नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्जकै नेसनल मेडिकल कलेजमा ट्र्याक्टरबाट आइतबार राति ८ नबज्दै घाइतेहरू ल्याइँदै थिए । पर्साको जगरनाथपुर, बाराको चैनपुर, भलुही भरबलिया, खुटवा प्रसौनी, फेटामा हुरी बतासको प्रकोपमा परेका स्थानीयलाई यी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अतुलेश चौरसियाले तत्कालै आफ्ना सहकर्मीहरूलाई फोन गरेर अस्पतालको आकस्मिक कक्षमा आउन आग्रह गर्न थाले ।
‘तपार्इं जहाँ, जुन अवस्थामा हुनुहुन्छ कृपया अस्पतालको आकस्मिक कक्षमा आइदिनुपर्यो’ भनी उनले मौखिक र लिखित म्यासेज गर्दा बिदामा रहेका, ड्युटी सकेर घर फर्किसकेका तथा अस्पतालमा रहेका अन्य विभागमा कार्यरत चिकित्सकसमेत गरी अढाई दर्जन तत्कालै अस्पतालको आकस्मिक कक्षमा जम्मा भए । घरबाट दौडेर आएका कतिपय चिकित्सकले पाकिसकेको खाना पनि खाएनन् ।चिकित्सकहरूको टोलीमा मिसिए नर्स, अहेव, अनमी तथा अस्पतालमै इन्टर्न गरिरहेका विभिन्न नर्सिङ कलेजमा अध्ययनरत छात्रा । रातभरि घाइतेलाई ल्याउँदै गरियो । चिकित्सकको टोलीले उनीहरूको उपचार गरी नै रह्यो । स्थान अभाव भए पनि भुइँमा सुताएर होस् वा अन्य वार्डमा सिफ्ट गरेर होस् चिकित्सक टोलीले सोमबार बिहान ३ बजेसम्म निरन्तर घाइतेको आकस्मिक उपचार गरिरहे ।
उनीहरूले रातभरि चाउचाउ, बिस्कुट र पानीको भरमा आफ्नो पेटको आगो निभाए । सोमबार पनि दिनभरिजसो घाइतेहरूको उपचारमा तल्लीन रहेका टोलीले दिउँसो ४ बजेतिर मात्र खाजा खान पाएको थियो । उनीहरूको सेवाबाट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगन्जमा मेयर विजय सरावगी प्रभावित भएका छन् ।
अस्पताल प्रशासनले घाइतेहरूको उपचार, औषधोपचार, उनीहरूको मात्र नभई कुरुवाहरूको खाना पनि सबै निःशुल्क उपलब्ध गरायो । प्रजिअ भट्टराई सोमबार अस्पतालमा आई चिकित्सकलाई ‘तपार्इंहरूले आइतबार राति गरेको सेवाभाव प्रशंसनीय छ, त्यसै जोस र उत्साहले आज पनि सेवा गर्नुपर्यो’ भनी आग्रह गरे ।सामान्यतया उपक्षेत्रीय अस्पतालका चिकित्सक आपसमै विभाजित रहेको तथा गुट उपगुटमा लाग्ने गरेकाले अस्पतलाको सेवा नै खस्किएको जनगुनासो रहँदै आएको छ । यति मात्र नभई चिकित्सकले अस्पतालमा कम र क्लिनिकमा बढी समय दिने गरेको गुनासो पनि छ । तर विपतका बेला चिकित्सक टोली तथा कर्मचारीले देखाएको सेवाभावको अहिले प्रशंसा गरिँदै छ । मेसु चौरसिया पनि अस्पतालबाट यत्ति प्रभावकारी सेवा दिन सकिएकोमा आफूलाई पनि पत्यार नलागेको बताउँछन् ।
‘सीमित स्रोत साधनका बाबजुद हामीले उत्कृष्ट सेवा दिन सक्यौं, म आफैंलाई पनि त्यो कसरी सम्भव भयो भनी पत्यार लागिरहेको छैन, हामीसँग डिजास्टर म्यानेजमेन्ट चिकित्सक टोलीसमेत छैन,’ उनले भने, ‘धपेडी त भयो तर धेरै घाइतेको ज्यान जोगाउन सक्यौं, यसमा सन्तुष्ट छु ।’मंगलबारसम्म करिब १ सय घाइते उपचाररत रहेको र अस्पतालमा दैनिकजसो आइरहेको भीआईपी र भीभीआईपीको अनुगमन टोलीलाई समय दिनु, घाइतेको उपचार गरिराख्नु आफैंमा जिम्मेवारीपूर्ण काम रहेको उनको अनुभव छ । ‘हामी २०७२ वैशाखको भूकम्पपछि फेरि एक पटक अस्पतालमा एकढिक्का भएर सेवामा समर्पित भयौं,’ उनले भने, ‘यसले इच्छाशक्ति भए जस्तोसुकै असम्भव पनि सम्भव हुने रहेछ ।’ अस्पतालका गाइनो विभाग प्रमुख डा. सुरेन्द्र चौधरीले आफूहरूले विपत्तिका बेला असंख्य बिरामी आउन थालेपछि अन्य सबै जिम्मेवारीलाई थाती राखेर रातभरि घाइतेहरूको सेवा मात्र गरिरहेको बताए ।
