-गजेन्द्र बस्नेत
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
कवि शिरोमणि लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’मा भनेजस्तै भएको छ, पूर्वराजा स्व.वीरेन्द्र शाहलगायत राजपरिवारका नाममा रहेको अर्बौंको सम्पत्तिको अवस्था । न त गुणी भए, न गुणग्राही नै ! त्यसैले मणि पनि कौडीको भाउमा मिल्काइएको अवस्था छ ।
स्वर्गीय राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति जिम्मेवार निकाय ‘नेपाल ट्रष्ट’को भद्रगोल व्यवस्थापनका कारण कौडीको भाउमा ‘खेर’ गइरहेको छ । ६ मंसिर २०६४मा नेपाल ट्रष्टको स्थापना भएयता एक दशक लामो अवधिमा अर्बौंको सम्पत्तिको भाडा भने प्रचतिल बजार भाउ भन्दा एकदमै न्यून मात्र उठ्ने गरेको खुलासा भएको छ ।
योजनाविहीन नेपाल ट्रष्टको कार्यालय- हजारौं रोपनी जग्गा र करोडौं रकम व्यवस्थापन कार्यमा ट्रष्ट योजनाविहीन बनेको छ । नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
तर, राजपरिवाको नाममा रहेको अर्बौंका चल–अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे ट्रष्टसँग कुनै भरपर्दो योजना नै छैन । ट्रष्ट ऐनको दफा २५ ले अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियम बनाउन सक्ने उल्लेख छ । तर, ट्रष्टले हालसम्म विनियमसमेत तयार गरेको छैन ।
सम्पत्तिको उपयोग नभएकोबारे महालेखा परीक्षकको गत बर्षको प्रतिवेदनले औंल्याए पनि अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन । महालेख परीक्षकको कार्यालय प्रवक्ता विष्णुप्रसाद रिजालका अनुसार, भाडा तथा ‘लिज’मा दिएको सम्पत्तिको सम्झौताअनुसार प्रयोगकर्ता, भाडा (लिज रकम, दाखिला गर्नुपर्ने मिति, सम्झौता अवधि) लगायतका विवरण देखिने अभिलेख अद्यावधिक समेत ट्रष्टको कार्यालयले गरेको छैन ।
कौडीको मूल्यमा भाडा- अहिले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको राजपरिवारको नाममा रहेको सम्पत्ति प्रचलित मूल्यभन्दा एकदमै सस्तो रहेको पाइएको छ । नेपाल ट्रष्टको कार्यालय योजनाविहीन बन्दा काठमाडौंभित्रका महँगा–महँगा मानिएका सम्पत्ति विभिन्न नीजि संस्थाहरूले एकदमै सस्तो भाडामा प्रयोग गरिरहेका छन् ।

३ हजार ९ सय ७१ रोपनी जग्गामा फैलिएको गोकर्ण फरेस्ट रिसोर्टको वार्षिक भाडा जम्मा २ करोड ४० लाख रूपैया“ छ । यसलाई हेर्दा मासिक २० लाख रुपैयाँ हुन आउँछ । जानकारहरुका अनुसार, मासिक २० लाख रुपैयाँ भाडामा ३ हजार ९ सय ७१ रोपनी जग्गा सहितको संरचना पाउनु भनेको एकदमै न्यून ‘रेट’ हो ।
गोकर्ण फरेस्ट रिसोर्ट मात्र होइन, काठमाडौंकै व्यस्त स्थान टेकुमा रहेको काठमाडौं बिजनेस पार्क पनि चल्तिको मूल्यभन्दा एकदमै सस्तो मूल्यमा भाडामा दिइएको छ । १९ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा भवनलगायतका अन्य थुप्रै भौतिक पूर्वाधार छन्, जसको मासिक भाडा ३ लाख ३३ हजार रुपैयाँ मात्र छ ।
त्यस्तै कमलादीको काठमाडौं प्लाजा रहेको ५ रोपनी २ आना जग्गा र पार्किङ सहितको बिजनेस कम्प्लेक्सको पनि मासिक भाडा ६२ लाख ५ सय रुपैयाँ मात्र छ । कमलादीमै ५ रोपनी ६ आना जग्गा रहेको सोल्टी आउटर कम्पलेक्सको भवन लगायतका अन्य पूर्वाधारहरूको भाडा पनि मासिक १२ लाख ८७ हजार रुपैयाँ मात्र छ ।
