिलेकाहीँ मनलाई बाँध्ने कोसिस गर्छु,’ उनले भनिन्, ‘साथीहरूले रमाइलो गरेर फोटो इन्स्टाग्राममा देखेपछि चुमचुम लागिहाल्छ। आजकाल गाँजा नखाएको र क्लब नगएको दिन अधुरो लाग्छ।’

गाँजा खान तृष्णाले आफ्नै बेस्ट फ्रेन्डबाट सिकिन्। ‘मेरो बेस्ट फ्रेन्डका दाइहरू काठमाडाँै, नारायणटारका रफ केटाहरू थिए,’ उनले भनिन्, ‘उनीहरूले नै गाँजा ल्याएर दिन्थे। एक दिन बेस्ट फ्रेन्डले नै ‘ट्राई गर्, खत्रा ट्रिप दिन्छ’ भनेपछि खान थालेको हुँ।’ घरबाट दिने पकेट खर्च तृष्णा गाँजामा खर्चिन्छिन्।

‘पैसा नपुगेर धेरै पटक ममीको एटीएम कार्ड झ्याप हानेको छु,’ उनले भनिन्, ‘आफूसँग पैसा भएको बेला आफू खुवाउने, साथीहरूसँग भएको बेला उनीहरू खुवाउँछन्। कोहीसँग नहुँदा ‘भोलि दिन्छु’ भनेर उधारोमा पनि गाँजा किनिन्छ। खाने बानी लागेपछि जताबाट पनि म्यानेज हुन्छ। तलतल मेट्न कुनै समस्या हुँदैन।’

पद्मा, तृष्णा र उनका धेरै साथी गाँजा खाएको निहुँमा धेरै पटक प्रहरी थानामा पुगिसके। ‘एक रात १२ बजेसम्म रोडमा तोप तानेर बसेका थियौँ,’ पद्माले भनिन्, ‘हामीलाई देखेर कप्स (पुलिस) ले लखेट्यो। त्यो रात थानामै बित्यो। भोलिपल्ट तोप खाने अर्की साथी कुर्ता लगाएर हाम्री दिदी बनेर हामीलाई छुटाएर लिएर गई। बेला–बेला कप्सले हाम्रो सातो उडाउँछन्।’

भ्रममा किशोरी–युवती- उनको छातीमा फिनिक्स चराको ट्याटू छ। पछाडि ढाडमा मण्डलको चित्र खोपाएकी छिन्। दाहिने हातमा एउटा ठूलो प्वाँखको ट्याटू छ। ‘यी सबै ट्याटू मैले झ्यापको तालमा खोपाएकी हुँ,’ काठमाडौँ, कपन बस्ने रेश्मा (नाम परिवर्तन) ले भनिन् ,‘मलाई भविष्यमा ट्याटू आर्टिस्ट बन्नु छ। ट्याटू खोप्न र खोपाउन झ्यापको तालमा मज्जा आउँछ।’ सानैदेखि होस्टल जीवन बिताएकी उनी पाँच कक्षादेखि चुरोट खान थालेको बताउँछिन्। ‘चुरोटले होस्टल बस्दाको एक्लोपन मेटाउँथ्यो,’ उनले भनिन्, ‘म रिसालु स्वभावकी थिएँ। एक दिन साथीहरूले ‘रिस कन्ट्रोल गर्न गाँजा खानुपर्छ’ भनेर ताल लगाए। त्यही दिनदेखि गाँजा खान थालेँ।’

