हामी सकेसम्म सबै भन्दा कमजोर पिछडिएका र आवाज नभएकाहरुका सहयोगी हौँ । मन्दिरमा भगवान भेट्नदेखि मदिरालयबाट ट्राफिकको चेकिङ छल्नसम्म सोसफोर्स चल्ने परम्परामा टेकेर धेरै ठूला कुरा गर्नु उपयुक्त हुँदैन । तै पनि निर्धो–दुब्लो देखिएकाहरुको पक्षमा बोल्न सकियो भने ति पावर नभएकाहरुको समस्या हेर्न सम्बन्धीत निकायको चस्मामा पावर थपिन्छ कि भनेर आज सडकमा व्यापार गर्नेहरुका बारेमा केही बोल्न चाहन्छु ।
दुई छाक टार्न आफ्ना बाल बचेरा पढाउन निकै दुख गरी सडकका चोकमा व्यापार गर्नेहरु जस्तै पीडामा कयौ नेपालीहरु छन् । सडक पेटीमा, यात्रुको आवगमन रोकेर व्यापार गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हुँदै होइन, यसमा कसैले जान्ने भइटोपल्न परेन । तर अर्काले पैसा तिरेर किनेको सामान यसरी सडक फाल्ने नगर प्रहरीको हृदय राम्रो डाक्टरलाई चेक गराउनुपर्छ । कुन मुटुले तपाई अर्काको सामान हुत्याउन सक्नु हुन्छ ?
यस्तो आदेश दिने हाकिमको पनि मुटु जाँच गरौं । यो अमानविय कार्य हो । एउटा कुरा घाम जस्तै क्लिएर छ कि सुटुक्क पैसा दिनेहरुका सामान फ्याँकिदैनन् । भेटेपिच्छे १००÷५० दिनेहरुलाई नदेखे जस्तो गरिदिन्छन् तर पैसा दिन नसक्नेलाई देखि सहदैनन् । सडकमा बसेर धुलो मैलो खाएर, फोक्सो फुटुञ्जेल चिच्याएर, सस्तो भन्दा सस्तो दाममा पनि १ घण्टा बार्गेनिङ गरी लत्ताकपडा, जुत्ता मोजा, आलु साग, मुला बेच्नेहरुसँग पनि पैसा उठाउने मुलाहरु भन्ने शब्द सुन्दा जति घटिया सुनियो तिनका रगत पसिनामा पनि १००÷ ५० मा आँखा तर्र्नेहरु कयौं गुणा घटिया हुन् ।
सडकमा व्यापार गर्न पाइदैन तर निश्चित समय र स्थानमा संसारका ठूला–ठूला शहरहरुमा पनि सडकमा व्यापारीहरु हुन्छन् । न्युयोर्क, टोकियो, लण्डन जस्ता शहरमा पनि तोकिएको ठाँउमा, तोकिएको समयमा नगरपालिकाबाट अनुमति लिएर, कर तिरेर व्यापार गर्नेहरु कति छन् कति । लौ एकै छिनलाई मानौ हामी ती शहरभन्दा तगडा हौ, हाम्रो समृद्धिको सपना तिनको भन्दा ठूलो छ त्यसैले हाम्रो देशको शहरमा सडकमा व्यापार गर्न पाइदैन रे ।
अनि अर्काले दुखले झुण्ड गरेर, पेट काटेर जम्मा गरेको पैसाले किनेको सामान सडकमा हु¥याउँन पाइन्छ । जति भने पनि नटेरपछि के गर्नु त ? जत्ति भने पनि लाग्दै, त्यसैले सामान फालिदिएपछि अर्को पटकदेखि राख्दैनन्, भन्ने २ कौडीको तर्क गर्ने कोही छ भने त्यस्ता महाशयसँग भेट्न मन छ ।
१०० पटक होइन हजार पटक भन्दा नमानेपनि र १००० पटक भन्दा पनि नमाने पनि कसैको सामान फाल्न पाइन्न । गरीबले दुख गरेको ठेला गाडा लात्ताले हानेर फाल्ने नगरपालिकाका लठैतहरुलाई त्यसो नगर भनेर मेयर साबहरुले सम्झाउनु प¥यो । सडकमा व्यापार गरेर जीवन धानिरहेका कयौ भुमिहीन नागरिकहरुलाई विकल्प नदिई सामान फाल्नु अमानवियताको पराकाष्ठ हो ।
कयौ लठैतहरु यी सडकका व्यापारीका सामान सित्तैमा लान्छन्, खाना सित्तैमा खान्छन् । सयौ प्रहरी र नगरपालिका प्रहरीका मोबाइलको रिचार्ज यिनै व्यापारीले पसिना बगाई कमाएको पैसाबाट हालिदिनु पर्छ । यति नगरे ऋणको बोझले रन्थनिएको यिनको टाउकोमा सुरक्षाकर्मीको डण्डा बर्सिन्छ, साग सब्जी सडकमा छरिन्छ । सडकमा गुड्ने मोटरका पांग्राले यिनको भाग्यसँगै आलु प्याज गोलभेडा पनि किचिन्छ, केही बाँकी नरहने गरी ।
ठूला कुरा र ठूला योजनाले बेफुर्सदी भएका हामीलाई यिनको कथा सुन्ने र व्याथा बुझ्ने टाइम र इन्टे«स्ट दुवै छैन । तर तपाई र मेरा जस्तै यिनका पनि सपना छन्, राति डेरामा फर्किदा एक मुठ्ठी चामल, दाल, किन्नुपर्छ । छोराछोरीका लागि कपडा, कलम, कापी, किन्ने पर्छ । यी सबैकुरा पुरा गन यी ठेलागाडाहरु छन् । बदाम भुटेर, मकै पोलेर जीवन धान्ने यी सडकका व्यापारीहरुलाई नियम मिच्ने छुट पक्कै छैन ।
तर मकै पोल्दा पोल्दै आफ्ना रहरहरु डढेर भष्म खरानी भएका यी दिदीको घरमा विरामी श्रीमानका लागि कुनै पनि क्लिनिकले सित्तैमा औषधि दिदैन । यिनले के गरेर खाने त ? बेलुका डेरामा फर्किदा केही न केही किनेको हातमा एउटा न एउटा झोला नझुण्डिए भोक–भोकै रात कटाउनु पर्ने यिनको बाध्यतालाई कसै कसैले सम्बोधन त गर्नै पर्ला ।
के यिनले सडकमा मागेर खाने ? साँच्चै अचेल त माग्न पनि नपाइने कानुन आएको छरे । निश्चित ठाँउ, निश्चित समय र करको दायरमा बसेर व्यापार गर्ने वातावरण मिलाइदिन सकिएन भने सडक पेटिमा व्यापार गरेर भेटी चडाउन नसक्नेका लागि सबै ढोका बन्द हुन्छन् ।
प्रिय मेयर साब ज्यूहरु, तपाईको शहरमा गरीबले पनि काम गरेर खान पाउँछ होला नी ?

