पटक-पटकको राजनीतिक परिवर्तनमा हजारौं-हजार जनताले आफु जस्तै आफ्नो सन्ततिले अन्धकारमय जिन्दगी भोग्नु नपरोस् भन्दै प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र ल्याउन आफुलाई आन्दोलन-युद्धमा होमिदिए । फलस्वरुप आज देशमा गणतन्त्र आएको छ तर त्यो गणतन्त्र केहि टाठाबाठाका शिवाय अरु सर्बसाधारण नारिकले उपयोग र उपभोग गर्न पाएको महसुस् भइरहेको छैन ।
गणतान्त्रिक मुलुकमा आधारभूत शिक्षा,स्वास्थ्य र रोजगारी नागरिकको नैसर्गिक अधिकार भित्र पर्छ तर नेपाली नागरिकहरुले आजपनि कतिपय ठाउँमा सामान्य औषधि नपाएर अमुल्य जीवन गुमाउनु परेको घट्नाहरु हामीले प्रशस्तै सुन्दै,भोग्दै आइरहेका छौं ।
सामान्य जीवनयापनकै लागि बिदेशीको चाकरी नगरी दैनिकी नचलेको मेरो देशमा म मात्र यी यस्ता समस्याबाट काहाँ अछुतो रहिरहन सक्थें र ?
गाउँमा हुँदा खेतीपातीको अन्न र श्रीमानको सानो जिगीरको आम्दानीले घर गृहस्थी चलेकै थियो । जब श्रीमानको सरुवा काठमाडौंमा भयो । त्यहाको धुलो,धुवा,हावा,पानी र अनुकुल बातावरणका कारण लामोसमयसम्म बिरामी पर्नु भयो । बिरामी भएकै कारण म काठमाडौं जान बाध्य भए । सानो जागिर काठमाडौंको महँगी बच्चा बढाउनुपर्ने बाध्यता लगाएतका समस्याले दिनप्रतिदिन गाँज्दै लग्यो । चुनौतीपूर्ण जिन्दगीको यात्रा सुरु हुन् थाल्यो,तर पनि जिन्दगी जसोतसो चलीरहेकै थियो ।

त्यतिबेला देशमा माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । प्रहरीले माओवादी र माओवादीले प्रहरी देखिनसहने,कामको सिलसिलामा श्रीमान् गाउँजानु पर्ने भयो । गाउँ गएकै बेला अपहरणमा पर्नुभयो । बिभिन्न पत्रपत्रिका र टेलिभिजनहरुले ट्राफिक प्रहरी फलानो माओवादी अपहरणमा परेको भन्ने खबर सुनाएपछि हामी सम्पूर्ण परिवार विक्षिप्त बन्यौं ।
जुनबेला माओवादी अपहरणमा परेका प्रहरीहरु अपहरण मुक्तहुने सम्भावना एकदमै कम थियो । भाग्य बलियो भनौं या इश्वरको कृपा अपहरण गर्ने कमाण्डरका ज्वाईसंगै कामगरेका साथी साथी रहेछन् । कमान्डरले निक्कै अनुसन्धान गरेर पत्ता लगाएछ, ‘ट्राफिक प्रहरी’ तराई भाषामा गित पनि गाएको कमाण्डरले गित निकैपटक सुनेको र नराम्रो रेकड कहीँकतै नभेटाएकाले सामान्य ‘टचर’ र जागिर छोड्नुपर्ने लगायतका केहि सर्तहरु राखेर ३/४ दिनपछि अपहरणमुक्त गरिदिए ।
त्यसपछी जागिर नखाउँभने दिनभरिको सिकार खाउँभने कान्छा बाबुको अनुहार भन्ने उखान जस्तै भयो । हामी एकदमै अन्योलमा पर्यौं,जागिर अन्योलपूर्ण अवस्थामा भएकोले भविष्य अन्धकारमय देख्न थाल्यौं ।
बच्चाको भविष्यको लागि भएपनि बैदेशिक रोजगारीलाई नअंगाली सुखैनपाउने अवस्था आएपछि बिभिन्न मेनपावरहरु चाहार्न थाल्यौं । मेनपावर चाहार्ने क्रममा महिलाको लागि सुरक्षित र भरपर्दो देश ‘इजरायल’ भन्ने थाहा पाएपछि इजरायल जाने निधो भयो र डकुमेन्टहरु पेस गरियो । केहि महिना पछी भिसा आयो, कहिल्यै घर नछोडेको मान्छे दुधे नानी र परिवार छोडेर जानुपर्ने पीडाले भोक र निन्द्रा हराउन थाल्यो । जतिजति दिन नजिकिदै गयो उतिउति धड्कन बढ्दै गयो । अन्त्यमा पहाड जत्रै ढुंगा मुटुमा राखेर इश्बी २००७ मा मातृभूमि छोडियो ।
मातृभूमि छोडेको पनि आज लामै समय भैसक्यो, यस विचमा व्यतित गरेका तिता, मिठा अनुभूतिहरु…..