‘गाँजा खाने मान्छे ट्यालेन्टेड हुन्छन्’ भन्ने भ्रम छ रेश्मालाई। ‘मेरो ब्वाइफ्रेन्ड नेपालको चर्चित र्‍यापर हो,’ उनले भनिन्, ‘ऊ स्टोनर (नियमित रूपमा गाँजा खाने व्यक्ति) पनि हो। हामी रिलेसनमा बसेको दुई वर्ष भयो। उसले हामीजस्तै गँजडीले सुन्ने खालको गीत गाउँछ। गाँजा खाएको बेला उसको दिमाग खत्रा चल्छ। उसले आफ्ना सबै गीत गाँजा खाएकै तालमा कम्पोज गरेको हो। गाँजाले मान्छेलाई क्रिएटिभ बनाउँदो रहेछ। मलाई पनि गाँजा खाएर ऊजस्तै क्रिएटिभ र ट्यालेन्टेड हुनु छ।’

काठमाडौँ, जोरपाटीस्थित सोबर रिकभरी उपचार तथा पुनःस्थापना केन्द्रका संस्थापक निर्देशक छिरिङ वाङ्दे गाँजाबारे यस्ता धेरै भ्रम फैलिएको बताउँछन्। गाँजालाई उनी लागुऔषध दुव्र्यसनको सुरुवाती चरण मान्छन्। ‘गाँजालाई आजभोलि फेसनका रूपमा लिन थालिएको छ,’ उनी भन्छन्, ‘अहिलेको समयमा गाँजा भयानक ‘मोडर्न डिजिज’ हो।’ गाँजालाई आधुनिक रोग ठान्ने उनी किशोर–किशोरीलाई यसबाट जोगाउन अभिभावक सचेत हुनुपर्ने बताउँछन्।

ललितपुर, सानेपा बस्ने आर्या (नाम परिवर्तन) मोडल हुन्। ‘मोडलिङमा लाग्नुभन्दा पहिला म चुरोट पनि खाँदिन थिएँ,’ उनले भनिन्, ‘मोडलिङमा लागेपछि चुरोट हुँदै गाँजासम्म खानपुगँे। हल्का मोटी थिएँ। साथीहरूले ‘गाँजा खाएपछि फिगर मेन्टेन हुन्छ’ भने। उनीहरूकै तालमा लागेर गाँजा खान थालेँ।’ आजभोलि आर्यालाई गाँजा भएन भने दिनै खल्लो लाग्छ।

‘गाँजा, साथी, म्युजिक र खल्तीमा अलिअलि दाम भएको दिन जिन्दगी नै हराभरा लाग्छ,’ उनले भनिन्, ‘साथीहरूले भनेको जस्तै गाँजाले साँच्चै फिगर पनि मेन्टेन गर्दो रहेछ। गाँजा स्वास्थ्यका लागि राम्रो हुन्छ। खाइसकेपछि जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास आउँछ।’

सोबर पुनःस्थापना केन्द्रका निर्देशक वाङ्देका अनुसार २० देखि २५ प्रतिशत किशोरी–युवती आफ्नो फिगर मेन्टेन गर्ने भ्रममा गाँजाको लतमा फस्ने गरेका छन्। ‘त्यसमा धेरै सेलिब्रिटी र मोडलहरू पनि छन्,’ उनी भन्छन्, ‘यो एउटा ठूलो भ्रम हो।’

गाँज्दै छ गाँजाले- नार्कोनन नेपालको अध्ययनअनुसार नेपालमा ४० हजारजति महिला लागुपदार्थ दुव्र्यसनमा फसेका छन्। जसमध्ये ६० प्रतिशतले गाँजा खाने गरेको अध्ययनले देखाएको छ। त्यसमा अधिकांश किशोरी छन्।

काठमाडौँ, चाबहिल बस्ने बिनु (नाम परिवर्तन) भर्खरै १७ वर्षकी भइन्। ‘साथी सर्कलले गर्दा सानैदेखि चुरोट तान्ने बानी पर्‍यो,’ उनले भनिन्, ‘छोरी बिग्रिई भनेर आमाबुबाले धेरै ठाउँमा कोठा सार्नुभयो। तैपनि, मेरो बानी सुध्रिएन। तनावमुक्त हुन, साथीहरूमाझ खुलेर बोल्न र रिलेसनसिपको टेन्सनबाट मुक्त हुन म गाँजाको शरणमा गएँ।’