व्यवसायीहरुका अनुसार कमलादीमा सामान्य सटरको भाडामात्रै पनि मासिक ५० देखि ८० हजार रुपैयाँ हुन्छ ।
लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन र जग्गा पनि चल्तीको मूल्यभन्दा एकदमै एकमा भाडामा लगाइएको छ । लाजिम्पाटमा ६ रोपनी १३ आना जग्गामा भवन लगायतका अन्य थुपै्र पूर्वाधार छन् । तर, त्यसको भाडा पनि मासिक ७८ लाख ३३ हजार मात्र छ । ट्रष्टको कार्यालयका तत्कालीन सचिव यदुप्रसाद पन्थी पनि त्यो समयमै सम्झौता गरेर लिजमा दिइएकाले अहिले त्यस्ता सम्पत्तिबाट थौरै आम्दानी भइरहेको स्वीकार्छन् ।
अहिलेका सविच गजेन्द्रकुमार ठाकुर भाडा कम उठ्ने स्वीकार्दै अब पुराना सम्झौताको म्याद सकिएपछि मात्र नया“ सम्झौतामा भाडा बढाउने दाबी गर्छन् ।
कति छ राजपरिवाको सम्पत्ति ?
नेपाल ट्रष्टको स्वामित्वमा अहिले १२ जिल्लामा २ सय १६ कित्तामा २१ हजार ५ सय ६२ रोपनी जग्गा, तीन संस्थाको २ लाख ३० हजार १०२ कित्ता सेयर, ३७ करोड ७९ लाख ५० हजार रूपैयाँ मुद्दती खाताको मौज्दात, ४ बैंकको खातामा १ करोड ७३ लाख २८ हजार चल्ती तथा बचत मौज्दात छन् । यस्तै, पाउण्ड स्टर्लिङ ४८ हजार ४ सय ६६ र अमेरिकी डलर १ लाख ३७ हजार मौज्दात छ ।
स्वर्गीय राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति– १९ जेठ २०५८ अगाडिसम्म पूर्वराजा ज्ञानेन्द्र शाह व्यापारिक काममा बढी सक्रिय थिए । उनको सिप्रदी, सोल्टीलगायतका कम्पनीमा करोडौं लगानी थियो । तर, राजा वीरेन्द्र शाह भने सत्ता सञ्चालनमै बढी केन्द्रित थिए । व्यवसायिक काममा खासै सक्रिय नरहे पनि राजा वीरेन्द्र र उनको परिवारका सदस्यको नाममा भने देशका धेरै ठाउँमा सम्पत्ति थियो ।
गणतन्त्र घोषणापछि राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा भएका सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले नेपाल ट्रष्टको कार्यालय स्थापना गरेको थियो ।
नेपाल ट्रष्ट ऐनअनुसार ६ मंसिर २०६४ बाट कार्य शुरु गरेको नेपाल ट्रष्टको कार्यालयले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा देशका विभिन्न भागमा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा फेला पारेको छ ।
त्यो वाहेक स्वर्गीय राजा वीरेन्द्रको नाममा काठमाडौंको गोकर्णमा ३ हजार ९ सय ७१ रोपनी, कमलादीमा ५ रोपनी, लाजिम्पाटमा ६ रोपनी जग्गा पनि फेला परेको छ । जसमध्ये काठमाडौं उपत्यकामा रहेको ७१ रोपनी १० आना जग्गा सरकारी स्वामित्वमा ल्याउने तयारी भइरहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ ।
टेकुको विजनेश पार्क रहेको १९ रोपनी, नारायणहिटी दरबार अगाडिको ३३ आना, सोल्टी आउटर कम्प्लेक्सको ५ रोपनी जग्गा भने ट्रष्टले भाडामा लगाएको छ । सार्वजनिक खरिद कार्यालय र गरीबि निवारण कोष रहेको कित्ता नम्बर ६५ को जग्गा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको २ रोपनी जग्गा पनि राजा वीरेन्द्रको परिवारको नामको जग्गा हो ।
