राजधानीलगायत आधुनिक चिकित्सा सुविधा सहज भएका सहरमा पनि उपचारका लागि धामी\झाँक्रीमाथि विश्वास गर्ने ठूलो समुदाय छ ।
सामान्य टाउको दुखाईदेखि महिनावारी गडबढी भएका र क्यासरजस्ता दीर्घरोग लागेका समेतले अस्पतालको भन्दा धामी\झाँक्रीको उपचार विधिमाथि विश्वास गरिरहेका छन् । कोही रोग लाग्नेवित्तिकै धामी झाँकीकहाँ धाउँछन् त कोही–कोही अस्पतालमा उपचार गर्दा–गर्दा थाकेपछि । डाक्टरले नसकेका रोग झाँक्रीले विसेक पारिएको विश्वास गर्ने पनि छन् ।
सँस्कृति, विश्वास वा अन्धविश्वासः जे भए पनि राजधानीबासीमा ‘धामी\झाँक्री उपचार विधि’प्रति बढ्दो आकर्षणमा केन्द्रित छ,आजको पावरन्यूज ।
‘कोही मान्छेमा देवता चढ्ने र उसले भनेअनुसार गरे रोग निको हुने’ कुरामा विश्वास गर्न कठिन छ । तर, धामी\झाँक्रीलाई ‘अन्धविश्वास’ भनेर उपेक्षा गर्ने ‘सामाजिक स्थिति’ पनि छैन ।
झाँक्री स्वयम् उपचारका लागि डाक्टर र डाक्टर पनि झाँक्रीकोमा पुग्ने गरेको भेटिन्छ । झाँक्रीले आफ्नो उपचार विधि सफल नभए विरामीलाई चिकित्सकीय उपचार विधि अपनाउन सुझाव दिन्छन् भने डाक्टरले पनि झाँक्रीकोमा जान सुझाउँछन् । नेपालमा सँस्कृतिकै रुपमा विकास भएको धामी\झाँक्री प्रथाप्रति सरकारी निकायबाट आवश्यक व्यवस्थापन एवम् अनुगमन भएको छैन ।
आधुनिक समाजले ‘अन्धविश्वास’का रुपमा लिए पनि धामी झाँक्रीलाई ‘विश्वास एवम् आत्मविश्वासको उपचार विधि’ भनेर व्याख्या गर्ने पनि छन् । जे होस्, अहिले काठमाडौं उपत्यकामा मात्रै सयौं ‘धामी\झाँक्री क्लिनिक’ सञ्चालित छन् । संगठन नै खोलेर सञ्चालित झाँक्री संघमा चार सयभन्दा बढी आवद्ध छन् भने फुटपाथदेखि सामान्य सटरमा सञ्चालित ‘धामी\झाँक्री उपचार केन्द्र’को स्पष्ट तथ्यांक छैन ।
जसकारण धामी\झाँक्रीमाथि विश्वास गरेकै कारण विरामीको मृत्यु भए पनि गुपचुप नै हुन्छ । धामी झाँक्री प्रथाको सामाजिक एवम् मनोवैज्ञानिक पक्षबारे बहस गर्नेछौं, त्यसअघि एकैछिन विश्राम ।
दर्शकहरु, अन्धविश्वासका रुपमा लिइने धामी\झाँक्रीमाथि बढ्दो जनविश्वास र यसका बहुआयामबारे चर्चा गरिरहेका छौं । राज्यस्तरबाट बेवास्ता गरिएको तर सामाजिक मान्यताले संरक्षण गरिरहेको धामी झाँक्री प्रथा सँस्कृति, सभ्यता, विश्वास वा अन्धविश्वास के हो ? भनेर ठोकुवा गर्न कठिन भए पनि उपचार विधिका रुपमा स्थापित हुनु सही होइन । राजधानीमा छ्याप्छ्याप्ती फस्टाएको ‘झाँक्री क्लिनिक’को निगरानी, अनुगमन र व्यवस्थापन जरुरी छ ।
आदिम संस्कृति, सभ्यता र प्रकृतिसँग जोडिएको धामी\झाँक्री प्रथा विश्वासकै आधारमा टिकेको मात्रै छैन बढ्दो पनि छ । विश्वका जुन–जुन देशमा धामी\झाँक्रीमा विश्वास गरिन्छ, त्यसलाई आधुनिक समाजले अविकसित र असभ्य मान्छ । तर, विकसित देशमा पनि क्रमशः यसको प्रभाव बढ्दो छ ।
यद्यपि, धामी\झाँक्रीलाई सँस्कृति÷सभ्यताका हिसाबमा बुझिए पनि यो उपचारको मनोबैज्ञानिक पद्दती हो भन्ने तर्क पनि गरिन्छ । जसमा थोर–बहुत सहमत हुन सकिएला । तर, उपचार पद्दतीकै रुपमा यसको विस्तार हुनु,आधुनिक चिकित्सा पद्दतीको विकल्पै हो भने जसरी प्रचार गरिनु र गम्भीर प्रकृतिका रोगमा समेत यसैको भर पर्नु चाहीँ अन्ततः जोखिम निम्त्याउने कारण बन्न सक्छ ।
आधुनिक चिकित्सा विज्ञानको विकल्पमा धामी, झाँक्री हुन सक्दैन । र, यसको प्रमाणित आधार पनि छैन । त्यसैले, समाजमा चेतनासँगै व्यवसायिक बनाइएको धामी÷झाँक्री प्रथामाथि नियमन तथा अनुगमन जरुरी छ । गम्भीर दुर्घटनापछि मात्रै चेत खुल्ने बानीको सुधार आफैंबाट सुरु गर्ने हो कि ?