उनका छिमेकीले उनलाई बेला–बेला भन्ने गर्छन्, ‘मेरी छोरी भए यसरी तह लाउँथेँ, उसरी तह लाउँथेँ।’ साथीको घरमा जाँदा उनले अनेक घोचपेच सहनुपर्छ। ‘साथीको घरमा जाँदा ‘यस्ती गँजडी केटीसँग नहिँड्’, ‘यस्तो अनुहार र नाइटो छेडेकी केटीसँग संगत गर्छन् ?’ भन्छन्,’ बिनुले भनिन्, ‘गाँजा खान थालेपछि यस्ता सानातिना कुरामा बाल लाग्दैन। समाज भनेको यस्तै हो। नखाँदा पाखे भन्छ, खान थाल्यो ट्यापे भन्छ।’

गाँजा खानेहरूको फ्रेन्ड सर्कल निकै फराकिलो हुने उनी बताउँछिन्। ‘म भर्खर १७ वर्षकी भएँ,’ उनले भनिन्, ‘तर, मेरो लिंक कहाँसम्म छ भन्ने कुरा कसैले कल्पना गर्न सक्दैन। गुण्डाका नाइकेहरू हाम्रै ग्याङका दाइहरू हुन्।’ आजभोलि हरेक दिन गाँजासँगै दिन सुरु हुने र क्लबमा गएर रात बित्ने उनले बताइन्। ‘म नगएको काठमाडौँमा कुनै पनि क्लब छैन,’ उनले भनिन्, ‘क्लबमा गएर गाँजा तान्दा आफू हिरोइन नै भएको फिल आउँछ। क्लब जान र गाँजा खान थालेपछि आफ्नो स्ट्याटस मेन्टेन गर्नुपर्छ। ब्रान्डेड लुगा लगाउनुपर्छ। हातमा आइफोनको नयाँ मोडल हुनुपर्छ।’

उनलाई गाँजा नखाँदा आफू आफूजस्तो लाग्दैन। ‘गाँजा खाएको बेला मलाई ‘यो चाहिँ रियल म हुँ’ भन्ने लाग्छ,’ बिनुले भनिन्, ‘नखाँदा आफू को हो, को हो जस्तो लाग्छ। खाइसकेपछि ‘यो चाहिँ साँच्चिकै म हो’ भन्ने सोच आउँछ। अरू बेलामा फेस गर्न नसकेको कुरा चार्जमा (गाँजाको नशामा) हुँदा फेस गर्ने आँट आउँछ।’

गाँजा प्राप्त गर्न विभिन्न तरिका अपनाउने बिनुले बताइन्। ‘धेरैजसो हन्टिङ (गाँजा खोजी) जान्छौँ,’ उनले भनिन्, ‘काठमाडौँ भ्याली र भ्यालीबाहिरका विभिन्न ठाउँमा गोप्य गाँजा खेती गरिएको हुन्छ। झोर, सुन्दरीजल, मूलखर्क, जरसिंह पौवा, फर्पिङतिर गाँजाको खेती हुन्छ। त्यहाँ गाँजाको झाडु नै पाइन्छ।’ एउटा झाडुको १५ सयदेखि दुई हजार रुपैयाँसम्म पर्ने उनले बताइन्।

‘आफैँ गएर ल्याउँदा छानेर क्वालिटी हेरेर लिन पाइन्छ,’ उनले भनिन्, ‘राम्रो मालले ट्रिप पनि दामी दिन्छ।’ हन्टिङ जान नपाएको बेला उनी र उनका साथीहरू डिलरसँग किन्छन्। ‘डिलरसँग लिँदा अलि महँगो पर्ने भएकाले प्रायः हन्टिङ जान्छौँ,’ उनले सुनाइन्, ‘हन्डिङ जाँदा पुलिसले नसमात्ने बाटो कुन–कुन हो, सबै कण्ठ छ।’