माया र स्नेहका आँचल्ले बेर्ने,भर्खर फुटेको तोतेबोलि सुन्ने, लड्न खोज्दा हात समाउने,भोकलाग्दा मन पर्ने खानेकुरा पकाएर खुवाउने, स्कुल जाँदा हात समातेर लाने ल्याउने,आफ्नै अगाडी बसाएर होमवर्क गराउने,पहिलोपटक दाँत झर्दा आफ्नै आँखाले देख्न पाउँने,बर-बिराम पर्दा आफ्नै हातले स्याहार्ने,बर्षै पिच्छेको परिवर्तित अवस्था नियाल्न पाउँने भाग्यमानी आमा बन्न सकिएन ।
जेठाजुको छोरीले आन्टी मेरो छोरा काखमा लडीबुडी गर्दै लाड़ीएको एकतमासले भाइले हेरीरहन्छ । सायद उसलाईपनि लाग्दोहो मेरी आमा मसंगै भइदिएकी भए म पनि यसैगरी लडीबुडी गर्दै लाड़ीन पाउथेंहोला भनेर सुनाउंदा यो मुटु छियाछिया भएर चिरिएको साएदै कुनै औंषधिले भर्न सक्छ होला । यतिसम्म अभागी भइयो कि, आफ्नै सन्तानले के पाउँदा खुशी हुन्छन् र खुशी भएको अबस्थामा कस्ता देखिन्छन्,अनि के नपाउंदा दुखि हुन्छन् र दुखि भएको अवस्थामा कस्ता देखिन्छन् भन्ने सम्म थाहा छैन ।
यादमा पिरोलिँदा मनमा उब्जिएको भावना
बाध्यताले परदेशिय सानो छँदा तिमि
कत्ति खुशी थियौं त्यहा संगै हुँदा हामी
परदेशको रमझमले भुल्दैन यो मन
सम्झी सम्झी भक्कानिन्छ यो मेरो तन
कति खोज्यौ होला तिमीले कति सोध्यौ होला
नैनरुपी तालबाट ‘कति बगे खोला,२
दैवपनि भयो बैरी छुट्याएर हामीलाई
न्यानो आँचल न्यानो मम्ता दिनसकिन तिमीलाई
सक्छौ भने माफीदेउ मुटु चुटाउनेलाइ
तिम्रो हाँसो तिम्रो खुशी सबै लुटाउनेलाई २
हिजो काठमाडौंमा एउटा कोठाको भाडा तिर्न हम्मेहम्मे पर्दा, केहिदिन भाडा तिर्न ढिलाहुँदा घरबेटीले घरबाट निकाली पो दिनेहुन कि भन्ने त्रासदीपूर्ण अवस्थाबाट त्यही ठाउँमा एउटा सानो झुपडी बनाएर मुक्ति पाएकी छु । छोराको सानोभन्दा सानो आवस्यकताहरु पनि पुरा गर्न नसक्दा आफुलाई मरेतुल्य झैं लाग्थ्यो भने आज सामान्य आवस्यकताहरु पुरागर्दै उसले चाहेको काठमाडौंको स्कुलदेखि अमेरिकाको ‘यूनिभर्सिटी’ सम्ममा पढाउन सक्ने भएकी छु । सामान्य जीवनयापन गर्न केहि हदसम्म सहज भएको छ ! नजिककालाई भइपरी आएको खण्डमा थोरै भएपनि साथ,समर्थन र सहयोग गर्न सक्ने भएकी छु ।
भूमध्यसागरको किनारमा अवस्थित सानो देश इजरायलको विकास,प्रगती र यिनीहरुको राष्ट्र, राष्ट्रियता र राष्ट्रप्रतिको दायित्वले धेरै कुरा सिकाएको छ ।
आजभोली एउटा प्रश्नले खुब चिमोट्छ “मैले के पाएँ र के गुमाएँ ?” लाख कोशिस गरिसके तर सधै अनुउत्तरित हुन्छु !
सुलोचना -दाहाल
हाल -इजरायल