अस्पतालको आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहले मेसु डा. चौरसियाको खबर पाउनासाथ आफू भाग्दै अस्पताल आएको बताए । ‘यहाँ आउँदा स्थिति भयावह थियो, असंख्य घाइतेहरूको उपचार गर्नुपर्ने थियो,’ उनले भने, ‘ट्र्याक्टरका ट्र्याक्टर घाइतेहरू थपिँदै थिए, यस्तो भयावह अवस्था मैले आफ्नो चिकित्सकीय पेसामा हालसम्म अनुभव गरेको थिइनँ, सबै विभागका चिकित्सकहरू एकजुट भई घाइतेको उपचारमा तल्लीन भयौं, सोमबार बिहान ३ बजेसम्म सबै घाइतेको प्रारम्भिक उपचार गर्न सक्यौं ।’अस्पतालका प्रशासन प्रमुख तथा सूचना अधिकृत रमेश चौधरी ३ वर्षअघिको भूकम्पका बेला अस्पतालको चिकित्सक टोलीले देखाएको सेवाभाव र सामूहिकता यस पटक पनि देखाएको बताए । ‘अस्पतालका चिकित्सकहरूको यो प्रशंसनीय विशेषता छ, जबजब विपत्ति पर्छ सबै एक भएर सेवाभावमा लाग्नुहुन्छ,’ उनले भने, ‘आकस्मिकतर्फका मात्र होइन सर्जिकल, अर्थोपेडिक्स, मेडिसिन, गाइनोजस्ता विभागका चिकित्सकहरू पनि एकजुट भएर सेवामा लाग्नुभयो ।’ अस्पतालमा मंगलबारसम्म पनि करिब १ सय घाइते उपचाररत रहेको उनले बताए । बिस्तारै घाइतेहरू डिस्चार्ज हुनेक्रम पनि सुरु भइसकेको उनले सुनाए ।
यस्तै, अस्पतालमा मंगलबारदेखि हेल्थ इमर्जेन्सी अपरेटिङ सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालयले स्थापना गरेको सेन्टरबाट प्रकोप प्रभावित क्षेत्रमा काम गर्न सहज हुने, केन्द्रसँग प्रभावित क्षेत्रको पलपलको सूचना तथा तथ्यांक आदानप्रदान गर्न सकिने छ । यसरी सूचना आदानप्रदान गर्दा प्रकोप प्रभावित क्षेत्रमा गर्ने कामबारे योजनाबद्ध ढंगले काम गर्न सहज हुने चौधरीले बताए ।यसैबीच प्रकोप प्रभावित घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न मंगलबार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल वीरगन्ज आइपुगेका छन् । उनीहरूले नारायणी र नेसनल मेडिकल अस्पतालमा घाइतेहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
यता नेसनल मेडिकल कलेजमा पनि हुरीबतासबाट घाइते भएका १ सय ५० जना मंगलबारसम्म उपचाररत रहेको अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. राजेश्वर मिश्रले जानकारी दिए । आइतबार राति ४ सय बढी घाइते उपचारका लागि ल्याएकोमा तीमध्ये ३ को मृत्यु भएको उनले बताए । घाइतेमध्ये ७० जनाको विभिन्न खाले शल्यक्रिया गरी सकिएको र थप २५ को अर्थोपेडिक शल्यक्रिया गर्न बाँकी रहेको उनले बताए । ३ जना घाइते सोमबार रातिसम्म पनि आईसीयूमा भर्ना रहेकोमा मंगलबार जेनरल वार्डमा सारिएको उनले बताए ।आइतबार राति अस्पतालका १ सय बढी चिकित्सक, नर्सहरू घाइतेको उपचारमा संलग्न भएको उनले बताए । कलेजका ४० बढी विद्यार्थीहरूले आकस्मिक रक्तदान गरेर घाइतेको उपचारमा सहयोग गरेको उनले बताए । यसैबीच, होटल तथा पर्यटन व्यवसायी संघ पर्साले घाइते तथा तिनका कुरुवाहरूलाई निःशुल्क खाना तथा बासको व्यवस्था उपलब्धगराएको छ ।
संघले सोमबारदेखि वीरगन्जका आधा दर्जन होटलमा यस्तो सुविधा उपलब्ध गराएको संघका अध्यक्ष बुद्धिप्रसाद पन्तले बताए । ‘विपत्तिको समयमा हामीले व्यावसायिकताभन्दा सेवाभावमा समर्पित हुन चाह्यौं,’ उनले भने, ‘घाइते र तिनका कुरुवा जति जना आए पनि हामी निःशुल्क खाना र बास उपलब्ध गराइरहेका छौं ।’
–कान्तिपुर