गाँजा खाने उनीहरूका आफ्नै तरिका छन्। ‘धेरैजसो चुरोटमा हालेर खाइन्छ,’ बिनुले भनिन्, ‘त्यस्तै रेजिला पेपरमा बेरेर र लिची जुसको बोतलमा बनाएर पनि खाइन्छ।’ परिवारले थाहा नपाओस् र फ्रेस देखियोस् भन्नका लागि उनी र उनका साथी धेरै उपाय लगाउँछन्। ‘आँखा रातो नहोस् भनेर आइड्रप हाल्छौँ,’ उनले भनिन्, ‘गन्ध नआओस् भनेर चुइगम चपाउने, पफ्र्युम दल्ने गर्छौं। फ्रेस देखिन मेकअपको सामान बोकेर हिँड्छौँ।’

ललितपुर, पाटनकी हेमा (नाम परिवर्तन) का अनुसार कफी, चिया, ड्रिंक र स्मोक मात्रै गर्न मिल्ने क्याफे वसन्तपुर र पाटनमा टन्नै छन्। ‘वसन्तपुर र पाटनमा विड स्मोकरहरू मात्र बस्ने ठाउँ धेरै छन्,’ उनले भनिन्, ‘त्यहाँ सबै जना गाँजा तानिरहेका हुन्छन्। त्यहाँको माहोल देखेर चिया र कफी मात्र पिउन आएकाहरू पनि एक पटक ट्राई गरौँ न त भनेर गाँजा खान्छन्। ग्याङ–ग्याङ बसेर गाँजा खाइरहेका हुन्छन्। त्यही बेलामा एकअर्कासँग चिनजान र बोलचाल गरेर फ्रेन्ड सर्कल बढ्दै जान्छ।’

गाँजा खाने अधिकांश किशोरी–युवती भन्छन्– ‘हामीलाई त्यसको नशा मन पर्छ।’ ‘गाँजाले मानिसलाई आनन्द दिन्छ,’ हेमाले भनिन् ‘मान्छेलाई खुशी बनाउँछ। कन्ट्रोलमा राख्छ। खानेबित्तिकै स्टे«स हराउँछ। गाँजा खाएको मान्छेले अगाडि दुश्मनै आयो भने पनि हाँसी–हाँसी अँगालो हाल्छ।’

गाँजाको कुलतमा फसेकाहरूको बोल्ने छुट्टै तरिका हुने हेमाले बताइन्। गाँजा खाने मानिस आत्मविश्वासले भरिपूर्ण हुने उनको भ्रम छ। ‘जस्तोसुकै नभएको कुरालाई पनि हो भन्ने पार्न सकिन्छ,’ उनले भनिन्, ‘छिट्टै अरूको विश्वास जित्न सकिन्छ।’ गाँजा खानेहरू भुलक्कड हुने पनि उनले बताइन्। ‘फोनमा कुरा गरिरहेको हुन्छ, त्यही बेला फोन हरायो भनेर खोजिरहेको हुन्छ,’ उनले आफ्नो अनुभव सुनाइन्।

‘केटी भएर यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन’ भनेको भक्तपुर, दूधपाटीकी इमा (नाम परिवर्तन) लाई मन पर्दैन। ‘मेरो सर्कलमा केटीभन्दा धेरै केटा साथी छन्,’ उनले भनिन्, ‘उनीहरूसँग हिँड्दाडुल्दा ‘म पनि तिमीहरूभन्दा के कम’ भन्दै हिँड्छु। उनीहरूसँग हिँड्दाहिँड्दै गाँजा खानेदेखि ग्याङमा मिसिएर झगडा गर्ने सबै काम गरियो।’

