नेपाली कांग्रेस नेताहरुले आफ्ना सभापति देउवालाई खोइ त प्रश्न गर्न सकेको ?
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीले विजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न कन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् । निर्देशन दिँदा सभापति देउवाले अरु के भने त्यो पनि सुनाउँछु है त । देउवाले भनेका छन्, ‘पार्टीभित्र आन्तरिक अनुशासन हरायो, आन्तरिक लोकतन्त्र हरायो, चुनाव हारेका र जितेकाहरुबीच बोलचाल नै बन्द भयो ।
यी विविध कारणले पार्टी कमजोर भयो । त्यसैले अब चुनाव जित्ने गरि निती बनाउन देउवाले निर्देशन नै दिए । प्रतिपक्ष कमजोर हुनु भनेको मुलुकका लागि ठूलो घाटा हो । अरुलाई यस्तो सल्लाह र सुझाव निर्देशन कै रुपमा भएपनि दिने सभापति देउवालाई सम्भवत सबै भन्दा धेरै सल्लाह र सुझाव चाहिएको छ ।
हर हमेशा दुर्वाषा ऋषिको मुढमा रहने देउवाको पछाडि ३ हात उफ्रिने कांग्रेसीजनहरु देउवाको अगाडि पिसाब चुहिने गरि डराउछँन् । नाकको टुप्पोमा रिस भएका कांग्रेस सभापती देउवा पछिल्लो पटक कहिले हाँसेका थिए भन्ने प्रश्न करोडपति बनाउने कार्यक्रममा राख्यो भने एविसिडी त के ए–टु जेटसम्मको अप्सन दिएपनि कसैले पत्ता लगाउन सक्दैन ।
तर मञ्चमा उभिएर बोल्दा अरुलाई पढाउन सबले जानेकै हुने रहेछन् । इतिहासकै बलियो सरकार बनेको बेलामा प्रतिपक्ष कति होसियार हुनुपर्छ होला ? अनुमान लगाई हेर्नुस त ? नागरिकता लगायतका कयौं संवेदनशील विषयहरु उठिरहेका छन् । प्रतिपक्ष कांग्रेस आन्तरिक कलहको गुजुल्टोमा बेरिएको छ । नेतै नेताले भरिएको कांग्रेसमा विद्धानहरुको कमी छैन ।
तर कांग्रेस विद्धानहरुको विद्धता पत्रपत्रिकामा आर्टीकल लेखेर मात्र प्रष्फुटित हुन्छ । तर देउवाका अगाडि मौन व्रत लिए जस्तो साइलेन्ट हुन्छन् । देशमा काण्डै–काण्डै भैरहेका छन् । कमसेकम सञ्चार माध्यममा जति मेहनत गर्नुप¥यो प्रतिपक्षले । नेता एक से एक, तर सबका आ–आफ्नै गुट ।
वाइडबढी काण्डमा जब देउवाको नाम मुछियो त्यसपछि वाइडबढीमा प्रतिपक्ष त नोबडी भयो । संसदीय समितिको निर्णयलाई राउण्ड किक हानेर सरकारले अर्को छानविन समिति बनायो । विना प्रतिवेदन मात्र होइन सदस्यलाई नियुक्त गरेको पत्र समेत नदिइ छानविनको नाटक सकियो । कांग्रेस बोल्यो ?
आफ्नो सभापतिको नाम आएपछि मुखमा साइलेन्सर फिट गर्ने प्रतिपक्ष पाएपछि दुई तिहाइको सरकालाई के चाहियो । फ्याट्ट लाएर सञ्चार माध्यममा फेरि अर्को काण्डको समाचार आउँछ । त्यसपछि २ दिन जति कांग्रेसको केही नेता सामाजिक संजाल तिर कुर्लन्छन् । तेस्रो चौथो दिन सक्कियो । माइतीघर मण्डलमा र बालुवाटार वरपरको विरोध स्थल साझा विवेकशीलहरुको थाई अड्डा भैहाल्यो ।
गोविन्द केसीको अनसन कुर्ने बाहेक प्रतिपक्ष कांग्रेसले एजेण्डा भेट्टाएन् । देशमा वेथितिको चाङ छ, प्रतिपक्षको मौनता आश्चर्यजनक छ । यो सरकार ५ बर्ष जान्छ त्यसैले आराम गरौं भनेर प्रतिपक्ष दलले छुट्टी मनाएको भए बेग्लै कुरा नत्र देशको प्रतिपक्ष आजको दिनमा मिडिया नै देखिएको छ । लोकतन्त्रको चिन्ताले निधार गाला चाउरी पारेका कांग्रेस नेताहरुले आफ्ना सभापतिलाई खोइ प्रश्न गरेको ?
के थाहा वाइडबढीमा, वालुवाटर जग्गा प्रकरणमा एनसेल करछलीमा पाटी सभापति लगायतका नेताको सहभागीता र संलग्नता छ कि ?
१०÷१५ बर्षमा डेराबाट काठमाडौंमा महल र ठाउँठाउँमा जग्गा, छोराछोरीको पठन–पाठन विदेशमा, कयांै कम्पनी, बैंकमा भित्री लगानी भएका नेताले नेपाली कांग्रेस पार्टी पनि त भरिभराउ छ । पार्टी भित्रका मै हुँ भन्ने नेताले त्यसको छानविन गर्न आवाज उठाउनु पर्दैन ?
मन्त्री भैसकेका कैयौ कांग्रेस नेताको प्रगतिको हिसाब बजारमा पाइने साधारण क्यालकुलेटरमा अट्दैन ।
हो ! अर्को चुनाव जित्ने गरी योजना बनाउने भए वीपीको फोटो र हरियो रुख मात्र देखाए हु्न्छ ? हरियो रुखको छाहारीमा बसेर हरियो नोट थुपार्नेहरुलाई त्यही रुखमा बाँधेर त्यही रुखको एउटा हाँगाको लठ्ठी बनाएर छानबिन गर्नु प¥यो ।
बोल्न जान्ने २ जना युवा नेता बोकेर कति दिन चलाउने । अब त युवाहरु पनि बुबा भैसके हजुरबुवा हुँदैछन् । ७० बर्ष लागेका र नाघेका ‘बा’ नेताहरु एक अर्कासँग बोल्दैनन् । पार्टी भित्रका युवाहरुका कपाल फुल्दै र झर्दै गैसक्दा पनि रिसले आगो भएर २४ घण्टा अध्यारो अनुहार लगाएर बस्नु स्वास्थ्यका लागि हानिकारक त छ नै, देशका लागि झन घातक छ ।
न्युजट्वान्टी फोरबाट

