आर.आर. चौलागाईं
आफू साहित्यकार भएर पनि मैले पटकपटक आफूलाई साहित्यकार भनिनेहरूबाट अपमान भोगेको छु । बिनाउद्देश्य, बिनालक्ष्य, बिनाअनुभव लहडमा कवि अथवा साहित्यकार भएकाहरूले न अग्रजलाई सम्मान गर्न जानेका हुन्छन् न त आफूभन्दा सानालाई माया नै गर्न जानेका हुन्छन् । झन् त्यसमाथि दुई चार वटा कविता कुनै पत्रिकामा छापिएको हुनुपर्छ–उनीहरूले आफूलाई ठूलै कवि ठान्न थालिसकेका हुन्छन् । भुईँमा खुट्टा टेक्न समेत छोडिसकेका हुन्छन् । बिस्तारै उनीहरूको बोलीवचनमा दम्भ झल्किन थालिसकेको हुन्छ । हो, म त्यस्तै कट्मिरा साहित्यकारहरूको फेला परेको छु ।
यो २०७२ साल फागुन २२ गते शनिबारको कुरा हो । हेटौँडामा गठित आँचल कला साहित्य पुञ्जले मलाई त्यो दिन साह्रै ठूलो अपमान गर्यो । मलाई मात्र होइन, मेरा अग्रज र मेरा समकालीन साहित्यकारहरूलाई पनि अपमान गर्यो । मलाई लाग्थ्यो–आँचल महिला साहित्यकारहरूले चलाएको संस्था हो, यो विशुद्ध साहित्यिक संस्था हो, यहाँ नयाँ लेखकहरूको बाहुल्यता छ र यसको भविष्य उज्ज्वल छ । तर आँचल मैले सोचेको जस्तो संस्था होइन रहेछ । नत्र मैले हात समाएर साहित्यिक क्षेत्रमा ल्याएकाहरूले मलाई त्यसरी अपमान नगर्नुपर्थ्यो । मलाई त्यही दिन लाग्यो, उनीहरू भित्रबाट कसैको इसारामा चलेका छन् । कोहीबाट सञ्चालित छन् । त्यहाँ, बाहिर साहित्य तर भित्र घटिया र फोहोरी राजनीति चल्दो रहेछ ।
भनिन्छ नि, कुनै देशलाई सिद्घ्याउनु छ भने सैनिक लगाएर त्यो देशमा आक्रमण गर्नुपर्दैन । त्यो देशको भाषा, कला र संस्कृतिलाई भत्काए पुग्छ अनि देश स्वतः आफैँ“ सिद्धिन्छ । जुन साहित्यकार स्थापित छ, जुन साहित्यकार कसैको हुकुममा चल्दैन, जुन साहित्यकार कुनै गुट वा कुनै पार्टीमा लागेको छैन भने सबभन्दा पहिला उसलाई कुनै कार्यक्रममा बोलाएर उसको अपमान र उसको मानमर्दन गरेपछि ऊ आफैँ सिद्धिन्छ भनेर कतिपयले सोचेका हुँदा रहेछन् । तर उनीहरूले सोचेको जस्तो म त्यस्तो कमजोर साहित्यकार परिनँ । मलाई आफ्नो कलममाथि विश्वास छ । यही विचार र अडानले गर्दा म अहिलेसम्म टिकेको छु । मलाई पनि एक दिन आँचलले कार्यक्रममा बोलायो र सबैका अगाडि अपमान गर्यो ।
२०७२ साल फागुन २१ गते शुक्रबार । आँचलले कार्यक्रम गर्नुभन्दा अघिल्लो दिन । म घरमै थिएँ । उनीहरू मेरो मेरो घरमा आए । उनीहरू अर्थात् आँचलकी अध्यक्ष अप्सरा तिम्सिना र सचिव अनिता न्यौपाने । उनीहरूले मलाई आग्रह गरे– “आर. आर. सर ! भोलिको कार्यक्रममा तपाईँ विशेष अतिथि भएर आइदिनुपर्यो । हामी यहाँलाई निम्ता गर्न आएका । तपाईँ महिलाका लागि कविता लेख्ने कवि । दुई वटा कविता पनि साथै ल्याउनु होला ।”
मैले “भोलि घरमा काम छ, मैले मिस्त्रीहरूलाई बोलाइसकेको छु, कार्यक्रममा आउन सक्तिनँ” भनेर इन्कार गरेँ । उनीहरूले फेरि अनुरोध गरे– “घरको काम अर्को शनिबार गर्नुहोला । भोलि हुने कार्यक्रमको विषय पनि ‘साहित्यमा नारीको स्थान’ राखेका छौँ । यहाँ त झन् नारीवादी कविता लेख्ने कवि । यहाँको उपस्थिति अनिवार्य छ । आउनुपर्छ है सर !” उनीहरूले मलाई विशेष अतिथिको निमन्त्रणा पत्र पनि छोडेर गए ।