गाँजा खानेलाई संगीतले थप बल पुर्‍याउने उनले बताइन्। ‘बन्द कोठामा क्यान्डल बालेर स्पिकरमा ट्रिप्पी बिट बजाएर खाइन्छ,’ इमाले भनिन्, ‘बढीजसो पिंक फ्लोइड, जेम्स बेका गीत सुन्छौँ। स्याड मुडमा चाहिँ बब मार्लीका गीत सुन्ने गरेका छौँ। कोठाभरि धुवाँ पारेर आखा बन्द गरेर गीतलाई फिल गर्दा एक्स्ट्राअर्डिनरी आनन्द आउँछ।’
‘साथीलाई सुधार्छु’

होटल म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी चितवनकी आकांक्षा (नाम परिवर्तन) सोबर रिकभरी उपचार तथा पुनःस्थापना केन्द्रमा आएको तीन महिना भयो। २२ वर्षकी उनले १५ वर्षको उमेरदेखि गाँजा खान थालेकी हुन्। जमलमा साथीको रेस्टुरेन्टबाट गाँजा तानिरहेको बेला उनलाई परिवारले समातेर सुधार केन्द्रमा हाल्यो।

‘घरबाट मलाई पहिला नै सुध्रिने चान्स दिइसकेका थिए,’ उनले भनिन्, ‘मेरो बानी सुध्रिएन। झ्यापमा हुँदा आनन्द लाग्थ्यो। फ्रेस भएपछि फेरि घरको डर लाग्न थाल्थ्यो। गाँजा खाएको बेला घरमा जाँदा पिट्लान् भन्ने पिरले घरै नजाँदा समातेर यहाँ ल्याए।’

उनलाई सुरुमा गाँजाको स्वाद राम्रो लागेको थिएन। खाँदै गएपछि बिस्तारै बानी परेको उनले बताइन्। ‘मेरो ब्वाइफ्रेन्ड नै गाँजाको डिलर थियो,’ उनले भनिन्, ‘गाँजा खाने केटाको गर्लफ्रेन्डले गाँजा खाएन भने लाज हुन्छ भन्दै खुवायो। सुरुमा गाँजा कहिल्यै किन्नुपरेन। उसका भाइहरूले घरमै ल्याइदिन्थे।’

उनको देब्रे हातमा ए प्लस एस लेखिएका ट्याटू खोपिएको छ। ‘एस भनेको मेरो ब्वाइफ्रेन्डको नाम हो,’ उनले भनिन्, ‘झ्यापको तालमा ट्याटू हानेँ। अहिले हाम्रो ब्रेकअप भइसक्यो।’

विगतका दिनमा कति चोटि गाँजा तान्थिन्, उनैलाई थाहा थिएन। ‘बिहानै कलेज सुरु हुनुभन्दा अघि तान्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त क्लासमै बेन्चमुनि लुकाएर गाँजा माडिरहेको हुन्थेँ। गाँजा खाने बानी परेपछि चुरोटले चित्तै बुझ्दैनथ्यो। खान नपाएको दिन एकदमै छटपटी हुन्थ्यो।’

तीन महिना सोबरमा बसेपछि उनलाई गाँजा नखाई पनि मानिस बाँच्दो रहेछ भन्ने लाग्न थालेको छ। ‘पहिला गाँजा नखाई निद्रै लाग्दैनथ्यो,’ उनले भनिन्, ‘खाएर झ्याप हुँदा सडकपेटीमा कति रात बिताइयो।’ तर, अहिले उनी सुध्रिसकेकी छिन्। ‘यहाँबाट बाहिर गएपछि साथीहरूलाई सुधार्ने प्रयास गर्छु।’