त्यस्तै, राजा वीरेन्द्रको परिवारको नाममा रहेको धनकुटाको चुलीवनस्थित १ सय ९४ रोपनी जग्गा पनि ट्रष्टको कार्यालयले भाडामा लगाएको छ ।
८७ अर्बको चलअचल सम्पत्ति- स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । सो सम्पत्तिलाई ट्रष्टले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गर्ने लक्ष्य लिइएको छ । जसबाट आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने तयारी भइरहेको ट्रस्टको कार्यालयले जनाएको छ ।
राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको छ । चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैयाँ नगद प्राप्त भएको भएको थियो । चल सम्पत्तिअन्तर्गत नै विभिन्न परिमाणमा विदेशी मुद्रा पनि स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका सदस्याका नाममा पाइएको थियो । जसअन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार अमेरिकी डलर प्राप्त भएको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यको नाममा नविल बैंकमा ४ लाख ३५ हजार कित्ता, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० कित्ता, नेपाल पब्लिक निगममा ३ हजार ७ सय ५० कित्ता शेयर लगानी देखिएको छ ।
नेपाल ट्रस्टको कार्यालयका तत्कालीन सचिव डा. रमेश प्रसाद सिंहका अनुसार पोखरास्थित रत्न मन्दिर, चिवनस्थित दियालो बंगला र मकवानपुरको बंगलामा पनि अचल सम्पत्ति छ ।
वीरेन्द्रको परिवारका नाममा पोखराको फेवाताल छेउमा मात्रै करिब २ सय रोपनी जग्गा फेला परेको छ । नेपाल ट्रष्टको कार्यालयले फेवाताल आसपासमा हालै मात्र थप २ ठाउँमा पनि जग्गा फेला पारेको थियो ।
१९ जेठ २०५८ मा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनका परिवारका सबै सदस्य मारिएका थिए । वीरेन्द्रको वंशनाश पछि राजगद्दी सम्हालेका ज्ञानेन्द्र शाहले आफ्ना दाई (राजा वीरेन्द्र) र उनको परिवारका सदस्यका नाममा रहेको केही जग्गा प्रयोगमा ल्याएको चर्चा पनि चल्ने गरेको थियो । तर, नेपाल ट्रष्टको कार्यालयले भने हालसम्म फेला पारेका रेकर्डमा राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रको नाममा नामसारी भएको नदेखिएको जनाएको छ ।
यद्यपि, स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति पूर्व राजा ज्ञानेन्द्रको परिवारले प्रयोगमा ल्याएको भने देखिएको नेपाल ट्रष्टको कार्यालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनका छोरा दीपेन्द्र, निराजन र छोरी श्रुतीका नाममा रहेको सम्पत्तिको खोजी अहिले पनि देश भित्र र देश बाहिर पनि भइरहेको छ ।
नेपाल ट्रष्टको कार्यालयले स्वीर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यका नाममा रहेको सम्पत्ति खोजी गर्न ७ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्तिबारे सूचना दिने व्यक्तिलाई पुरुस्कारको समेत व्यवस्था गरेको छ । समितिले कुनै ठाउँमा स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यको नाममा सम्पत्ति रहेको भन्ने सूचना पाएलगत्तै अनुसन्धान शुरु गर्छ ।
-खबरहबबाट

