विदेशी लगानी भित्र्याउन, सरकारले सुुरु गरेको लगानी सम्मेलनमा अहिले स्वदेशी र विदेशी गरी लगभग १ हजार लगानीकर्ता उपस्थित छन् । ४० देशका ६ सय भन्दा बढी लगानीकर्ताहरु सम्मेलनमा सहभागी छन् ।
सरकारले विभिन्न ७७ वटा परियोजनाहरु लगानी कर्ताहरुका लागि प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी कर्ताहरुलाई भनेका छन् कि नेपाल लगानी गरेर नाफा कमाउनेहरुका लागि भर्जिन ल्याण्ड हो ।
हो जसरी विश्वमा विकाश तीव्र हुँदैछ त्यस तुलनामा नेपालमा केही–केही पनि सुुरु भएको छैन । यो देश सम्भावना नै सम्भावनाको खानी हो । नेपालमा लगानी गरेर टाट पल्टिएका कम्पनी सायद छदै छैनन् होला ।
लगानी सम्मेलनमा सहभागी सबैले नेपालमा अधिक सम्भावना भएको स्वीकार गरेका छन् । सार्वजनिक मञ्चमा वोल्र्ड बैंक, एडीबी लगायतका प्रतिनिधिहरुले सम्भावनाको चर्चा गरे तर तिनै व्यक्तिसँग कुनै ठाँउमा चिया–कफी खान बस्नु भो भने तिनको भाषा पूरैै फेरिन्छ । स्टेजमा उभिएर नेपालको तारिफ गर्नु उनीहरुको बाध्यता हो तर वास्तविकता र उनीहरुको भोगाइ बेग्लै छ ।
नेपालमा लगानी गर्नेहरुको गुनासो नै गुनासो छ । प्रकृयामा झण्झट लगानी मत्रै काुननको अभाव त सम्बोधन हुन्छ होला तर दिएको पैसा खर्च गर्न सक्ने समेत क्षमता हामीमा छैन । कतिपय लगानी कर्ताहरुले त आँफैले योजना बनाएर उक्त योजना तर्जुमा गरिदिदा पनि काम नहुने तीतो तीतो अनुभव संगालेका छन् ।
पैसा, योजना, त्यसको अध्ययन, अनुसन्धान साराका सारा आवश्यक कुरा उपलब्ध गराउँदा पनि काम नभएर पुर्पुरोमा हात लगाउन विवश लगानीकर्ताको तीतो अनुभव बदल्न सजिलो छैन । विदेशी लगानी भित्र्याउ एकद्वार प्रणाली लागु गर्ने घोषणा हुनु सुखद हो तर त्यसलाई सम्भव बनाउन लगानी बोर्डले स्तो टिम खडा गर्छ, त्यो महत्वपूर्ण छ ।
लगानीकर्तालाई उत्कृष्ट सर्भिस दिन सब भन्दा पहिले हामीले हाँस्नै सिक्नु जरुरी छ । एउटा मीठो मुस्कानसहित गुड मर्निङ, हाउ आर यु ? भन्न नै पसिना छुटाउने राष्ट्रसेवकहरु राखेर हुँदैन । एउटा मीठो स्माइल दिन ४ आना जग्गा नै दिनु परेजस्तो गरी ठुस्स पर्ने टिम मेम्बर हुनु हुँदैन ।
यत्रो अरर्बौको लगानीको कुरामा के जाबो सानो कुरा गरेको भन्नु होला । यो सानो कुरा होइन । कम्युनिकेसन क्षमता भएका व्यक्तिहरु नभई यो एकद्वार प्रणालीले काम गर्दैन । एस र नो, म्याडम र सर मात्र भनेर हुँदैन । सानो उदाहरण दिन्छु । विश्व विख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेशनका तर्फबाट लगानी सम्मेलनमा सहभागी प्रतिनिधि जो माइक्रोसफ्टको एसिया क्षेत्री प्रबन्ध निर्देशक पनि हुन, सोनिया बासिर कबिर ।
उनले एक सेसनमा बहुतै महत्वपूर्ण प्रश्नहरु गरिन । झण्डै ८३ विलियन अमेरीकी डलर को कम्पनीको जिज्ञासाको जवाफ नै कसैले दिएन । उनले सोधिन् नेपालमा इन्टरनेटको पहुँच कति मान्छेमा पुगेको छ ? नेपालमा इन्टरनेट कति सहज छ ? कति सस्तो छ ?