छोरीलाई रिह्याब लैजान लाज- नार्काेननका कुँवरका अनुसार धेरैजसो किशोरी र युवती साथीभाइको संगतले गाँजाको लतमा फस्छन्। भन्छन्, ‘कसैले औषधि हो भन्ने विश्वासले खान्छन्। कसैल रमाइलो गरौँ वा दुःख बिर्सौं भनेर पनि खान्छन्। कतिलाई भने योजनाबद्ध ढंगले पनि खुवाउने गरेको पाइन्छ।’ उनका अनुसार पाँच खिल्ली चुरोटमा राखिएको गाँजा एक दिनमा खानु २० वटा चुरोट खाएबराबर हो।

गाँजाको अत्यधिक प्रयोगले मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिटोछिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि हुन्छ। ‘केहीलाई यसको असर रहुञ्जेल मात्र रमाइलो र आनन्द अनुभव हुन्छ,’ उनले भने, ‘गाँजा नशा र दुव्र्यसन भएको प्रमाणित भइसकेको छ।’ यसको सेवन रोक्दा वा घटाउँदा चिढचिढाहट, रिस, छटपटी, डर, त्रास, अनिद्रा, उदासी, पसिना छुट्ने, ज्वरो आउनेलगायत समस्या देखिने कुँवर बताउँछन्। ‘विभिन्न अनुसन्धानले गाँजाको लतले उदासीनता, चिन्ता, स्किजोफ्रेनिया रोग लाग्न सक्ने देखाएको छ,’ उनी भन्छन्।

सोबरका वाङ्दे आजभोलिका किशोरीले गाँजालाई सामान्य रूपमा लिने गरेको बताउँछन्। ‘गाँजालाई विश्वका विभिन्न देशले वैधानिक रूपमा लिएकाले पनि यो समस्या देखिएको हो,’ उनी भन्छन्, ‘धेरैले यसलाई औषधिका रूपमा लिएका छन्। अरूभन्दा फरक बन्न र ‘हामी कोहीभन्दा कम छैनौँ’ भन्ने भावनाले प्रेरित भएर धेरैले गाँजा खान्छन्। सरकारको गाँजासम्बन्धी नियम फितलो भएकाले पनि यसमा धेरै युवा–युवती फसेका छन्।’

‘गँजडी छोरी’का विषयलाई लिएर अभिभावकको सोचमा परिवर्तन आउनुपर्ने वाङ्दे बताउँछन्। ‘छोरा गाँजा खाएर बिग्रियो भने अभिभावक सामान्य मान्छन् र सुधारगृहमा लैजान्छन्,’ उनी भन्छन्, ‘तर, छोरीले गाँजा खाई भने सुधारगृहमा लैजाँदैनन्। यसो गर्दा आफ्नो बेइज्जत हुने उनीहरू ठान्छन्।’

धेरैजसो स्कुल तहका विद्यार्थी गाँजामा फसेकाले परिवारका सदस्य सचेत हुनुपर्ने वाङ्दे बताउँछन्। ‘गाँजा खाने छोरी, दिदी, बहिनीलाई परिवारले हेर्ने नजर राम्रो छैन,’ उनले भने, ‘छोरा होस् वा छोरी, सबैलाई यसको लतबाट बाहिर ल्याउन परिवारका सदस्यले पहल गर्नुपर्छ।’ कडा खालको लागुऔषध सेवन गर्नेभन्दा गाँजा खानेलाई छुटाउन गाह्रो पर्ने उनको अनुभव छ। ‘अरू ड्रग खानेले आफ्नो गल्ती चाँडै स्विकार्छन्,’ उनी भन्छन्, ‘तर, गाँजा खानेले आफू दुव्र्यसनमा फसेको हत्तपत्त स्विकार्दैनन्।’

‘गाँजाले किशोरीहरूलाई गाँज्दै छ’ -वसन्तराज कुँवर राष्ट्रिय निर्देशक, नार्कोनन नेपाल