भोलिपल्ट उठेर मैले मिस्त्रीहरूलाई काम गर्न नआउनू भनेँ । दुई वटा कविताहरू प्रिन्ट गरेँ र विषयवस्तुमाथि बोल्नका लागि केही कुराहरू खेस्रा गरेँ । अनि खाना खाएर गह्रौँ पाइला उचाल्दै घरबाट निस्केँ । त्यो दिन मलाई अलिकति सन्चो पनि थिएन । घरमा मर्मत गनुपर्ने थुप्रै कामहरू थिए । कार्यक्रममा जानुपर्छ भनेर मिस्त्रीहरूलाई आउनबाट रोकेकोमा मन पनि खल्लो भएको थियो ।
कार्यक्रममा समय अगावै पुगेँ । काठमाडौँबाट लेखिका अर्चना थापालाई बोलाइएको रहेछ र विराटनगरबाट सीमा आभासलाई । हामी थुप्रै थियौँ हेटौँडाका । म, आर. सि. रिजाल, रमेशमोहन अधिकारी, निमेष निखिल, पुष्प पराग आदिआदि थुप्रै । हेटौँडाका तत्कालीन एस. पि. मीरा चौधरीलाई पनि सम्मान ग्रहण गर्न बोलाइएको रहेछ त्यहाँ । अर्चना थापालाई प्रमुख अतिथि बनाइयो र मीरा चौधरीलाई विशेष अतिथि । वहाँहरूलाई मञ्चमा आसिन गराइयो । सीमा आभास, निमेष निखिल र पुष्प परागलाई मञ्चमा अतिथि भनेर बोलाइयो । म, आर. सि. रिजाल र रमेशमोहन अधिकारीलाई यथास्थानमा भनेर भुईँमै अतिथि आसन ग्रहण गराइयो ।
अरू पनि धेरै जनालाई भुईँमा नै थचारियो । त्यसपछि मैले थाहा पाएँ मेरो विशेष अतिथिको पगरी पनि खोसिएछ । मैले बोल्ने कुरा र कविता वाचन पनि खोसिएछ । मलाई अचम्म लाग्यो । मलाई कार्यक्रममा नआउनू भनेको भए पनि हुन्थ्यो अथवा कार्यक्रममा नबोलाएको भए पनि हुन्थ्यो । म जान्नथेँ । त्यत्ति ठूलो षडयन्त्रको बिउ रोप्ने काम भइसकेको रहेछ त्यहाँ । त्यस कार्यक्रममा जति साहित्यकारहरू थिए, त्यसमध्ये आर. सि. रिजाल, म अनि रमेशमोहन अधिकारी नै अग्रज थियौँ । हामीमाथि त्यति ठूलो षडयन्त्र कसले र किन गरे हामीले थाहा पाउन सकेनौँ । मञ्चमा थुप्रै कुर्सीहरू खाली थिए । हामी मञ्चमा अतिथि भएर बस्न लायक पनि भएनछौँ । हामीभन्दा धेरै जुनियरहरू मञ्चमा, हामी सिनियरहरूचाहिँ भुईँमा । यस्तो गाईजात्रा मैले कहीँ पनि देखेको थिइनँ । जीवनमा पहिलो पटक यस्तो खालको बचकना र तुच्छ व्यवहारसँग साक्षात्कार भयो मेरो ।
त्यसपछि म त्यहाँ एकछिन पनि बसिनँ । सिधै घर आएँ । फेसबुकमा यस्तो स्टाटस लेखेँ र पोस्ट गरेँ–
‘सम्मान गर्न नजान्नेहरूले अपमानचाहिँ नगरे पनि हुन्थ्यो जस्तो लाग्छ । आज त्यस्तै भयो मलाई । हिजोदेखि नै आयोजकहरूले आजको कार्यक्रममा आउनैपर्छ भनेका थिए । अलिकति जिम्मा पनि दिएका थिए । अरू सारा कामहरू पन्छाएर आफूलाई दिएको जिम्मेवारी पुरा गर्न कार्यक्रममा गएँ । तर कार्यक्रमको ढाँचाकाँचा देखेपछि आफूमाथि घोर अपमान र आफूलाई तिरस्कार गरिएको छ भन्ने बोध भयो र कार्यक्रम स्थलबाट बाहिरिएर घर फर्केँ ।’
मेरो स्टाटस पढेर त्यो कार्यक्रममा निकै हल्लीखल्ली मच्चिएछ । यो कुरा मैले पछि थाहा पाएँ । साँझपख बजार गएको थिएँ । मित्र श्यामको पसलमा आर. सि. रिजाल सरसँग भेट भयो । वहाँले भन्नु भो– “आर. आर. जी ! आज कार्यक्रम छोडर तपाईँले धेरै राम्रो गर्नु भो । नत्र म तपाईँलाई गाली गर्थेँ । के बस्नु त्यस्तो भद्रगोलमा ! म पनि एकछिनपछि हिँडेँ । !”
खाना खाँदै थिएँ । त्यस्तै राति आठ बजेतिर अनिताको फोन आयो । उनले भक्कानिएर रुँदै भनिन्– “आर. आर. सर ! धेरैधेरै धन्यवाद छ यहाँलाई ।”
मैल सोधेँ–“केको धन्यवाद ?”
उनले भनिन्– “हजुरले हाम्रो कार्यक्रमको बारेमा खुब राम्रो लेख्नु भएछ । खुसी लाग्यो । धन्यवाद दिऊँ भनेर फोन गरेको ।” उनको हिक्का रोकिएको थिएन ।
मैले भनेँ– “मैले कसैको बारेमा पनि केही लेखेको छैन । न कुनै संस्थाको नाम लेखेको छु न त कसैको नाम नै लिएको छु । आज एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ बस्न मन लागेन अनि उठेर हिँडेँ । मैले त्यही कुरा लेखेको हुँ । म कसैको नाम लेखेर कसैलाई बदनाम गर्न चाहन्नँ । आफ्नो अनुभूति मात्र लेखेको हुँ । एउटा साहित्यकारले यत्ति पनि नलेख्ने हो भने त्यो साहित्यकार केको साहित्यकार ! अनि साहित्यकारले जसले जे गरे पनि, कसैले टाउकामा टेके पनि, कसैले अपमान गरे पनि, कसैले लात्ताले हाने पनि हाँसीहाँसी सहेर अनि ताली बजाएर बस्नुपर्छ भन्ने छ र ?”
मैले यति भनेपछि अनिता बोल्न सकिनन् । ठ्याक्क फोन राखिन् । गल्ती गरेकोमा न माफी छ, न पश्चात्ताफ छ । म तीन छक परेँ । मेरी जीवनसङ्गिनीले यो वार्तालाप सुनिरहेकी थिइन् ।
“केटाकेटी हुन् । गल्ती गरे होलान् । म सम्झाउँछु” भनेर उनले अनिताको मोबाइलमा डायल गरिन् । मोबाइल उठेन । अनिता मेरो घरमा आइरहने हुँदा उनको पनि अनितासँग राम्रो चिनजान थियो ।
त्यसपछि अनिताले मसँग सम्बन्ध विच्छेद गरिन् । मलाई कार्यक्रममा बोलाएर मेरै अपमान गरिन् अनि उल्टै मसँग रिसाइन् । मान्छेले जीवनमा धेरै कुरा भोग्नुपर्ने रहेछ । मैले पनि भोगेँ । साहित्यिक जीवनमा यो एउटा तीतो यथार्थ भोगेँ । सोचेँ– रित्तो खल्ती, रित्तो पेट अनि रित्तो अवसर कुरेर कविता लेख्नु छ, आफ्ना सारा कुरालाई पन्छाएर साहित्यमा लाग्नु छ अनि उल्टै अपमानका घुट्काहरू पिएर बाँच्नु छ । कति निरीह छन् है कविहरू ? अनि कति अपमानैअपमानको जिन्दगी छ है साहित्यकारहरूको ?
त्यसपछि धेरै दिनसम्म मलाई एउटा कुराले लखेटिरह्यो– साहित्यकार दुई थरीका हुँदा रहेछन् । एउटा– रहरले साहित्यकार भएका साहित्यकार । अर्को– जिम्मेवारी बोधले साहित्यकार भएका साहित्यकार । एउटा– आफ्नो मालिक आफैँ भएका साहित्यकार । अर्को– मालिकको आदेशमा लेख्ने दास साहित्यकार । एउटा– आफ्नो मर्जीले चल्ने साहित्यकार । अर्को– अरूको इसारामा चल्ने साहित्यकार । एउटा– आफैँले लेखेर साहित्यकार भएका साहित्यकार । अर्को– अर्काले लेखिदिएर साहित्यकार भएका साहित्यकार । एउटा– पुरस्कार र सम्मानको लागि लेख्ने साहित्यकार । अर्को–साहित्य सेवाका लागि लेख्ने साहित्यकार ।
म सक्रिय राजनीतिलाई चटक्क छोडेर साहित्यमा प्रतिबद्ध भएर लागेको साहित्यकार हुँ । साहित्यले मलाई दाम नदिए पनि नाम दिएको छ । कुर्सी नदिए पनि इज्जत दिएको छ । म यसैमा रमाएको छु । मलाई राजनैतिक क्षेत्रमा बसेर फोहोरी खेल खेल्न मन लागेन अनि साहित्यमा लागेँ । साहित्यले राजनीतिमा भएको फोहरलाई फाल्दै जानुपर्ने ठाउँमा साहित्य झन् राजनीतिभन्दा पनि फोहोर भइसकेको रहेछ । कहिलेकाहीँ यस्ता दृश्यहरू देख्दा मलाई दिक्क लाग्छ ।
अहिले पनि मलाई त्यो दिनको घटना सम्झ्यो कि मन कटक्क काटिएर आउँछ ।
(आर.आर. चौलागाईंको फेसबुक वालबाट)