यसको स्पिड कस्तो छ ? पेमेन्ट गेटवे, इपेमेन्ट, इकर्मशको स्थिति कस्तो छ, कत्तिको भरपर्दो ? एउटा विश्व विख्यात आइटी कम्पनीको यो प्रश्नको उत्तर कसैले पनि दिएन । सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लेखेर ल्याएको भाषण पढ्नु भो तर मन्त्रालयका तर्फबाट अरु कसैले माइक्रोसफ्ट प्रतिनिधिको ज्यादै महत्वपूर्ण प्रश्नहरुमा चुइक्क बोलेन ।
शायद प्यानलीष्टहरुमा अंग्रेजी भाषाको ज्ञानको कमी थियो होला । भाषा सबैले जान्ने पर्छ भन्ने केही पनि छैन, त्यसका लागि संसार भरी नै दोभाषेहरु राखिन्छन् । कम्युनिकेशनको यस्तो विजोग नहोस्, त्यस अर्थमा यो प्रसंग उठाएको हँु ।
अंग्रेजी नजान्नेहरुप्रति पनि कुनै टिप्पणी नै गरेको होइन तर विदेशीसँग काम गर्नु पर्ने कार्यालयहरुमा अंग्रेजीमा जान्नेहरु मात्र होइन अन्य हिसाबले पनि स्मार्ट मान्छेहरु चाहिन्छ । आइटी क्षेत्रका लागि लगानी खोजिरहेको नेपालले मञ्चबाटै माइक्रोसफ्टको जिज्ञासाको जवाफ दिनु जरुरी छ ।
लगानीको पहिलो स्टेप भनेको सही कम्युनिकेशन नै हो । लगानीकर्तालाई अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधा दिने एउटै मात्र ठाउ होस जहाँ देशका सुपर डुपर स्मार्ट, इन्टीलेक्चुवल कर्मचारीहरु रहुन् । र त्यो एक ठाँउमा छिरेपछि कही कतै जान नपरोस्, ओन डोर सिस्टम ।
एउटा विचौलिया बोकेर मन्त्रालयका कोठा चोटा दौडिनु पर्ने, १०० वटा फर्म भर्नु पर्ने, १०० ठाँउमा घुसरुपी भेटी चडाउनु पर्ने, कयौ रक्सीका बोत्तल फोड्नु पर्ने, होटल होटलमा सेपरेट मिटिङ सिटी र सित्तैमा गलगिद्ध इटिङ गराउनु पर्ने हो भने यो सम्मेलन कुनै पण्डितले सप्ताह लगाएर उठाएको पैसा जस्तो हुन्छ ।
करोडौं बोल्ने सुको नदिने । हेर्नुस् कति काम छन्, लगानी अनुमति एग्रिमेन्ट, भिषा प्रोसेस, योजनाको स्वीकृति, बैंकिङ कारोबार अनुमति, कर तिर्ने प्रकृया, मुनाफा लैजाने प्रक्रिया, कर्मचारी भर्ती, बीमा, कर फिर्ता, स्थानीय गुण्डाहरुको पालन पोषण ।
यी सारा कुराको ग्यारेण्टी एउटा छानामुनी हुन्छ भन्ने ग्यारेण्टी मात्र हो, यो देशमा लगानी गर्नेको लाइन लाग्छ, रहरले बाहेक बाध्यताले कोही विदेश जानै पर्दैन । यति तयारी छैन भने, यो सम्मेलन हात्ती आयो हात्ती आयो फुस्स हुनेछ ।