गाँजा कतिपय देशमा जताततै पाइन्छ। त्यसैले यो साधारण कुरा हो भन्ने सोच्छन्। यो लागुपदार्थ होइन भन्ने भ्रम धेरैमा छ। तर, गाँजा व्यक्तिलाई निष्क्रिय, असफल र रोगी बनाउने खतरनाक लागुपदार्थ हो। गाँजामा टीएचसी भन्ने स्नायुलाई असर गर्ने विष हुन्छ। यसले दिमाग र नसालाई असर गर्छ। गाँजामा अत्यधिक लठ्याउने तत्त्व भएकाले यसको सेवनपछि मानिस शिथिल बन्छ। गाँजा लिएको समयमा व्यक्तिका समस्याहरू छोपिन्छन्, अर्थात् उसले महसुस गर्न सक्दैन।

नेपालमा गाँजा खाने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ। उनीहरूलाई सही दिशामा ल्याउन पुरुषको भन्दा पाँच सय गुणा गाह्रो हुन्छ। आफूलाई मन नपरेको सोचाइबाट निस्किन मानिसले ड्रग लिन्छन्। १४ देखि १८ वर्षभित्रका थुप्रै किशोरी गाँजाको कुलतमा फसेका छन्। उनीहरूलाई गाँजाले गाँज्दै छ।

ड्रग भनेको लठ्याउने कुरा हो। गाँजालाई पनि हामी ड्रग नै भन्छाँै। अहिलेका युवा आमाबुबाको झगडा भएर लतमा लाग्ने होइनन्। उनीहरूलाई योजनाबद्ध रूपमा साथीभाइले दुव्र्यसनमा धकेलिरहेका हुन्छन्। निद्रा नलागेको, ब्वाइफ्रेन्डसँग झगडा परेको, पढ्न मन नलागेको अवस्थामा गाँजा सुरु गर्ने पनि धेरै छन्।

पेन, प्रोब्लम, डिसकम्फर्ट भुल्न र फिट इन हुनका लागि धेरै युवती गाँजातिर ढल्किन्छन्। धेरैले गाँजालाई पेन किलरका रूपमा पनि लिने गरेका छन्। खाँदा चेतना नभएपछि चिन्ताबाट मुक्त भइन्छ भन्ने धेरैलाई भ्रम छ। कतिपय भने आफ्ना विभिन्न समस्याबाट भाग्नका लागि यसको प्रयोग गर्छन्। आजभोलि भने साथी सर्कलमा फिट हुनका लागि पनि गाँजा खाने चलन बढेको छ।

दुव्र्यसनको उपचारमा आउनेमध्ये ६० प्रतिशत गाँजाकै समस्याले आएको पाइन्छ। हाम्रोजस्तो पुरुषप्रधान देशमा दुव्र्यसनमा परेका महिलालाई उपचारमा पठाउन परिवार तयार हुँदैन। उपचारमा ल्याउँदा बेइज्जत हुन्छ भनेर परिवारले सकभर यस्ता कुरा बाहिर ल्याउन चाहँदैन।

यस्ता कुरा आफन्तबाट गोप्य राख्न खोज्छन्। कतिपयलाई बिहे गरेर सुध्रिन्छन् भनेर विवाह गरिदिन्छन्। यो अवस्थामा महिलाहरू शारीरिक र मानसिक हिंसाको शिकार हुन पुग्छन्। त्यसैले कुनै पनि घरमा महिलामा दुव्र्यसनको समस्या छ भने लुकाउनु हुँदैन।

दुव्र्यसनमा फसेको पाँच वर्षभन्दा पहिला आएकाको मानसिक अवस्था ठीक हुन्छ। पाँच वर्षपछि आएकाको मानसिक अवस्थामा समस्या देखिन सक्छ। उनीहरूलाई आफूले आफूलाई स्वीकार गर्न १ सय २० दिन लाग्छ। उनीहरूलाई सदाका लागि दुव्र्यसनमुक्त बनाई नैतिक र उत्पादनमूलक बनाउन निकै समय लाग्छ।

साभार -सम्पूर्णवीक्ली

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu